कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिजिट भिसामार्फत इराकमा मानव तस्करी

प्रतिबन्ध हुँदा पनि नेपाली महिलालाई अवैध रुपमा इराक लैजाने क्रम कोरोना महामारी मत्थर भएसँगै झनै मौलायो

काठमाडौं, काँकडभिट्टा — मोरङ, उर्लाबारी–४ की २१ वर्षीया कविता उराँव एसईईपछि पढाइ छाडेर घरमै बसिरहेकी थिइन् । उनमा श्रमिक बाबुआमालाई सघाउन पैसा कमाउनुपर्छ भन्ने सोच पलायो । साथीको संगतले उनी वैदेशिक रोजगारीका एजेन्ट झापा, झिलझिलेका दुर्गा खवासको सम्पर्कमा पुगिन् । एजेन्टले निःशुल्क ओमान पठाइदिने भनेपछि उनी फुरुङ्ग परिन् । अझ पासपोर्ट पनि एजेन्टकै खर्चमा बन्ने सुनेपछि खुसीले सीमा नाघ्यो । 

भिजिट भिसामार्फत इराकमा मानव तस्करी

कविताले विदेश जान गरेको तयारीबारे अभिभावक बेखबर थिए । ०७७ पुसमा उड्ने निश्चित भएपछि मात्रै उनले आमा सरितालाई सुनाइन् । त्यसपछि बुबा सन्तोषका कानसम्म पुग्यो । ‘छोरीले पनि हामीसँग सल्लाह गरिन,’ बुबा सन्तोषले दुःख साटे, ‘हिँड्ने बेला थाहा पाइयो, राम्रै त होला नि भन्ने लागेर जा न त भन्यौं ।’

खाडी तथा द्वन्द्वग्रस्त मुलुकमा घरेलु कामदार पठाउन सरकारले वर्षौंअघि बन्देज लगाएको छ । त्यसैले कवितालाई भारतीय बाटो हुँदै उडाउन सुरुमा दिल्ली पुर्‍याइयो । दिल्लीमा करिब दुई महिना बन्धक बन्नुपर्‍यो । बल्लतल्ल उनलाई दुबई पठाइयो । दुबईमा पनि डेढ महिना बन्धक बनाएपछि इराक पुर्‍याइयो । इराक पुगेको केही महिना त उनी परिवारसँग निरन्तर सम्पर्कमा थिइन् । एक पटक फोनमा अत्तालिँदै उनले भनेकी थिइन्, ‘यहाँ घर मालिकले सधैं कुटपिट गर्ने गर्छ, मलाई चाँडो फर्काउनु ।’ त्यसपछि उनी परिवारको सम्पर्कमा छैनन् । मालिकले चरम यातना दिएर राखेको अनुमान परिवारको छ । छोरीले पठाएको फोटो देखाउँदै सन्तोषले भने, ‘लु न सर, छोरीलाई चाँडो उद्धार गरिदिनुपर्‍यो ।’

सन्तोषले गत मंसिरमा छोरीको उद्धारको माग गर्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा एजेन्ट दुर्गाबहादुर खवासविरुद्ध किटानी जाहेरी दिएका थिए । तर अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । ‘मेरी छोरी मरी–बाँची केही थाहा छैन,’ सरिताले भनिन् ।

वैदेशिक रोजगारीमा इराक पुगेका १२ नेपालीको नृशंस हत्या भएलगत्तै सरकारले ०६१ भदौ १६ मा त्यहाँ जान प्रतिबन्ध लगाएको थियो । ०६७ साउन १२ मा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इराक प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि नै फेरि प्रतिबन्ध कायम गरिएको थियो । सरकारी प्रतिबन्धका बाबजुत इराक जाने क्रम आजपर्यन्त जारी छ । संगठित मानव तस्करका एजेन्टहरूले प्रलोभनको पासोमा पारेर अवैध बाटोबाट कविता जस्ता नेपाली महिलालाई जोखिमपूर्ण श्रमका निम्ति इराक पुर्‍याइरहेका छन् ।

मानव तस्करका एजेन्टहरूले महिलालाई स्थलमार्गबाट भारत पुर्‍याउने र त्यहाँबाट सेटिङमा भिजिट भिसा मिलाएर दुबई हुँदै इराक पुर्‍याइरहेको देखिन्छ । महिलालाई भिजिट भिसामा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न कडाइ गरिएपछि एजेन्टहरूले भारतीय बाटो प्रयोग गर्दै आएका हुन् ।

कविताकी आमा सरिताको जस्तै छटपटी परेको थियो, दुई वर्षअघि चितवन टाँडीका विशाल गिरीलाई । वैदेशिक रोजगारीका लागि टर्की जाने भनेर हिँडेकी आमा इन्दु इराक पुगेको खबरले उनी झस्किएका थिए । आमाले आफूले दुःख खेपिरहेको भन्दै फोन गर्न थालेपछि संगठित मानव तस्करलाई कारबाही गर्न र आमाको उद्धारको आस बोकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज पुगे ।

महिनौं बित्दा पनि प्रहरीको अनुसन्धानबाट केही निष्कर्ष निस्किएन । न आमाको उद्धार भयो न त कोही पक्राउ परे । उनकी आमा भने झन्डै साढे दुई वर्ष लामो सास्ती काटेर ०७७ भदौतिर फर्किन् । इन्दुका अनुसार उनलाई टर्की लैजाने भनेर एजेन्टले सुरुमा भारतको पुरानो दिल्ली लगेर २१ दिन राखेका थिए । त्यहाँबाट भिजिट भिसामा दुबई पुर्‍याए । ‘दुबई झर्नेबित्तिकै त्यहाँको भिजिट भिसा च्यात्न र इराकको भिसा देखाउन भनेका थिए,’ इन्दुले सुनाइन्, ‘इराक झरेपछि एजेन्टले एउटा घरमा लगेर राख्यो । त्यहाँ अरू नेपाली महिला पनि थिए ।’

एक लाख ८० हजार रुपैयाँ खर्च गरेर इराकको कुर्दिस्तान पुगेकै दिनदेखि इन्दु नेपाल फर्किन खोजेकी थिइन् । तर उनी जुन घरमा काम गर्न पुर्‍याइएकी थिइन्, त्यस घरको मालिकले उनलाई भन्यो, ‘नेपाल फर्किनै मन छ भने ५ हजार डलर बुझाऊ ।’ त्यसपछि उनले आफू बेचिएको थाहा पाइन् ।

नेपाल फर्किन नपाइने भएपछि इन्दुका विकल्पहरू खुम्चिए । उनले आफ्नो उद्धारका लागि बेलाबेला घरमा हारगुहार गर्थिन् । दुई वर्षपछि आफैं घर आएकी इन्दु भन्छिन्, ‘अहिले पनि मलाई कतिले फेरि इराक आइज भनेर बोलाउँछन् । तर त्यहाँ कोही पनि नजाऊन् । केही अभर पर्‍यो भने त्यहा हाम्रा लागि बोल्ने न एम्बेसी छ न अरू ।’ इन्दुका छोरा विशाल आमा इराक पुगेपछि बुझ्दै जाँदा मानव बेचबिखनका एजेन्टहरूको जालो निकै ठूलो रहेको थाहा पाएको बताउँछन् ।

ग्रामीण भेगका अर्धशिक्षित र आर्थिक संकटसँग जुधिरहेका महिला अवैध रूपमा इराक लैजाने मानव तस्करहरूको पासोमा परिरहेको देखिन्छ । झापा गाउँपालिका ३, शरणामतिका शर्मिला विक गत तिहारको छेको पारेर ओमान जाने भन्दै दिल्ली पुगेकी थिइन् । एजेन्टले उनलाई ओमानको नभएर दुबई हुँदै इराक पुर्‍यायो । इराक पुगेपछि शर्मिलाका दुःख सुरु भए । हरेक दिन घर मालिकले दिने यातनाबाट छुट्कारा पाउन शर्मिला घरमा हारगुहार गरिरहेकी छन् । उनका श्रीमान राजु श्रीमतीको उद्धारमा सरकारी अड्डा धाएको धायै छन् ।

राजुले गत चैतमै जिल्ला प्रशासन कार्यालय झापामा एजेन्टहरू मणि लामा र दुर्गा खवासलाई झिकाउन माग गर्दै निवेदन दिएका थिए । तर प्रशासनमा पेस गरेको निवेदन कागजी खोस्टोबाहेक केही भएन । ‘काठमाडौंको मानव बेचविखनविरुद्धको ब्युरोमा पनि निवेदन दिएँ, त्यहाँबाट पनि सुनुवाइ भएको छैन,’ राजुले लामो सास तान्दै भने, ‘श्रीमती उद्धार गर्दिनुपर्‍यो हजुर भन्दै अब म कहाँ जाउँ ?’

प्रतिबन्धका बाबजुद पनि नेपाली महिलालाई अवैध रूपमा इराक लैजाने क्रम कोरोना महामारी मत्थर भएपछि झनै मौलाएको देखिन्छ । जस्तो कि, गत सोमबार नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोमा पुग्दा रसुवाकी ४० वर्षीया महिला आफ्नी छोरी डेढ महिनादेखि इराकमा अलपत्र परेको सुनाउँदै उद्धार आग्रह गरिरहेको अवस्थामा भेटिइन् । प्रहरीका अनुसार ती महिलाकी छोरी नेपालबाट भिजिट भिसामा दुबई हुँदै कुवेत र त्यहाँबाट इराक पुगेकी थिइन् ।

इराक पुगेकाहरूमध्ये केहीलाई नेपालबाट भिजिट भिसामा दुबई हुँदै इराक पुर्‍याएको देखिन्छ । धेरैलाई भने नेपालबाट स्थलमार्ग हुँदै भारत लगेर त्यहाँबाट दुबई वा कुवेत हुँदै इराक पुर्‍याउने गरिएको छ । नेपाल सरकारले द्वन्द्वग्रस्त इराक जान प्रतिबन्धलगायत हजारौं नेपाली महिला मानव तस्करको भर परेर इराक पुगेको देखिन्छ । भारतीय प्रहरीले ०७६ माघ १६ मा म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट १४७ महिलासहित १७९ नेपालीलाई उद्धार गरेकामा ५७ जनाको गन्तव्य इराक देखिएको थियो, जसमा ४१ महिला थिए ।

झापा, शिवसताक्षीकी तारादेवी कडरियाले आफूलाई स्थलमार्गबाट दिल्ली र त्यहाँबाट दुबई हुँदै इराक लगिएको सुनाइन् । पटक पटक वैदेशिक रोजगारीमा कुवेत र दुबई गएर एकाध वर्ष बस्दै फर्किंदै गरेकी उनी पछिल्लो पटक ओमान जाने ताकमा थिइन् । तर कोराना संक्रमणको तेस्रो लहर सुरु भएपछि उनी रोकिइन् । तेस्रो लहर मत्थर भएपछि उनी ओमान जाने भन्दै दिल्ली पुगिन् । दिल्लीबाट दुबई पुर्‍याएर हातमा पासपोर्ट थमाइयो, तब मात्रै उनले आफूलाई भिजिट भिसामा इराक पठाउन लागेको थाहा पाइन् । ‘रुँदैरुँदै जहाज चढें,’ तारादेवीले सुनाइन्, ‘दुई घण्टासम्म रोएरै इराक पुगें ।’

बगदाद विमानस्थल ओर्लिएपछि करिब ४ घण्टा लामो यात्रापछि बल्ल उनी एजेन्टको कार्यालय पुगिन् । त्यहाँ पुगेपछि त उनको होसहवास उड्यो । ‘सयभन्दा बढी नेपाली महिलालाई भेडाबाख्राझैं गोदाममा कोचेर राखिएको थियो । एजेन्टले त्यही गोदामबाट मालिकको घरमा पठाउँदो रहेछ,’ उनले भनिन्, ‘इराकमा नेपाली महिलाको माग व्यापक रहेछ ।’ उनका अनुसार त्यहाँ १० देखि १५ हजार डलरसम्म खर्च गरेर महिला खरिदबिक्री हुन्छ ।

तारादेवीलाई गोदामबाट कसैले खरिद गरेर लग्यो । उनका अनुसार करिब १२ घण्टा लामो यात्रामा खुर्गिस्तानको सुलेमनिया पुगेपछि त्यो व्यक्तिले अरबी भाषामा भन्यो, ‘तिमीलाई मैले १५ हजार डलर तिरेर किनेको हो, अब दुई वर्ष मेरो सेवा गरेर बस्नुपर्छ ।’ हल्काफुल्का अरबी बोल्ने उनले तत्काल जवाफ फर्काइन्छन्, ‘म यहाँ काम गर्न सक्दिनँ, एजेन्टलाई भनेर फर्काइदे ।’

उनले यो अनकन्टार ठाउँमा जसोतसो एक रात बिताइन् । काम गर्न मानिनन् । मालिकले एजेन्टलाई भनेपछि उनलाई भोलिपल्ट बिहान फर्काइयो । इराककै अर्को ठाउँमा लगेर २०/२२ दिन राखियो । घरको काम लगाइयो । पछि पुनः कार्यालयको गोदाममा लगेर थन्क्याइयो । त्यति बेला गोदाममा २४/२५ जना नेपाली महिला मात्रै थिए । अर्थात् अघिल्लो पटक भेटिएका धेरै महिला ‘बिक्री’ भइसकेका थिए । दुई महिना उनी बिना कामै बसिन् । त्यसपछि अलिअलि काम गरिन् । ‘म भाग्यले मात्रै इराकबाट फर्किन सकें,’ तारादेवीले सुनाइन्, ‘त्यो नर्कबाट म कसरी फर्किएँ, आफैंलाई पत्यार लाग्दैन ।’ नौ महिनामा इराकबाट दुबई आएपछि पनि उनलाई एजेन्टले २५ दिन राख्यो । साथमा रहेको गरगहना र केही हजार डलर दुबईको विमानस्थलबाटै गायब पारिएको उनको भनाइ छ । बेखर्ची भएपछि उनले अनेकतिर हारगुहार गरेर चन्दा जुटाएपछि दिल्ली आइपुगिन् । दिल्लीबाट भने प्रहरीको सहयोगमा घर फर्किन् ।

तारादेवीले गत भदौमा एजेन्टहरूविरुद्ध मानव बेचविखन नियन्त्रण ब्युरोमा किटनी जाहेरी दिइन् । जाहेरी दिएकामध्ये दुर्गा भुजेललाई प्रहरीले पक्राउ गरेको छ । मुख्य एजेन्ट झापा शिवसताक्षी ८ झिलझिलेका मणि लामालाई प्रहरीले ०७८ कात्तिक २९ मा मानव बेचविखन तथा ओसारपसार मुद्दामा पक्राउ पुर्जी काटेको थियो । त्यसयता उनी फरार छ । स्रोतका अनुसार उनी भारतको सिलिगुडी क्षेत्रमा लुकेर बसेका छन् । ‘फरार सूचीमा रहेका लामाको खोजी तीव्र पारिएको छ,’ मानव बेचविखन नियन्त्रण ब्युरोका एसपी दानबहादुर मल्लले भने । तारादेवीको जोहरीका आधारमा प्रहरीले सरस्वती श्रेष्ठलाई पनि खोजी गरिरहेको छ । श्रेष्ठ दुबईमा छिन् । तारादेवीसहितका पीडितले लामालाई तत्काल पक्राउ गरेर इराकका अलपत्र महिलाको तत्काल उद्धार गर्न माग गरेका छन् ।

इराकस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष लालकाजी गुरुङका अनुसार कोरोनोको तेस्रो लहरपछि इराकमा पुरुष कामदारलाई प्रतिबन्ध लगाइएको छ । ‘नेपाली महिला विभिन्न समूहमार्फत इराक आउने क्रम रोकिएको छैन,’ उनले भने, ‘म बस्ने सुलेमानीमा नै कामदार ल्याउने तीन–चार कम्पनीमा ३०/४० जना नेपाली महिला बसिरहेको सुनेको छु ।’ सन् २००९ देखि इराकमा रहेका गुरुङका अनुसार त्यहाँ रहेका नेपालीको संख्या १५ हजार हाराहारी छ । ‘त्यसमध्ये ८ देखि ९ हजार महिला हुन सक्छन्,’ उनले भने ।

कान्तिपुरको सम्पर्कमा आएका इराकस्थित केही नेपालीका अनुसार घरधनीबाट रकम असुलेर कामदार ओसार्ने गरिएको छ । ०७६ माघ दोस्रो साता केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका नवराज बस्नेतका अनुसार कामदार पठाइदिने भन्दै दलालहरूले घरमालिकसँग सुरुमै तीन–चार हजार डलर बुझ्छन् । उक्त रकम पछि कामदारको मासिक तलबबाट घटाइन्छ ।

सरकारको रेकर्डमा नरहने र कामदारको बिमा लगायतका सुरक्षा पनि नहुने भएकाले धेरै घरेलु महिला कामदार अप्ठ्यारो पर्दा वा हिंसा भोग्दा उम्किहाल्न सक्दैनन् । राम्रो काम पाएर बसेकाहरू पनि दुई वर्षको सम्झौता सकिएपछि नेपाल फर्किन नचाहने बरु व्यक्तिगत सम्पर्कका आधारमा काम खोज्ने प्रवृत्ति देखिन्छ । ‘सरकारको प्रतिबन्धले नेपाली आउने क्रम रोकिएको छैन । बरु उल्टै जोखिम बढ्यो,’ गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष गुरुङले भने, ‘वैध काम गर्नेलाई कमाइ खाने भाँडो भएको छ ।’

प्रकाशित : असार ४, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?