जेलमा रहेका कार्यकर्ता रिहा गर्न गृहमन्त्रीसँग नेकपा (बहुमत)को माग

काठमाडौँ — धर्मेन्द्र बाँस्तोला संयोजक रहेको नेकपा (बहुमत)का नेताहरूले जेलमा रहेका पार्टीका नेता र कार्यकर्ताहरूलाई रिहाइ गर्न सरकारसँग माग गरेका छन् । 

जेलमा रहेका कार्यकर्ता रिहा गर्न गृहमन्त्रीसँग नेकपा (बहुमत)को माग

नेताहरूले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यसअघिको सरकारसँग पार्टीले गरेका सम्झौता कार्यान्वयन गर्न र जेलमा रहेका नेता तथा कार्यकर्तालाई रिहाइ गर्न माग गरेका हुन् ।

गृहमन्त्री खाँणले भने सरकार र नेकपाबीच भएका सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको जवाफ दिएको संयोजक बाँस्तोलाले जानकारी दिएका छन् । 'नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको र कार्यकर्ता रिहाई गर्ने गृहमन्त्रीले आश्वासन दिनुभएको छ । अस्ती प्रधानमन्त्रीसँग भेट्दा गृहमन्त्रीलाई भेट्नु यो विषयमा भन्नुभएको थियो । त्यसैले आज गृहमन्त्रीलाई भेटेर कुरा राखेका हौं,' बाँस्तोलाले भने । उनका अनुसार नेकपाका ४० भन्दा बढी नेता, कार्यकर्ता अहिले पनि जेलमा छन् ।

गृहमन्त्री खाँणले अघिल्लो सरकार र नेकपाबीच भएको सहमति पत्रमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेको पनि उनले बताए । उनकाअनुसार कार्यान्वयन बाँकी बुँदाका लागि अन्य मन्त्रालय र निकायसँग छलफल गर्नुपर्ने गृहमन्त्रीले जवाफ दिएका छन् ।

गृहमन्त्रीलाई भेट्न नेकपा (बहुमत)का संयोजक बाँस्तोला, प्रवक्ता हेमन्तप्रकाश वली, देवकला अधिकारी, गुणराज लोहनी र उदय चलाउने सिंहदरबार पुगेका थिए । छलफलमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल पनि सहभागी थिए ।

तत्कालीन सरकार र नेकपाबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नका लागि चन्द र बाँस्तोलाले प्रधानमन्त्री, मन्त्री र नेताहरूलाई भेटेर आग्रह गर्दै आएका छन् ।

प्रकाशित : असार ७, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?