रद्द भएका लाइसेन्स अर्काका नाममा जारी गर्ने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात कार्यालयका दुईजना प्रमुखसहित १२ कर्मचारी र पाँच बिचौलियाले ५३३ वटा रद्द र नवीकरण नभएका लाइसेन्स अर्काका नाममा जारी गरेको अख्तियारको दाबी

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रद्द भएका लाइसेन्स अर्काका नाममा जारी गर्ने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सवारी चालक अनुमति-पत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०७७ साउनदेखि २०७८ भदौसम्मको १४ महिनाको अवधिमा कार्की र कुस्माले कार्यालयका कर्मचारी र बिचौलियासँग मिलेर सवारी चालक अनुमति पत्र नवीकरणमा जालसाजी गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यातायात कार्यालयका दुईजना प्रमुखसहित १२ कर्मचारी र पाँच बिचौलियाले ५३३ वटा रद्द र नवीकरण नभएका लाइसेन्स अर्काका नाममा जारी गरेको अख्तियारको दाबी छ ।

प्रवक्ता भण्डारीका अनुसार बिचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रुपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याइएको पाइएको छ ।

यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति:-

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका कर्मचारीहरु तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको भन्नेसमेत व्यहोराको संचार माध्यममा प्रकाशित समाचारमा आधारित उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्माले सवारी चालक अनुमति-पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको र मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठसमेतले सवारी चालक अनुमति-पत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरी आ.ब.२०७७/७८ र आ.ब. २०७८/०७९ को श्रावण र भाद्र महिना गरी १४ महिनाको अवधिमा विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा विविध कारणले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठउपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ बमोजिम र विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसुरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित : असार ७, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?