कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

न्यायाधीश र वकिलबीचको घुस वार्तालापबारे बारको ध्यानाकर्षण

काठमाडौँ — नेपाल बार एसोसियसनले व्यवसायी इच्छाराज तामाङलाई छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको लेनदेनको अडियोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

न्यायाधीश र वकिलबीचको घुस वार्तालापबारे बारको ध्यानाकर्षण

एसोसियसनकी महासचिव अन्जिता खनालले बुधबार विज्ञप्ति जारी गर्दै न्यायाधीश कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै हुने अवाञ्छित, अमर्यादित र अनुचित कार्यको निन्दा गरेकी छिन् ।

खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्य-तथ्य बेहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एसोसियसन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ ।'

न्युज २४ टिभीले मंगलबार साँझ सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको खुलासा भएको छ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन ।

प्रकाशित : असार ८, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?