कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अझै पाठ्यपुस्तक अभाव

सुदीप कैनी

काठमाडौँ — शैक्षिक सत्र सुरु भएको झन्डै डेढ महिना हुन लाग्दा पनि सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन् ।

अझै पाठ्यपुस्तक अभाव

जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक विद्यालय पुगेको दाबी गरे पनि पाठ्यपुस्तक ढुवानी र बिक्रीवितरणको जिम्मा पाएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अनुसार देशभर अझै ४० प्रतिशत पाठ्यपुस्तक अभाव छ ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले ५ प्रतिशत् अर्थात् १० लाख पुस्तक मात्रै छाप्न बाँकी रहेको बताए । उनका अनुसार ५ प्रतिशत पुस्तक ढुवानीका क्रममा छ । यस वर्ष करिब २ करोड थान पुस्तक चाहिने आकलन छ । ‘गत साल १ अर्ब ६० करोडको पुस्तक बिक्री भएको हो, यसपालि १ अर्ब ५० करोडको पुस्तक बिक्री भइसकेका छ,’ झाले भने । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष सञ्जय चौधरीले भने बर्खा सुरु भएकाले दुर्गम र पहाडी भूभागका विद्यार्थीले दसैं–तिहारपछि मात्रै पुस्तक हात पार्ने बताउँछन् । ‘जनक शिक्षाले मागअनुसार पाठ्यपुस्तक उपलब्ध गराउन नसकेका कारण ७७ वटै जिल्लामा पुस्तक अर्याप्त छ,’ उनले भने, ‘बर्खा लागेपछि बाटोघाटो बन्द भएर कतिपय विद्यालयमा ढुवानी गर्न सक्ने अवस्था छैन ।’

विक्रेताहरूका अनुसार ५० लाखभन्दा बढी पुस्तक अझै अपुग छ । दैलेखस्थित सरस्वती माविका प्रधानाध्यापक प्रेमलाल पुरीले कक्षा ६ र ८ का विद्यार्थीले पुस्तक पाउन नसकेको जनाए । ‘विक्रेताहरूले ल्याउँछौं भनेका छन्, पुरानो किताबबाट कक्षा चलाएका छौं,’ उनले टेलिफोनमा भने । कक्षा ७ र ९ को मात्रै पूरा सेटमा पुस्तक आएको र अन्य कक्षाको आंशिक पुस्तक मात्रै प्राप्त गरेको पुरीले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख रमेश मल्लले स्थानीय तहहरूमा किताब अभाव रहेको जनाए । ‘पाठ्यपुस्तक पूरा सेटमा आएको छैन, आउँदै छ भन्ने सुनिएको छ,’ उनले भने । सुदूरपश्चिम प्रदेशका महासंघ अध्यक्ष मेघराज दाहालले प्रदेशभर अझै १० लाख पाठ्यपुस्तक चाहिने बताए । उनले थपे, ‘सुदूरपश्चिमका ९ वटै जिल्लामा पुस्तकको अभाव छ, कुनै विषयको त १ थान पुस्तक पनि भेटिएको छैन ।’ उनका अनुसार धनगढीस्थित डिपोमा नै पुस्तक छैन । शारदा माध्यमिक कैलालीका प्रधानाध्यापक तेज सिंहले कक्षा ४ देखि १० सम्मका सबै कक्षाका पाठ्यपुस्तक अभाव रहेको जनाए । ‘आएको पुस्तक पनि पूर्ण सेटमा छैन, ३० देखि ४० प्रतिशत विद्यार्थीले मात्रै पाएका छन्,’ उनले भने ।

मधेस प्रदेशमा पुस्तक अभाव रहेको प्रदेश महासंघले जनाएको छ । जनकपुरस्थित डिपोमा नै पुस्तक नभएको त्यहाँका एक कर्मचारीले बताए । प्रदेश १ मा कक्षा ६ र ८ को पाठ्यपुस्तकको चरम अभाव रहेको सुनसरीका विक्रेता रञ्जन शर्माले जनाए । ‘यसपालि कक्षा ६ र ८ को पुस्तक आउँदै आएन भन्दा पनि हुन्छ, अन्य कक्षाको पनि पूरा सेट आएको छैन,’ उनले भने । शर्मा महासंघका प्रदेश अध्यक्षसमेत हुन् । ५० हजार सेट पुस्तक आवश्यक रहेकामा ४० हजार सेट मात्रै प्रदेश भित्रिएको उनले जानकारी दिए ।

वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा पनि पुस्तक अभाव रहेको त्यहाँका विक्रेता र शिक्षकहरूले बताएका छन् । लुम्बिनी प्रदेशमा ४ देखि ९ कक्षासम्मको ५० प्रतिशत पुस्तक अभाव रहेको त्यहाँका विक्रेताहरूको भनाइ छ । ‘नेपालगन्ज र बुटवल डिपोमा नै सामुदायिक विद्यालयको पुस्तक छैन,’ दाङका विक्रेता भैरव रावलले भने । काठमाडौं वरपरका जिल्लामा समेत पुस्तक अभाव रहेको शिक्षकहरूले जनाएका छन् । विक्रेताहरूका अनुसार कक्षा ६ र ८ को पुस्तक सबैभन्दा बढी अभाव छ । काठमाडौं आसपास जिल्लाका विक्रेतालाई जनक शिक्षाले असार १० पछि मात्रै पुस्तक उपलब्ध गराउने आश्वासन दिएको छ । पोखरा डिपोमा पुस्तक नपाएपछि केन्द्रीय डिपो भक्तपुर आएका गण्डकी प्रदेशका विक्रेताले बुधबार एक थान पुस्तक पनि नपाएपछि रित्तै फर्किनुपरेको सुनाए ।

यसैबीच, संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मंगलबार सांसदहरूले पाठ्यपुस्तकको चरम अभाव कायमै रहेको धारणा राखे । सांसद योगेश भट्टराईले जनक शिक्षाको लाचारी र त्यहाँका पदाधिकारीको अयोग्यताका कारण समयमै पुस्तक छपाइ हुन नसकेको बताए । उनले जनक शिक्षाको कार्यक्षमता कमजोर देखिएकाले यसकै पुनःसंरचना गर्न सुझाव दिए । सांसद अञ्जना विशंखेले वाग्मती प्रदेशमा पुस्तक अपुग भएको बताइन् ।

सांसद मानबहादुर विश्वकर्माले हरेक वर्ष पुस्तक अभाव किन दोहोरिन्छ भनेर प्रश्न गरे । ‘चैतमा कागज ल्याउने वैशाखमा किताब छाप्ने परिपाटी बदलिनुपर्छ,’ उनले भने । सांसद जीवनराम श्रेष्ठले पुस्तक अभाव भएका दुर्गमका विद्यालयमा हेलिकोप्टरबाट भए पनि ढुवानी गर्नुपर्ने सुझाव दिए ।

पुस्तक अभावसम्बन्धी छलफलमा शिक्षामन्त्री देवेन्द्र पौडेल र सचिव यादवप्रसाद कोइरालाले जनक शिक्षाको बचाउ गरे । पुस्तक छपाइमा कमी भए पनि बाहिर हल्ला भएजस्तो अभाव नरहेको शिक्षामन्त्री पौडेलको दाबी थियो । साझा प्रकाशन जस्तै जनक शिक्षा धराशायी नहोस् भनेर कक्षा ४–१२ को पुस्तक छाप्ने जिम्मा दिएको मन्त्री पौडेलको भनाइ छ । सचिव कोइरालाले घाटामा रहेको जनक शिक्षालाई उकास्न पाठ्यपुस्तक छपाइको काम दिइएको जानकारी दिए ।

समितिकी सभापति जयपुरी घर्तीले जनक शिक्षाले सिधै पालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने बताइन् । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले सिधै स्थानीय तहलाई पुस्तक पुर्‍याउँदा पुस्तक अभाव हुने समस्या धेरै समाधान हुने तर्क गरे । सांसद सरिता न्यौपानेले पढाइ सुरु हुने बेला छाप्ने परिपाटी बदल्नुपर्ने बताए । सांसद हितबहादुर तामाङले किताब अभाव हुने प्रवृत्ति दोहोरिन नदिन अहिल्यैदेखि सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : असार ८, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?