कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओलीले नै एसपीपी अगाडि बढाउनु भएको हो : गौतम

‘एसपीपीबारे प्रधानमन्त्री देउवाले संसद्लाई जानकारी गराउनुपर्छ’

काठमाडौँ — राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् । सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसद्मा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनु भएको हो ।

ओलीले नै एसपीपी अगाडि बढाउनु भएको हो : गौतम

गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्रीसमेत थिए । यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे । उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए । सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि पटक-पटक दोहोर्‍याए । सो प्रस्तावबारे संसद्‍‍मा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आग्रह गरे ।

‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभयो । तर सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिनँ । त्यो सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ । त्यसो भएर ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजीनीति गर्दा अब के-के भएको हो, अस्तिमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रस्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अब सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन । पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन । एमसीसी पास गरेलगत्तै एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) आयो । यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्यादै संवदेनशील भएँ, झसंग भए,’ उनले भने ।

एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको पनि उनले बताए । महत्त्वपूर्ण विषयमा राष्ट्रलाई जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसद्मा उपस्थित हुनुपर्ने पनि उनको भनाइ छ ।

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसद्मा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएको दाबीसमेत गरे ।

प्रकाशित : असार ३, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?