कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जनप्रतिनिधिलाई नेता पुनको निर्देशन- 'भ्रष्टाचार नगरौं, नमुना बनौं'

काठमाडौँ — नेकपा माओवादी केन्द्र अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुनले स्थानीय पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न निर्देशन दिएका छन् । 

जनप्रतिनिधिलाई नेता पुनको निर्देशन- 'भ्रष्टाचार नगरौं, नमुना बनौं'

पार्टीले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख पुनले माओवादीद्वारा निर्वाचित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्ष/उपाध्यक्षलाई त्यस्तो निर्देशन दिएका हुन् । संविधानले नेपाललाई समाजवाद उन्मुख भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन उनको निर्देशन थियो । ‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवास लिने हो,’ पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो । यसमा हामी स्पष्ट हुनुपर्छ ।’

पुनले तीनवटै सरकारले संविधानको मर्मअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभूताको ग्यारेन्टी गर्ने गरी काम गर्नुपर्ने स्पष्ट गरे ।

पुनले स्थानीयस्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिए । जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको भन्दै उनीहरुलाई बल पुग्ने गरी भ्रष्टाचारजन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनीसमेत दिए । ‘कम्तीमा माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौं,’ उनले भने, ‘हामीले चलाएका पालिकाहरुलाई कुनै न कुनै काममार्फत नमुना बनाऔं ।’ तर, सस्तो लोकप्रियताका लागि राज्यश्रोतको परिचालन नगर्न जनप्रतिनिधिलाई उनले सुझाए ।

स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने पुनले बताए ।

पार्टी 'जनयुद्ध'बाट आएकाले त्यससँग सम्बन्धित कार्यक्रमहरु घाइते/अपांगता भएकाको नि:शुल्क उपचार, सहिद परिवारलाई राहत र रोजगारी दिनु आफूहरुको दायित्व भएकाले बजेटमा ती विषय नछुटाउन पनि पुनले निर्देशन दिए ।

प्रकाशित : असार ४, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?