कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

काठमाडौँ — हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको छ ।

बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको अपरेटिङ बेस (आधार विमानस्थल) मा रात्रि बिसान (नाइट स्टप) गरी पहिलो उडान त्यही विमानस्थलबाट गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणद्वारा जारी निर्णयको विरोध जनाउँदै निजी वायु सेवा कम्पनीहरूको छाता संगठनले बुधबारदेखि नियमित उडान र हेलिकप्टर उडान अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको हो ।

प्राधिकरणले आइतबार विज्ञप्तिमार्फत उडान सुरक्षा कार्यलाई व्यवस्थित बनाउनु पर्ने कारण देखाउँदै मंगलबारदेखि हेलिकप्टर र आगामी सोमबारदेखि वायुसेवा कम्पनीका तोकिएका विमानलाई काठमाडौं बाहिरका अपरेटिङ बेस (आधार विमानस्थल) बाट अनिवार्य पहिलो उडान गर्नुपर्ने नियम ल्याएको थियो ।

यो नियमलाई प्राधिकरणले मंगलबारदेखि हेलिकप्टरमा लागू गर्‍यो । काठमाडौंबाहिरका विमानस्थलमै रहने गरी ल्याइएका केही हेलिकप्टरलाई चार्टर उडान अनुमति नदिएपछि आक्रोशित बनेका वायुसेवा सञ्चालकहरुले ‘आफूहरुलाई जानकारी नै नगराई ल्याइएको नियम नमान्ने’ पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै ५ बुँदे माग राखेर बुधबारदेखि जहाजका नियमित र हेलिकप्टरबाट हुने चार्टर तथा उद्धार उडान नगर्ने जनाएका छन् ।

‘हामीलाई उडान रोक्न बाध्य बनाइयो,’ संघका अध्यक्ष तथा सिम्रिक एयरका सञ्चालक क्याप्टेन रामेश्वर थापाले भने, ‘प्राधिकरणले हाम्रा माग सम्बोधन नगरेसम्म उडान सञ्चालन गर्दैनौं ।’

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको उड्डयन शुरक्षा अभिवृद्धि गर्ने निति अनुसार, यस्तो निर्णय गरिएको बताए । उनले काठमाडौंबाहिर बेसको अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयबाट प्राधिकरण पछि नहट्ने बताए ।

अधिकारीका अनुसार, हाल नेपालमा ११ वटा हेलिकप्टर कम्पनीसँग ३६ वटा हेलिकप्टर छन । यी मध्ये १४ वटा हेलिकप्टरलाई नेपालमा ल्याउनुअघि संघीयताको मर्मअनुसार, प्रदेशको अर्थतन्त्र चलायमान बनाउनेलगायतका उद्देश्य राखेर काठमाडौं बाहिरका विमानस्थलमा अनिवार्य ‘नाइट–स्टप’ मा रहने सर्तमा इजाजत दिइएको थियो ।

त्यस्तै व्यवसायिक उडान गर्ने ९ वटा वायुसेवासँग ४८ वटा जहाज छन् । यीमध्ये २० वटा जहाजलाई पनि नेपालमा खरिद गरेर ल्याउने इजाजत दिँदा काठमाडौं बाहिरका विमानस्थलमा रात्रि बिसान रहने सर्तमा खरिद अनुमति दिइएको अधिकारीले बताए ।

तर, संघले तोकिएका पहिलो उडान सोही विमानस्थलबाट गर्ने गरी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय हुँदा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आइपर्ने समस्याहरुप्रति बेवास्ता गरिएको आरोप लगाएको छ । ‘एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था छ,’ संघले विज्ञप्तिमार्फत भनेको छ ।

प्रकाशित : असार ७, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?