कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीवनजल पनि महँगिने

झाडापखालाका बिरामीलाई जीवन दिने औषधिमा सरकारले मूल्यवृद्धि होइन, सहुलियत दिनुपर्ने अधिकारकर्मीको माग
प्रशान्त माली

काठमाडौँ — जीवनजलजस्ता पुनर्जलीय झोल (ओआरएस) को मूल्य बढाउन सरकारले तयारी थालेको छ । यसका लागि औषधि व्यवस्था विभागले निर्णय गरी सैद्धान्तिक सहमतिका लागि स्वास्थ्य मन्त्रालयमा फाइल पठाएको हो । यसबारे अहिले स्वास्थ्यमन्त्री, सचिवस्तरीय छलफल भइरहेको र सबै मूल्य बढाउने पक्षमा देखिएको मन्त्रालय स्रोतको भनाइ छ ।

जीवनजल पनि महँगिने

ओरल रिहाइड्रेसन सल्युसन (ओआरएस) अर्थात् नुन–चिनीको मिश्रणलाई बोलचालको भाषामा जीवनजल भनिन्छ । यसको मूल्य प्रतिपाकेट १० रुपैयाँ पर्छ ।

उपभोक्ता अधिकारकर्मीहरू भने ओआरएस जीवनरक्षक घोल भएकाले व्यापारको वस्तु बनाउन नहुने बताउँछन् । ज्यान जोखिमबाट बचाउने घोलमा समेत व्यापारिक लाभ बढाउने उद्देश्यले सरकारी अधिकारी र केही व्यापारीहरूको मिलेमतोमा मूल्यवृद्धि गर्न खोजेको आरोप अधिकारकर्मी ज्योति बानियाँले लगाए । ‘यो सरकारी उद्योग नेपाल औषधि लिमिटेडलाई समेत धराशायी बनाउने खेल हो,’ उनले भने, ‘यो औषधि उत्पादन गर्ने दायित्व सरकारको हो । कुनै पनि हालतमा मूल्य बढाउन हुँदैन । केही गरी बढाएमा कानुनी उपचार खोजिनेछ ।’

अहिले जीवनजलको आपूर्ति नेपाल औषधि लिमिटेड र केही निजी कम्पनीले मात्र गर्दै आएका छन् । लिमिटेडले दैनिक ३६ हजार पाकेट उत्पादन गर्ने गरेको छ भने झन्डै त्यही हाराहारीमा निजीले पनि उत्पादन गर्दै आएका छन् ।

जीवनजल सोडियम, क्लोराइड, पोटेसियमको मिश्रणबाट बनाइन्छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भने कुनै पनि चलखेल नभएको दाबी गर्दै एउटै वस्तुको मूल्य सधैं एउटै कायम हुन नसक्ने बताए । ‘मूल्य समायोजन गर्न औषधि उत्पादन कम्पनी र व्यवसायीले पटकपटक माग गर्दै आएका छन् । २०६४ सालमा निर्धारण भएको मूल्य एकपटक पनि समायोजन भएको छैन,’ उनले भने, ‘आफूखुसी नभई वैज्ञानिक ढंगबाट मूल्य निर्धारण गर्न खोजेका हौं ।’

जीवनजलको मूल्यवृद्धिबाट नेपाल औषधि लिमिटेड कुनै पनि हालतमा धराशायी नहुने दाबी उनले गरे । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पनि वैज्ञानिक ढंगबाट समानुकूल मूल्य समायोजन गर्नुपर्ने बताए । नेपाल औषधि लिमिटेडलाई जीवनजल उत्पादन गर्न आवश्यक उपकरण, कर्मचारी तलबभत्तालगायतको व्यवस्थापन सरकारले गर्दै आएको छ । तर कच्चा पदार्थ र ढुवानीका कारण उद्योग घाटा रहेको व्यवस्थापनको दाबी छ । महाप्रबन्धक मोहम्मद साइफुल्लाले अन्य औषधिबाट हुने फाइदाबाट जीवनजल उत्पादनमा हुने घाटालाई पूर्ति गरिरहेको बताए । ‘मजदुरको ज्याला, कच्चा पदार्थ, पेट्रोललगायतको मूल्यवृद्धिका कारण सरकारी मूल्यमा बिक्री गर्न गाह्रो छ,’ उनले भने, ‘सरकारले औषधि उद्योगलाई कच्चा पदार्थलगायतमा भन्सार छुट वा अन्य सहुलियत दिनुपर्‍यो ।’

नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले मूल्य समानुकूल समायोजन नहुँदा ८ वटा उद्योगले उत्पादन गर्दै आइरहेकामा घटेर एक/दुई वटामा सीमित भइसकेको बताए । ‘ती उद्योगहरूले भने कच्चा पदार्थ स्टक भएकाले मात्र उत्पादन गरिरहेका हुन्,’ उनले भने, ‘अभाव भएमा हामी जिम्मेवार छैनौं ।’

स्वास्थ्यविद् प्राडा ढुण्डीराज पौडेलले भने ओआरएस ज्यान जोगाउने औषधि भएकाले कुनै पनि हालतमा व्यापारीकरण गर्न नमिल्ने बताए । ‘जति मात्रामा पखाला भएको छ, ठीक त्यही मात्रा बराबर ओआरएस घोल खानुस्, अन्य औषधि खानुपर्दैन,’ उनले भने, ‘अमृत जलजस्तो ओआरएस औषधिको मूल्य बढाउनु भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो ।’

प्रकाशित : असार ८, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?