कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लेकतिर सर्दै अन्न र फलफूल

दशकअघिसम्म फापर, आलु, सिमी र उवा मात्रै उब्जनी हुने लेकाली गाउँमा पछिल्ला वर्ष धान, कोदोदेखि खुर्सानी, टमाटर र काउलीसम्मको खेती हुन थालेको छ, बेंसीतिरका खेतबारीमा भने अन्न उत्पादन मात्रै घटेको छैन, आरू, स्याउ, ओखर, चुलीजस्ता फलफूल पनि फल्न छाडेका छन्
राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिका–३ किम्री गाउँका फुञ्जोक तामाङको पाखोबारीमा एक दशकअघिसम्म फापर, आलु, सिमी र उवा मात्रै फल्थ्यो । उनी र उनीजस्तै स्थानीय कोदो किन्न रोवा, भामबाडा, पिना गाउँसम्म पुग्थे तर समय सधैं उस्तै रहेन । 

लेकतिर सर्दै अन्न र फलफूल

पछिल्ला वर्ष गर्मी बढ्दै जाँदा मुगुमकार्मारोङका स्थानीयको बारीमा कोदोमात्रै होइन, खुर्सानी र टमाटर पनि फल्न थालेको छ । स्थानीयले जेठ असारमा कोदो रोपेर कात्तिकमै टिप्ने गरेका छन् । कोदो फल्न थालेपछि किन्नुपर्ने बाध्यता टर्दै गएको छ । पहिले फल्दै नफल्ने बाली अहिले हलक्क हुर्केर फल दिन थालेकामा फुञ्जोक अचम्म मान्छन् । उनले भने, ‘बेंसीतिर फल्ने बाली लेकतिर फल्न थाले ।’ समुद्री सतहबाट ३१ सय मिटर उचाइसम्म फल्ने कोदो अचेल ३४ सय मिटर उचाइमा रहेको किम्री गाउँका स्थानीय दंग छन् । पहिले कहिल्यै नफलेका अन्नदेखि खुर्सानी, टमाटर र काउलीसम्म फल्न थालेपछि स्थानीयलाई खेतीपाती गर्न उत्साह थपिएको छ ।

कार्मारोङको पापु गाउँमा पनि अचेल पाखो धान फल्न सुरु गरेको छ । दस वर्षपहिले कुनै जातको धान नहुने गाउँमा पाखो धान फल्न थालेपछि स्थानीय उत्साहित छन् । पापुका हर्क बुढाले भने, ‘पहिले जुम्लाको सिंजाबाट रातो मार्सी धानको चामल ल्याएर चाड पर्वमा भात खाने गर्थ्यौं, अहिले गाउँमै चिनामुरी, नाकीने, माछाकाँडे, ठूलीधान, भुवालो, धोग्रो, रतालोलगायत जातको पाखो धान उत्पादन हुन थाल्यो ।’

पापुगाउँमा खुर्सानी र टमाटर पनि उसैगरी फल्न थालेको छ । समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइको रारा मुर्मा गाउँमा पनि कोदो बाली उत्पादन हुन थालेको छ । स्थानीय गोर्ख रोकाया पहिले तल्लो बेसीका बस्ती कार्कीबाडा, तलितुम, छत्याडबाडा, श्रीनगर, ताल्च, झयारीलगायत बस्तीमा फल्ने कोदो अचेल लेकाली बस्ती मुर्मागाउँमै फल्न थालेको बताउँछन् । रारा मुर्माभन्दा तलतिरका यी बस्तीमा माथिल्लो क्षेत्रभन्दा धेरै तापक्रम छ ।

समुद्री सतहदेखि २९ सय मिटर उचाइमा अवस्थित बाम पोइपाटा थापालचौरका खेतमा अचेल धान फल्ने गरेको छ । करिब १५ वर्षअघिसम्म चिसो मौसमले खेतमा धान रोपे पनि पाक्दैनथ्यो । अहिले जेठमा रोपेको स्थानीय प्रजातिको धान कात्तिकमा पाक्ने गरेको छ । बामगाउँकी अजकली बोहराले भनिन्, ‘अब हिमालमा पनि धान फल्न थाल्यो ।’ बाम गाउँमा धान फल्न थालेपछि स्थानीयले पाखोबारी समथर बनाएर खेत बनाएका छन्, चैतमा बीउ राखी जेठमा रोपेर कात्तिकमा धान भित्र्याउन थालेका छन् । बाम गाउँको उच्च लेकबस्ती गाइबान्नामा पनि कोदो पाक्न थालेको छ । उहिले त्यहाँ फापर, आलु, सिमी रोप्ने किसान अचेल कोदो फलाउन थालेका छन् । एक समय फापरमात्रै फल्ने खत्याड गाउँपालिकाको लेकाली बस्ती खमाले तारापानीमा दशकयता पाखो धान र कोदो उत्पादन हुन थालेको छ ।

स्थानीय बासिन्दा जलवायु परिवर्तनको कुरा धेरै बुझ्दैनन् तर उनीहरू तातो बढेकाले बेंसीमा हुने बाली लेकतिर पनि हुन थालेको सुनाउँछन् । छायानाथ रारा नगरपालिकाको कार्कीबाडा, भामबाडा, ढुम, कालापाल्त सिगाडी, टोप्लालगायत बस्तीमा भने अहिले पाखो धान, कोदो उत्पादनमा गिरावट आएको छ । कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईका अनुसार जलवायु परिवर्तनले गर्दा यी बस्तीमा अन्नबालीमा बीउको जात परिवर्तन हुनु, खेतबारीमा उर्वरा शक्तिमा ह्रास आउनु, मौसमअनुकूल किराले बालीमा क्षति पुर्‍याउनु र मौसम अदलबदल हुनुजस्ता मुख्य कारणले अन्नबाली उत्पादनमा गिरावट आएको हुन सक्छ । बाली लेकतिर सर्न थालेपछि बेशीतिरको खेतबारीमा भने अन्न उत्पादन घट्न थालेको छ ।

अन्नबाली लेकतिर सर्न थालेपछि बेशीतिर किसानले खेतीपात कम गर्न थालेपछि जग्गा जमिन बाझिँदै गएको छ । जेठ–असारमा बाली लगाउँदा फल नै नलागेको किसानको भनाइ छ । पुर्ख्यौली बाली कोदो, चिनु, कागुनो नफल्ने जस्ता कारण देखा पर्न थालेपछि किसानले बेंसीतिर कमी खेती गर्न थालेको कषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अमगाईंको भनाइ छ । अन्नबाली मात्रै होइन, पछिल्ला वर्षमा लेकमा नहुने फलफूल पनि हिजोआज सजिलै हुर्किन र फलसमेत दिन थालेका छन् । दस वर्षअघिसम्म छायानाथ रारा नगरपालिकाको कार्कीबाडा, ढुमाललेख, हेन्नीकाँध, तलितुम बस्तीका किसानको बारीमा आरु, स्याउ, ओखर, चुली चैत वैशाखमा लटरम्म फुल्ने र असोज–कात्तिकमा पाकेर रूख नै निहुरिने गर्थे । कार्कीबाडाका हरिबहादुर बिटालुले अचेल यस्तो दृश्य देख्न नपाइएको बताए । ‘हिजोआज त फलफूलका बोटमा पातमात्रै देखिन्छ ।’ बेंसीतिर रोपेका फलफूल फल्न छोडेपछि स्थानीयले रूख नै काटेर काठ–दाउरा प्रयोग गर्न थालेका छन् । यी फलफूल अचेल बेंसीभन्दा उपल्ला बस्ती मानिने माथितुम, लामाचौर, ताल्चा, झयारी, मुर्मा, शोभा, घट्टलेखतिर बढी फल्न थालेका छन् ।

बेंसीका बारीमा फलफूल हुन छाडेपछि स्थानीयवासीले लेकतिरका जग्गा घेराबार गरेर फलफूलका बिरुवा रोप्न थालेका छन् । रारा बहुमुखी क्याम्पसका निवर्तमान प्राध्यापक डम्मरबहादुर रावल जलवायु परिवर्तनका कारण अन्नबाली र फलफूल उच्च लेकाली बस्तीमा सर्न थालेको बताए । उनका अनुसार जलवायुको असरले फलफूलमा लाइजेसन हुने भएकाले फूल फुल्नै छाडेका छन् ।

एकाध वर्षअघिसम्म राराताल वरपरका बस्तीहरूमा स्याउ, आरु, चुली प्रजातिका फलफूल लटरम्म देखिन्थे तर हिजोआज दृश्य फरक छ । छायानाथ रारा नगरपालिका लामाचौरकी दुर्गा बुढा फलफूल पनि लेकतिर बढी फल्न थालेको बताइन् । तापमान बढ्दै जाँदा चिस्यान वन क्षेत्रमा उम्रने जडीबुटी पनि हिमालतिर सर्दै जान थालेको छ । जसले स्थानीयलाई जडीबुटी खोज्न मात्रै समस्या भएको छैन, जडीबुटीमा निर्भर स्थानीय अर्थतन्त्र पनि बिग्रन थालेको छ । पिना गाउँकी लक्ष्मीदेवी बमले पहिले घरमाथिका जंगल क्षेत्रमा पाइने गुच्ची च्याउ पाइन छाडेको बताइन् । उनले हिजोआज कम्मरमा रोटी र बोतलमा पानी बोकेर गुच्ची च्याउ, चिराइतो अत्तिस खोज्न दुई/तीन घण्टा हिँडेर हिमाली वन क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहेको बताइन् ।

यार्चा मात्रै होइन, कटुकी वन, लसुन, चिराइतोजस्ता जडीबुटी पनि हिमाली क्षेत्रतिरै सरिरहेका छन् । किम्री गाउँका गुरुस्याङग्याप तामाङ समुद्री सतहदेखि ४ हजार ५ सय मिटरसम्मको उचाइमा पाइने यार्चा हिजोआज ६ हजार ५ सय मिटर आसपासका क्षेत्रमा भेटिन थालेको सुनाउँछन् । मुगु गाउँ आसपासबाट यार्चा सरेर सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, ताक्ले, सुन्धोबन, तुराबन, सकेरीबन, छयार्पु, च्यार्कुसम्म सरेको स्थानीयको भनाइ छ ।

जलवायु परिवर्तनका कारण बेंसीतिर अन्नबाली कम र लेकतिर बढी फल्न थालेपछि स्थानीयले जंगल फँडानी गरेर बाली लगाउन थालेका छन् । दस वर्षअघिसम्म छायानाथ रारा नगरपालिकाको लखुबन क्षेत्रमा गाई/गोरु चर्थे, अहिले त्यहाँ गहुँ, कोदो, सिमी, फापर फल्न थालेको छ । रोवा, तल्ललेख, घट्टलेख बस्तीका स्थानीयले सार्वजनिक वनक्षेत्र खनजोत गरी कमाइखाने जग्गा बनाएका छन् । सोरु गाउँपालिकाको नार्थपुको फुर्के सल्ला ठूला वनक्षेत्र खनजोत गरी स्थानीयले बाली लगाउन थालेका छन् । पुर्ख्यौली जग्गामा अन्न उत्पादन न्यून हुन थालेपछि लेकतिर सर्नुपरेको स्थानीय दत्तलाल कार्कीले बताए । रारा लामाचौर क्षेत्रमा पहिले बाँझिएको जग्गामा अचेल स्थानीयले खनजोत गरेर कोदो, चिनो, फापर फलाउन थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका कृषि विकास अधिकृत खेमराज शाहीले यस्तो परिवर्तनले पुर्ख्यौली अन्नबाली लोप हुने अवस्थामा पुगेको र किसानले नयाँ प्रजातिका बीउ खोज्नु परिरहेको बताए । जलवायुको असरले गर्दा पाँच महिनामा पाक्ने बारेकोट प्रजातिको कोदो अहिले चार महिनामै पाक्न थालेको छ भने उच्च लेकाली बस्तीमा असारमा लगाइने तिते फापर नपाकेरै कात्तिकमा बोट ओइलाउने गरेको शाहीको भनाइ छ । जलवायु परिवर्तनकै असरले पहिले उत्पादन हुने पुर्ख्यौली बाली चिनु, कागुनो, मार्से बाली अहिले भेट्टाउन गाह्रो हुन थालेको छ । पहिले बेंसीतिर फल्ने यी बाली अहिले लेकमा मात्रै फल्न थालेका छन् ।

सोरु गाउँपालिका–४ का मान्ते शाहीले दस वर्षअघिसम्म गाउँमा प्रशस्तै फल्ने कागुनो, चिनु, मार्सी, मासलगायतका बाली हिजोआज हराउन थालेको बताए । स्थानीय किसान कहिले अधिक वर्षा त कहिले खडेरीको मार खेपिरहेका छन् । अधिक असिना पानीले किसानको अन्नबालीमा क्षति पुग्न थालेपछि खाद्यको बढी मुख ताक्नुपर्ने अवस्था छ । १० वर्षअघिसम्म पुस–माघ महिनामा हिमपात हुन्थ्यो तर अचेल जेठ–असारमा पनि हिउँ पर्छ र चिसो बढ्छ ।

हिमाली क्षेत्रमा गर्मी र जाडोको सन्तुलन एक नास नहुँदाको असर पशुपालनमा देखिन थालेको छ । सीमित पशुपालन मात्र नभएर वन्यजन्तु चराहरूमा पनि त्यसै असर देखिन थालेको छ । चैतदेखि मंसिरसम्म मुगु गाउँको वारिपारिको बन क्षेत्रमा चरिचरन गर्ने चौंरी झोवाहरू अचेल चैत–वैशाखमै समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा रहेको छायानाथ, सानोकोइकी वन क्षेत्रमा चुनबुकी र हिउँ खान जाने गरेका छन् । बेंसीतिर गर्मी बढ्न थालेपछि चौंरी झोवा पनि हिमालतिर उक्लिएको मुगु गाउँका उर्गिन तामाङले सुनाए । उनले भने, ‘पहिले हिमाल चढेर छायानाथ, कोइकीतिर चौंरी जाँदैनथे, अचेल त्यहाँ पुग्न थाले ।’ च्याखुरा, कालिज, ढुकुर, तित्रा प्रजातिका चरा पनि हराएको सोरु गाउँपालिका–४ फोतु गाउँका रनवीर शाहीले बताए ।

१० वर्षअघिसम्म डोल्फूको छायानाथ क्षेत्र, ठूलोकोइकी, टाँकेजस्ता अग्ला हिमालमा बाह्रैमास हिउँ जमेको देखिन्थ्यो तर अचेल कहिले नाङ्गै त कहिले अधिक हिउँ जमेको देखिने गरेको छ । हिउँ पग्लिँदै गएपछि हिमालहरू सुक्खा र काला देखिन थालेका छन् । ‘करिब ५ हजार मिटर उचाइका हिमालमा बाह्रैमास हिउँ जम्थ्यो,’ कृषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईं भन्छन्, ‘अचेल ती हिमालबाट हिउँ सरेर ५ हजार ५ सय मिटरभन्दा माथि पुगिसकेको छ ।’

बढ्दो तापमानको असर तीव्र रूपमा परिरहे पनि जिल्लास्तरमा जलवायु परिवर्तन रोकथामका योजना खासै तय गरिएका छैनन् । संघ र प्रदेशबाट बजेट कम आउँदा जलवायुका विषयमा बजेट तर्जुमा गर्न नसकिएको मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । प्रदेश तथा संघीय मन्त्रालयबाट जलवायु रोकथाम कार्यक्रमको बजेट नै नदिने गरेको डिभिजन वन कार्यालयका प्रमुख सुमन खनालले बताए । खनालले डिभिजन वन कार्यालयमा पनि वृक्षरोपणका लागि बजेट थोरै निकासा हुने र त्यही बजेट पनि समयमै निकासा नभएकाले समस्या हुने गरेको बताए ।

प्रकाशित : असार ५, २०७९ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?