चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बृहत् बैठक बस्ने- समाचार - कान्तिपुर समाचार

चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बृहत् बैठक बस्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे पाँच दलीय गठबन्धनको बृहत् बैठकमा छलफल हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनलाई थप मजबुद बनाएर अघि बढ्ने समझदारी भएको बताए । आगामी संघ र प्रदेशको निर्वाचनसम्म पनि गठबन्धनलाई निरन्तरता दिने तयारी रहेको उनको भनाइ छ । ‘हामी तीन दलका नेताले आज छलफल गर्‍यौँ । गठबन्धनलाई जोगाउँदै चुनावको तयारी गर्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘चुनावको कमी कमजोरी समीक्षा गर्न पाँच दलको बृहत् बैठक राख्ने सहमति भएको छ ।’

उनले स्थानीय तह निर्वाचनको तालमेल निकै पेचिलो बनेको बताए । 'कुनै जिल्लामा गठबन्धनबीच राम्रो तालमेल भएको छ । हामीले गठबन्धनकै कारण महानगरपालिकामा समेत नेतृत्व पाएका छाैँ, ' उनले भने, 'कतिपय ठाउँमा त गठबन्धन दलबीच इमान्दारीपुर्वक तालमेल भएको भए अन्य पार्टीले जित्ने अवस्था नै रहेनछ । हामीले यी कुरामा समीक्षा गर्नुपर्नेछ ।'

अध्यक्ष नेपालले अमेरिकी एसपीपी सम्झौताका कारण तरंगित बातावरणलाई समेत उचित सम्बोधन गर्नुपर्ने बताए । ‘यो विषयले आम जनतालाई तरंगित गरेको छ । तर, प्रधानमन्त्रीजी यो विषयमा अडिग हुनुहुन्छ,’ उनले भने, ‘उहाँले आजै पनि त्यस्तो कुनै पनि सम्झौतामा हस्ताक्षर हुदैन भनेर प्रष्ट कुरा राख्नुभएको छ ।’

प्रकाशित : असार ५, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजारका सबै सूचक घटे, नेप्से १९३४ अंकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लागेको छ । बजारको परिसूचक नेप्से ३७.२७ अंक घटेर १९३४ अंकमा कायम भएको छ । यो अंक डेढ वर्षयताकै न्यून हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारका सबै उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंक घटे । कुल १३ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने २ को स्थिर रह्यो । आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढ्यो । रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : असार ५, २०७९ १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×