‘पार्टीमा बलियो, काममा कच्चा प्रधानमन्त्री’ - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
टिप्पणी 

‘पार्टीमा बलियो, काममा कच्चा प्रधानमन्त्री’ 

देश खरानी हुने बाटामा जान्छ भन्ने चेत नभएको नेतृत्व भयो भने हामी सबैले दुःख पाउने हो । अहिले हामी दुःख पाउने बाटामा गइरहेका छौं ।
हरि शर्मा

राजनीतिमा जवाफदेहिता मुख्य अस्त्र हो । नेतृत्वले गल्ती गर्दै जाने अनि नागरिक समाज, मिडियाले प्रश्न उठाउँदासमेत चुनाव जितेर आएको हुँ, मसँग साधन स्रोत छ भन्दै जवाफदेही नहुनु भनेको सामन्तवादी प्रवृत्ति हो । यस्तो प्रवृत्ति खतरनाक छ । यस्तै प्रवृत्तिबाट सर्वसत्तावाद जन्मने हो ।

अहिले र जुनसुकै बेलाका प्रधानमन्त्री हुन्, पार्टीमा बलियो देखिने तर कामका रूपमा एकदमै कच्चा देखिने गरेको छ । योभन्दा ठूलो निराशापूर्ण के हुन्छ ? किन प्रधानमन्त्रीले नागरिक समाजको कुरा सुन्दैनन् ? प्रधानमन्त्रीले गल्ती गर्दै जाने तर गल्तीलाई सुधार्ने काम किन नगर्ने ? हाम्रा संस्था सबै लोभीपापीले भरिएका छन् । व्यक्तिगत स्वार्थ छ । कुन व्यक्तिगत स्वार्थ र कुन सार्वजनिक स्वार्थ छुट्याउन सकिएको छैन । सत्तामा पुगेपछि आफ्ना स्वार्थलाई नै सार्वजनिक स्वार्थ मान्ने प्रचलन छ । यस हिसाबले हामी सबैमा कुनै न कुनै रूपमा सामन्ती प्रवृत्ति हावी बन्दै छ ।

लोकतन्त्रमा दलको विकल्प हुन्न । हुन्न भन्दैमा पार्टीलाई आफ्नो अनुकूल बनाउने र पार्टीमार्फत देशलाई आफ्नो अनुकूलमा चलाउने प्रवृत्ति देखिन्छ । देशमा सामूहिक भावना भन्ने नै देखिन्न । यस्तो नेतृत्व भएको ठाउँमा कसरी व्यवस्था टिक्छ ? जतिसुकै राम्रो व्यवस्था ल्याए पनि चल्छ कि चल्दैन भन्ने अवस्था अहिलेको नेतृत्वको व्यवहारले खडा गरेको छ । हाम्रोमा भूराजनीतिक समस्या चिन्ताजनक छ । देशलाई सम्हालिएर चलाउनुपर्ने अवस्था छ ।

कतिखेर आगो लाग्छ थाहा छैन । आगो लाग्छ भन्ने चेत नभएको नेतृत्व पर्‍यो भने मुलुक खरानी हुने हो । नेतृत्व मूर्ख भएपछि, जनताको कुरा नसुनेपछि दुःख पाउने हामीले नै हो । हामी विस्तारै दुःख पाउने बाटामा गएका छौं । हाम्रा संस्थाहरूले कतिको व्यावसायिक भएर काम गरेका छन् भन्ने कुरा अर्को महत्त्वपूर्ण छ ।

प्रधानमन्त्रीले कुनै निर्णय आफ्नै बलबुतामा गरेका हुन्, उनले यथेष्ट सूचना थाहा पाएर गरेका हुन् भन्ने कुरा जनतामा पर्नुपर्छ । हामीलाई हुनुपर्छ । कुनै पनि निर्णय र नीतिको कुरा गर्दा यथेष्ट सूचना र विश्लेषण सल्लाहकारबाट पायो कि पाएन भन्ने हुन्छ । पायो भने निर्णयकर्ता नै जिम्मेवार हुन्छ । सल्लाहकार जिम्मेवार हुँदैन । सल्लाहकार नेतृत्वलाई दिने सूचना र विश्लेषणमा इमानदार हुनुपर्छ । त्यस्तो विश्वास सल्लाहकारले आर्जन गर्नुपर्छ ।

मेरो लामो अनुभवमा ‘तपाईंहरू जस्तो मान्छे त्यहाँ हुँदा पनि यस्तो निर्णय कसरी भयो ?’ भन्ने प्रश्न आउँथ्यो । व्यक्तिगत रूपमा सोच्ने मान्छेलाई यस्तो कारणले भयो भनेर व्याख्या गर्ने कुरा एउटा भयो, तर निर्णयभित्र पस्ने काम मैले कहिल्यै गरिनँ । निर्णय गर्ने र त्यसको जवाफदेहिता लिने प्रधानमन्त्रीले नै हो । कमजोर नेतृत्वले चाहिँ सल्लाहकारको कमजोरीले हो भनेर उम्कन खोज्छन् । हाम्रो समाजमा महिलालाई हेप्ने चलन छ ।

बिग्रेको काममा श्रीमतीलाई दोष दिने चलन छ । तत्कालीन राजा वीरेन्द्रलाई पनि ऐश्वर्यले गर्दा यस्तो भयो भनेको सुनिन्थ्यो । अहिले आरजुले गर्दा यस्तो भयो भनिन्छ । आरजुले गर्दा यस्तो भएको हो भने उनलाई जवाफदेहिताको दायराभित्र ल्याउनुपर्छ । दसथरी डिल गरेर आउने, बाहिरी आएर भाउजु (आरजु) लाई भन्नुपर्छ भनेर भन्नु ठीक होइन । हो भने प्रमाणित गरेर सार्वजनिक किन नगर्ने ? भन्ने तर ‘एक्सपोज’ गर्न डराउनु ठीक होइन ।

प्रधानमन्त्रीले सल्लाहकार नराखेपछि सबै जिम्मेवारी आफैंले लिनुपर्छ । कसैको ठेक्का वा नियुक्तिमा भाउजू (आरजु) तिर देखाएर पन्छिन पाइन्न । त्यो त प्रधानमन्त्री उम्कने बाटो मात्रै हो । जबसम्म प्रमाण हुँदैन, त्यसउपर निर्णयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री हो । सल्लाहकार भए शंकाको सुविधा उपलब्ध हुन सक्थ्यो ।

सल्लाहकार नभएकाले प्रधानमन्त्रीले अनौपचारिक संयन्त्रबाट काम गरेको हुनसक्छ । लोकतन्त्रमा प्रधानमन्त्रीलाई कस्तो सूचना पुग्छ भन्ने थाह भएन भने त त्यो लोकतन्त्रकै बर्खिलाप भयो । प्रधानमन्त्री आफैं ‘सुपर–म्यान’ होइन । कसैको कुरा सुन्नुपर्छ । प्रशासनिक र कानुनी रूपमा प्रधानमन्त्रीको मुख्य सल्लाहकार मुख्य सचिव हो । नेपालको चनलचल्तीको राजनीतिमा मुख्य सचिवको कति हैसियत हुन्छ भन्ने हामी सबैलाई थाहा छ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार ‘क्याबिनेट’ हुन्छ । क्याबिनेट बहुरंगी छ ।

उनीहरू व्यक्तिगत रूपमा प्रधानमन्त्रीसँग जवाफदेही हुनुपर्छ । मुख्य सचिव र मन्त्रीहरूले प्रधानमन्त्रीसँग कति खुलेर बोल्न सक्छन् ? यथार्थ सूचना र सुझाव कति दिन सक्छन् ? निर्णय र नीतिगत विमर्श गर्दा मुलुकको कानुन र नीतिनियम, प्रक्रिया र जनताको भावनाले पनि अप्ठ्यारो परिस्थिति छ भनेर प्रधानमन्त्रीलाई कति भन्न सक्छन् ? उनीहरूले कति व्यावसायिक काम गरेका छन् ? बोल्न डर मान्ने हो भने प्रधानमन्त्री निरंकुश छन् भन्न सक्नुपर्‍यो । होइन भने, प्रश्नको कठघरामा उभिन सक्नुपर्‍यो । सल्लाहकारबाट सही कुरा आउँछ कि आउँदैन भन्ने कुरा नै मुख्य हो । प्रधानमन्त्रीले एक, दुई, तीन पटकसम्म गल्ती निर्णय गर्न सक्छन् । चौथो पटक पनि गल्ती गरे भने सल्लाहकारसँग प्रश्न गर्ने ठाउँ हुन्छ । प्रश्न गर्ने ठाउँमा सल्लाहकार नहुने हो भने सबैको दोषी प्रधानमन्त्री बन्नुपर्छ ।

(कुराकानीमा आधारित)

प्रकाशित : असार ८, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारका कामकारबाही र आगामी प्रदेश र संघको निर्वाचनका विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेका दलहरुले चुनावपछि संयुक्तरुपमा समीक्षा गरेका छैनन् । बैठकमा मन्त्रीहरूको हेरफेर र आम निर्वाचनको मितिबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित : असार ८, २०७९ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×