काजलकलीको छटपटी

साईटीस नियमावली २०७६ कार्यान्वयन नहुँदा निजी हात्ती दर्ता भएनन

काठमाडौँ, चितवन — गत शनिबार चितवनका सुराजन श्रेष्ठले एउटा हात्तीको तस्बिर सामाजिक सञ्जालमा राखे । घाउ नै घाउ भएको, लडेको, छट्पट्टाइरहेको उक्त हात्तीको दर्दनाक तस्बिर अहिले भाइरल भइरहेको छ । विभिन्न खालका टिका टिप्पणीहरू आएका छन् ।

काजलकलीको छटपटी

'काजलकली' नाम गरेको यो हात्तीप्रति संरक्षणकर्मीले चासो देखाएका छन् । ७० वर्षीय यो हात्ती चितवनको होटल पार्क साइडको हात्तीसारमा ढलेको छ ।

गत वर्ष भारत पठाउन लागिएको अवस्थामा हात्तीलाई नेपालमै रोकेर राखिएको थियो । साइटिस कानुनका कारण दर्ता नभएको उक्त हात्ती वीरगन्जमै रोकियो । पुस महिनादेखि हात्ती चितवनमा राखिएको छ ।

हात्तीको अवस्थाको बारेमा अहिले धेरैले चासो र चिन्ता दर्शाउँदै संरक्षणको विषय उठाएका छन् । हात्तीमा विद्यावारिधी गरेका दिनेश न्यौपानेका अनुसार सामान्यत: हात्तीको औसत उमेर ६० देखि ७० वर्षको हुन्छ । बूढो भएकाले काजलकलीको दाँत पनि झरेको छ ।

पुसयता काजलकली तीन पटक पटक ढलिसक्यो । ‘एक पटक ६० बोतल स्लाइन चढाएर उठाइयो । अर्को पटक ८० बोतल स्लाइन चढाएर उठाइयो,’ एनटीएनसीका सौराहा कार्यालय प्रमुख बाबुराम लामछिानेले भने । कमजोर भएकाले सुधार हुन नसकिरहेको उनले बताए ।

काजलकली अहिले फेरि ढलेको छ । मृत्यु अवस्थामा पुगेको काजलकलीको पर्याप्त स्याहारसुसार भएको चितवन निकुञ्जले बताएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले काजलकलीको उपचार भइरहेको र ‘आवेगात्मक उत्तेजना’ हुने खालको तस्बिर सामाजिक सञ्जालमा हालेर बद्नाम गर्न खोजिएको दाबी गरे । उनले भने,‘ काजलकलीको उपचार भइरहेको छ । बूढो उमेर भएकाले कमजोर भएको हो । हात्तीको मालिकले पनि काम गरिरहेकाछन् । उनले पनि सक्दो उपचार गरेको छ ।’ हात्तीलाई मल्हम लगाइदिने काम पनि भइरहेको उनले बताए ।

निकुञ्ज र एनटीएनसीका भेटनरी चिकित्सकहरुले पनि काजलकलीको उपचार गरिरहेका छन् । उमेर पूरा भएपछि पाचन प्रणाली कमजोर भएको उनले बताए ।

एनटीएनसीले लोपन्मुख प्रजातिको वन्यजन्तु भएकाले निजी स्तरबाट पालिएका हात्तीको पनि उपचार र स्वास्थ्य शिविर गर्दै आएको छ । निकुञ्जको हात्ती १६ दिनदेखि ढलेर उठाएको र त्यसको एक महिनामा मरेका उदाहरणहरु पनि छन् । तर काजलकलीको अवस्थालाई नकरात्मक ढंगबाट प्रचार गरिएको वार्डेन आचार्यले बताए । कुनै पनि हात्ती बेवारिसे अवस्थामा नरहेको उनले बताए । एनटीएनसीले हात्तीको स्वास्थ्य परीक्षण पनि गर्दै आएको छ । केही दिनअघि मात्रै करिब सय वटा हात्तीको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

पहिला पहिला भारतबाट सिधै खरिद गरेर नेपालमा हात्ती ल्याउने र पछि भारतमै बेच्ने गरिन्थे । एउटा हात्तीको मूल्य ६० देखि ८० लाख रुपैयासम्म विक्री हुने गरेको छ । अहिले त्यो बन्द छ । काजलकलीको अवस्थामा भारत लैजाने क्रममा मुद्दा परेको थियो ।

सोमबार निकुञ्जको टोली हात्ती भएको स्थानमा पुगेर घाँस दिन खाेजेका थिए । तर हात्तीले घाँस नै खाएन ।

हात्ती कसको ?

काजलकली हात्तीलाई मधुकर रेग्मीले खरिद गरेका थिए । मधुकर रेग्मीले २०७४ सालमा भारतबाट हात्ती खरिद गरेर ल्याएका थिए । त्यसपछि उनले होटल अर्थ लाइटलाई भाडामा दिएका थिए । तर रेग्मी हात्ती आफ्नो हो भन्ने पक्षमा तयार छैनन् । उनका अनुसार ४ वर्षअघिसम्म मात्रै काजलकली उनको थियो । तर अहिले आफ्नो नभएको उनले दाबी गरे । होटल सञ्चालक श्रीधर परियारको हात्तिसारमा अहिले काजलकलीलाई राखिएको छ । रेग्मीले कान्तिपुरसित भने,‘ मेरो कुनै हात्ती छैन । मलाई त्यतिकै अरुले जोडेका छन् । ’

युनाइडेट हात्ती सहकारी चितवनका अध्यक्ष ऋषि तिवारीका अनुसार काजलकली सहकारीमा आबद्ध नभएको हात्ती हो । अशक्त र बिरामी भएकपछि गत वर्षको भदौमा मधुकरले लगेको रेग्मीले बताए । अहिले संस्थामा ३२ वटामात्रै हात्ती छन् । सहकारीमा भएका हात्तीको सम्पूर्ण रेखदेख,हेरचाह हुन्छ ।

रेग्मीले सहकारीबाट हात्ती लगेपछि दुई पटक भारत पठाउन खोजेका थिए । वीरगन्ज नाकाबाट पठाउन खोजेपछि प्रो–पब्लिकको विरोधका कारण उनको योजना सफल हुन सकेन । करिब ४५ देखि ७० लाखको बीचमा उनले एकजना भारतीयलाई हात्ती बेचेको प्रो–पब्लिकको आशंका छ । वीरगन्जमै केही समय हात्ती रहेपछि अहिले पुसमा चितवनस्थित होटल अर्थ लाइटमा ल्याइएको थियो । हात्तीसँगै भारतीय व्यपारीले खटाएका दुई जना माउते छन् । मुक्तार मन्सुरी र खुदुश मन्सुरी काजलकलीको स्यारसुसार गरिरहेका छन् । उनीहरुले नै वीरगन्जबाट चितवन हात्ती ल्याएको बताए ।

काजलकलीले तीनदिनअघिसम्म खान्थ्यो । अहिले खान खान छोडेर ढलेको छ । निगरानीमै रहेको उक्त हात्तीलाई रोगको कुनै संक्रमण नभएको निकुञ्जले जनाएको छ । उमेरकै कारण हात्ती ढलेको बताइएको छ ।

हात्ती विज्ञ न्यौपानले काजलकलीलाई पर्याप्त पानी भएको ठाउँ र घासे मैदानमा छाडिदिए उपयुक्त हुने सुझाव दिएका छन् । उनले भने,‘ उमेर पुगेको हात्ती भएकाले अब यसको अर्को उपाय भनेको कुनै एक ठाउँमा राखेर खानेकुरा दिने अनि हेरचाह राम्रोसँग गरिदिने । ’

साईटिस नियमावाली कार्यान्वयन अन्योल ?

गत वर्षको भदौमा जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पू वन्यजन्तु आरक्ष र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे । गैरकानुनी रुपबाट भारतमा हात्ती बेच्न पठाउन खोजिएको भन्दै रिट दायर भयो ।

साईटिस नियमावलीमा संकटापन्न वन्यजन्तुको दर्ता तथा अभिलेखीकरण गर्ने व्यवस्था गरिएको छ । तर, निजी स्तरबाट पालिएका त्यस्ता जीव कति दर्ता भएका छन् नेपाल सरकारसँग अभिलेख छैन ।

सर्वोच्चले कारण देखाउ आदेश जारी गर्‍यो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६७ वटा हात्ती दर्ता प्रक्रियाका लागि निवेदन आएको भन्दै पत्र पठायो । चितवनबाट ६६ र पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्रबाट १ गरी ६७ वटा हात्ती अभिलेख गर्नका लागि निवेदन परेको विवरण विभागले गत वर्षको पुस १० गते महान्यायाधिवक्ताको कार्यालयमा पठाएको उल्लेख छ । बाँके, बर्दिया, पर्सा निकुञ्ज र कोसी टप्पु आरक्ष क्षेत्रबाट कुनै निवेदन नपरेको विभागले पठाएको पत्रमा पाउन सकिन्छ । जबकी ती क्षेत्रमा ४० भन्दा बढी निजी हात्ती रहेको वन्यजन्तु अधिकारकर्मी सुराजन श्रेष्ठ बताउँछन् ।

सरकारले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण(साईटिस) ऐन २०७३ सालमा जारी गर्‍यो । नियमावली नबनेपछि ऐन कार्यान्वयनमा समस्या देखियो । २०७६ मंसिर ९ गते नेपाल राजपत्रमा साईटिस नियमावली,२०७६ प्रकाशित भयो । नियमावली राजपत्रमा प्रकाशित भएपछि तुरुन्त कार्यान्वयनमा जाने भनिएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । संकटापन्न वन्यजन्तुको दर्ता प्रक्रिया सुरु भएको छैन ।

हात्ती साईटिस अनूसूची-१ मा सूचिकृत वन्यजन्तु हो । दर्ता नभएसम्म यो अनुसूची-१ मा हुन्छ । नियमावली अनुसार हात्ती दर्ता हुँदा अनुसूची-२ मा पर्छ । निजी स्तरबाट पालिएका हात्ती दर्ता भइदिएको भए साईटिसको अनुसूची २ मा जान्छन् । यसो हुँदा हात्तीको ओसारपसार हुन्छ । यसका लागि दुवै मुलुकबाट अनुमति लिनुपर्छ । हात्तीको दर्ता नहुँदा व्यसायीहरुले पालेको हात्ती बिक्री र ओसारपसार गर्न पाएका छैनन् । नियमावलीमा दर्ता नभएका हात्तीहरु जफत गर्न सकिने उल्लेख छ तर कार्यान्वयन भएको छैन ।

निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले कोराना कारण हात्तीको दर्ता/अभिलेख कार्य ढिला भएको बताए ।

प्रकाशित : असार ६, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?