कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

महिलाले आत्महत्या गरेपछि बीपी प्रतिष्ठानका चिकित्सक पक्राउ

सुनसरी — धरानको एक होटलमा २६ वर्षीया एक महिलाले आत्महत्या गरेपछि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सक वीरगन्ज महानगरपालिका–२३ बस्ने करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले बताएका छन् ।

महिलाले आत्महत्या गरेपछि बीपी प्रतिष्ठानका चिकित्सक पक्राउ

बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही–५ मा विवाह गरेकी २६ वर्षीया प्रकृति सुवेदी डा. यादवलाई भेट्न आएका बेला बिहीबार धरान–१० स्थित जनहित गेस्ट हाउसको कोठामा तन्नाको पासो लगाएर आत्महत्या प्रयास गरेकी थिइन् । पासो लगाएको अवस्थामा फेला पारेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरी आईसीयूमा उपचार हुँदै थियो । आईसीयूमा उपचार गर्दागर्दै महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि डा. यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रायका अनुसार मृतक महिला र डा. यादवबीच चिनजानको सम्बन्ध देखिएको छ । डा. यादवले नै बोलाएर सुवेदी गत बिहीबार धरान आएकी थिइन् । डा. यादव प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । सुवेदीका लागि गेस्ट हाउसको कोठा डा‍‍ यादवले नै बुक गराएका थिए । महिलाले ढोका नखोलेपछि गेस्टहाउसका कर्मचारीले डा. यादवलाई बोलाएका थिए । डा. यादवले आएर ढोका खोल्दा तन्नाको पासो लगाएर सुवेदी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । सुवेदीलाई तत्काल प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्दा गर्दै शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रायले बताए ।

९ वर्षीया छोराकी आमा सुवेदी र उनका श्रीमान् केही वर्षदेखि अलग्गै बस्दै आएको र दम्पतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दम्पतीबीच सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेका बेला पछिल्लो समय सुवेदी र अविवाहित डा. यादवबीचको सम्बन्ध नजिकिँदा काठमाडौंबाट धरान भेट्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक सुवेदीका आफन्त धरान आइसकेकाले उनीहरुले दिने जाहेरीको आधारमा डा. यादवलाई कारबाही गरिने प्रहरी निरीक्षक रायले बताए । उनले आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्न सक्ने बताए । उनले भने, ‘मृतक महिलाको पोस्टमर्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने छ ।’

प्रकाशित : असार ३, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?