१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकार बनाउने बेला दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जान्छौं : प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने बताएका छन् । उनले अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने पार्टीको ठहर रहेको बताए ।

सरकार बनाउने बेला दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जान्छौं : प्रवक्ता महत

रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको बताए ।

‘हाम्रो संविधानमा ४० प्रतिशत सिट पार्टीको समानुपातिक मतको आधारमा हुने व्यवस्था छ । त्यसकारण अहिलेकै अवस्थामा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन कठिन छ,’ उनले भने, ‘हाम्रो उद्देश्य कांग्रेस एक्लैले दुई तिहाई प्राप्त गर्ने हुनुपर्छ । तर, बहुमत नआएर सरकार बनाउने बेला यता-उता दौडधुप गर्नुपर्ने अवस्था नआओस् भनेर हामी अहिल्यै गठबन्धन गरेर चुनाव जान चाहन्छौं ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संविधानमाथिको आक्रमण र प्रतिगमतकाविरुद्ध वर्तमान गठबन्धन बनेको भन्दै ओली अहिले पनि गठबन्धनलाई असफल बनाएर मुलुकलाई प्रतिगमनतर्फ लैजान उद्यत रहेको आरोप लगाए ।

‘ओलीजी अहिले पनि गठबन्धनलाई कसरी असफल पार्न सकिन्छ भनेर लागिरहनुभएको छ,’ उनले भने, ‘तर हामी त्यस्तो हुन दिँदैनौं । गठबन्धनमा कुन पार्टीको कहाँ कस्तो अवस्था छ, के अपेक्षा छ ? त्यसबारे छलफल गरेर हामी गठबन्धनलाई निरन्तरता दिन्छौं ।’

उनले स्थानीय तहको निर्वाचनमा मधेसमा गठबन्धनले सन्तोषजनक सफलता हासिल गरेको बताए । ‘मधेसमा आठ जिल्ला हुन् । तीमध्ये चार जिल्लामा गठबन्धनको नतिजा राम्रै भयो । सप्तरी, सिरहा, महोत्तरी र बारामा मात्रै हो, त्यत्ति राम्रो परिणाम नआएको । नभए अरु चार जिल्लामा राम्रो परिणाम आएको छ,’ उनले भने ।

प्रकाशित : असार ४, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?