तस्करले मल ल्याउन सक्छन् तर सरकार सक्दैन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्करले मल ल्याउन सक्छन् तर सरकार सक्दैन

गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएर दुईवटा ट्रकमा ल्याइएका ५५० बोरामध्ये करिब ४ सय बोरा मल धादिङका किसानले लगे
सरिता श्रेष्ठ

धादिङ — गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएर भारतबाट ल्याइएको दुई ट्रक रासायनिक मल शनिबार धादिङको धुनिबेसी नगरपालिका–६ धार्केमा किसानले खोसेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले शुक्रबार नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटार ब्यारेकमा राखेको मल शनिबार सशस्त्र प्रहरीकै पहरामा काठमाडौं लैजाने क्रममा किसानले खोसेका हुन् । 

सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित तपाईं हाम्रो नमुना कृषि सहकारी संस्थाको कार्यालयमा रासायनिक मलका लागि शनिबार लागेको भीड । सहकारीले प्रतिधुरी ५ किलो युरिया सहुलियतमा बिक्री गर्न थालेको थाहा पाएपछि चार पालिकाका किसान बाह्रबिसे ओइरिएका थिए । तस्बिर : अनिश तिवारी/कान्तिपुर

भारतबाट शुक्रबार वीरगन्ज भन्सार हुँदै प्रवेश गरेका ट्रकले गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएका थिए । दुवै ट्रकमा माथि सिमेन्ट र गहुँ राखेर मल छोपिएको थियो, जसलाई भन्सारका अधिकारीले सजिलै पास गरिदिएका थिए ।

काठमाडौंबाट खटिएको राजस्व अनुसन्धान विभागको टोलीले शुक्रबार राति चितवनको मुग्लिन र कुरिनटारबीचको क्षेत्रबाट ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार बा६ख ८२०९ र बा६ख ८२१० नम्बरका ट्रकमा ५ सय ५० बोरा मल थियो ।

कुरिनटारबाट बिहान ट्रक हिँडेको चाल पाएपछि कोही व्यक्तिले धादिङको राजमार्ग आसपासका चिनेजानेका व्यक्तिहरूलाई ‘दुईवटा गाडीमा मल आउँदै छ, बाटामा नियन्त्रणमा लिएर मल लैजानू’ भन्ने सूचना दिएका थिए । त्यही क्रममा धार्केमा आएपछि ट्रकमा रहेको मल स्थानीयले खोसेका हुन् । थाक्रे गाउँपालिका–८ का कृष्णहरि थापाले भने, ‘मल आउँदै छ भन्ने खबर फैलिएपछि किसानले ट्रक कब्जा गरेका हुन् ।’

दुवै ट्रकमा केही सशस्त्र प्रहरी भए पनि स्थानीयको संख्या धेरै भएकाले उनीहरूले मल जोगाउन सकेनन् । नजिकै रहेका प्रहरी आइपुग्दासम्म किसानले करिब ४ सय बोरा लगिसकेका थिए । खानीखोलाबाट आएको प्रहरीले लाठीचार्ज गरेपछि किसान तितरबितर भएका थिए ।

मल लिएर आएका दुईवटै ट्रक धादिङबेंसीस्थित दुवाडी एग्रोभेटका सञ्चालक बोधनाथ दुवाडीको भएको खुलेको छ । तर, मल आफ्नो नभएको दुवाडीले बताए । ‘मेरो ट्रक भाडामा लगेर मल ल्याएका हुन्,’ उनले भने । अनुसन्धानमा संलग्न स्रोतले भने दुईवटै ट्रक मल ल्याउने व्यक्तिकै भएको जनाएको छ । स्रोतका अनुसार प्रज्ञापनपत्रमा छली गरेर सामान भित्र्याएको खुलेपछि त्यसबाट बच्न लुटपाटको योजना बनेको हो । विभागले दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ ।

गहुँ र सिमेन्टको प्रज्ञापनपत्र काटेर मल छाड्ने वीरगन्ज भन्सारका कर्मचारीमाथि पनि अनुसन्धान अघि बढेको छ । धादिङका सहायक प्रमुख अधिकारी ध्रुवप्रसाद कोइरालाले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए । उनले भने, ‘मल कहाँबाट के प्रयोजनले आयो, खुल्न बाँकी छ ।’

यसरी तस्करले भन्सार नाकाबाटै पास गराएर ल्याउँदा सरकारले भने मल ल्याउन सकेको छैन । यतिबेला बारीमा लगाइएको मकै मल हालेर गोड्ने बेला भएको छ । मल अभावमा चैते धान सुध्रन सकेन भने मंसिरे धान लगाउने समय भएको छ । ‘बजारमा बोराको ९ सय रुपैयाँ पर्ने मललाई २२ सय भन्छन्, त्यो पनि किन्न पाइँदैन,’ थाक्रेका किसान थापाले भने, ‘खेती लगाउने र भित्र्याउने बेला जहिल्यै मल अभाव हुने गर्छ ।’

धादिङकै सिद्धलेक गाउँपालिका– ५ की ज्ञानु घलेले मकै र धानमा मल हाल्ने बेला भए पनि मल नपाएको बताइन् । ‘मल नहाली खेती सप्रिँदैन,’ उनले भनिन्, ‘खेती लगाउने बेला होस् या सप्रने बेला हामीलाई जहिल्यै मलको जोहो गर्ने पिरलो हुन्छ ।’ धादिङमा मात्र होइन, सरकारी बेवास्ताले खेतीका बेला देशैभर मलको हाहाकार हुने गरेको छ ।

प्रकाशित : असार ५, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरे

सरिता श्रेष्ठ

धादिङ — धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

व्यापारीहरूले भने भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल 'लुट्न लगाएको' किसानहरूले बताएका छन् । किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ ।

प्रकाशित : असार ४, २०७९ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×