विमानस्थल हड्ताल गर्ने ठाउँ हैन : महानिर्देशक अधिकारी

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजी वायुसेवा सञ्चालकहरूलाई लक्षित गर्दै विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् ।

विमानस्थल हड्ताल गर्ने ठाउँ हैन : महानिर्देशक अधिकारी

मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाइ सेवा अत्यन्तै महत्त्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन् ।

उनले निजी वायुसेवा सञ्चालकहरू पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरीनहाल्ने विश्वास रहेको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छ कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरूलाई सचेत गराए ।

उनले वायुसेवा सञ्चालक आफूहरूले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नगर्न आग्रह गरे । प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाइ भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले विरोध नगरेको उनले बताए । महानिर्देशक अधिकारीले हवाइजहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।

‘मलाई लाग्दैन व्यवसायी साथीहरूले उडान बन्द गर्नुहुन्छ । उहाँहरू अत्यन्तै जिम्मेवार हुनुहुन्छ । उहाँहरू जिम्मेवारीपूर्वका प्रस्तुत हुनुहुनेछ । यो अतिआवश्यक सेवा हो । हड्ताल कहाँकहाँ गर्न पाइन्छ । कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ । गर्नुहुन्न भन्नेमा म विश्वस्त छु । तर सबै कुरा आफूले गर्न पाइनँ भने म बन्द गरिदिन्छु भन्ने धम्की नपाल्दा हुन्छ,' महानिर्देशक अधिकारीले भने ।

यस्तै अधिकारीले सबै विमान कम्पनीहरूले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गरेका थिए । उनले वायुसेवा कम्पनीहरूलाई उडान, पार्किङ भन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरेका थिए ।

प्रकाशित : असार ७, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?