कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सत्तारुढ दलकै सांसद सरकारप्रति रुष्ट

काठमाडौँ — सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न गरेका छन् । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशिला चापागाईं र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महँगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

सत्तारुढ दलकै सांसद सरकारप्रति रुष्ट

प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गौतमले मध्य असार हुन लाग्दासमेत मलको अझै व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले महँगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै माओवादी केन्द्रकी सांसद धर्मशिला चापागार्इंले आपत्ति जनाइन् । गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरुमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सरकारसँग माग गरिन् ।

एकीकृत समाजवादीकी सांसद पार्वतीकुमारी बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले सो जलविद्युत् आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन पनि सरकारलाई दबाब दिइन् ।

सांसद बिसुन्केले नेपालको जलविद्युत् निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने उक्त आयोजनाको काम अघि बढाउन किन बिलम्व गर्नु परेको भनी सरकारसँग प्रश्न गरिन् ।


प्रकाशित : असार ७, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?