१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आँखाको ज्योति खोज्दै आउँछन् भारतीय सर्वसाधारण

सस्तोमा गुणस्तरीय सेवा पाइने भएकाले नेपालका सीमावर्ती सहरमा सञ्चालित आँखा अस्पतालमा भारतीयको आकर्षण

काठमाडौँ — सीमावर्ती क्षेत्रका नेपाली सामान्यदेखि जटिल प्रकृतिका उपचारका निम्ति पनि भारतका विभिन्न सहर धाइरहेका बेला नेपालको सीमावर्ती क्षेत्रमा स्थापित आँखा अस्पतालहरूले भारतीयलाई आकर्षित गरिरहेका छन् ।

आँखाको ज्योति खोज्दै आउँछन् भारतीय सर्वसाधारण

झापाको मेची आँखा अस्पताल, मोरङको विराटनगरस्थित विराटनगर आँखा अस्पताल, सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल, पर्साको नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरी, भैरहवास्थित रण अम्बिका आँखा अस्पताल तथा अनुसन्धान केन्द्र, नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पताल र धनगढीको गेटा आँखा अस्पतालले प्रत्येक दिन सयौंको संख्यामा भारतीयलाई उपचार सेवा दिइरहेका छन् ।

पूर्वोत्तर भारतको असमबाट करिब साढे ६ सय किलोमिटर लामो यात्रा गरेर ६० वर्षका मोहम्मद हानिफ बिर्तामोड आइपुगेका छन् । उनी घुम्न वा आफन्त भेट्न आएका होइनन् । सस्तोमा आँखाको राम्रो उपचार हुने सुनेपछि उनी बिर्तामोडको मेची आँखा अस्पताल आइपुगेका हुन् । झापामा दर्जनभन्दा बढी निजी आँखा अस्पताल छन् तर अर्धसरकारी मोडेलमा सञ्चालित मेची आँखा अस्पतालमै बिरामीको घुइँचो छ । त्यो पनि नेपालीको भन्दा सीमावर्ती भारतीय राज्यहरूबाट आउनेको । सिक्किम, दार्जिलिङ, असम, मेघालय, झारखण्ड, बिहारलगायत पूर्वोत्तर भारतका सबै राज्यबाट यहाँ बिरामी आइपुग्छन् । ‘भारतको भन्दा तीन गुणा कम दरमा आँखाको अपरेसन हुन्छ,’ अस्पतालका अध्यक्ष जलकुमार गुरुङले भने, ‘त्यही कारण पनि आँखा उपचारको मुख्य गन्तव्य नेपाल बनेको हो ।’ सीमावर्ती सहर सिलिगुडीका नर्सिङहोममा ३० देखि ३५ हजारमा हुने आँखाको शल्यक्रिया मेची आँखा अस्पतालमा १० हजार भारुमै हुन्छ । अध्यक्ष गुरुङका अनुसार यहाँ बहिरंगतर्फ ४० प्रतिशत र अपरेसनमा ६० प्रतिशत सेवाग्राही भारतीय छन् ।

विराटनगरको विराटनगर आँखा अस्पतालमा पनि भारतीयको आकर्षण उस्तै छ । भारतको अरुणाञ्चल, चन्दननगरका डिम्बेश्वर बडुवा १ हजार २ सय किलोमिटर सडक यात्रा गरेर विराटनगरको विराटनगर आँखा अस्पतालमा आँखा रेटिनाको शल्यक्रिया गर्न आएको भेटिए । दाहिने आँखाको पर्दा (रेटिना) मा रगत जमेर उपचारका क्रममा यसअघि भारतको सिलिगुडीमा शल्यक्रिया गर्दा ज्योति नै गुमाएपछि बडुवा देब्रे आँखामा पनि त्यही समस्या देखा परेपछि यहाँसम्म आइपुगेका हुन् । उनले दुई वर्षअघि ५० हजार भारु खर्च गरेर सिलिगुडीमा दाहिने आँखाको रेटिनाको शल्यक्रिया गर्दा ज्योति गुमेको बताए । ‘गाउँलेले यहाँ (विराटनगर आँखा अस्पताल) सस्तोमा राम्रो उपचार हुन्छ भनेपछि यहाँसम्म आएँ ।’ नेपाली १६ हजार रुपैयाँमा उनले देब्रे आँखाको रेटिनाको शल्यक्रिया गराए ।

पश्चिम बंगाल मालदहका रासिद हसन मोतियाबिन्दुको शल्यक्रियाका लागि शनिबार विराटनगर आँखा अस्पताल आइपुगेका थिए । आइतबार शल्यक्रिया गरेर सोमबार घर फर्कन लागेका उनले छिमेकी र आफन्तको सुझावमा यहाँसम्म आइपुगेको बताए । उनलाई आफ्नै सहरका डाक्टरहरूले मोतियाबिन्दुको शल्यक्रिया गर्न भारु पाँच हजार लाग्छ भनेर सुनाएका थिए तर विराटनगरमा उनले यही उपचार औषधि, लेन्स र बेड शुल्कसहित मोरु १ हजार २ सय रुपैयाँमै सके । रासिदले भने, ‘उस एरियामे इस तरहकी जाँच नही हे, यहाँके जाँचका विश्वास है तो उपचारके लिए यहाँ पर आए है ।’

भारतका विभिन्न ठाउँबाट विराटनगरको विराट आँखा अस्पतालमा उपचार गराउन आएका बिरामी । तस्बिर : बिनोद भण्डारी/कान्तिपुर

सन् २०२२ को पाँच महिनामा यो अस्पतालमा भारतको आन्ध्र, अरुणाञ्चल, बिहार, छत्तिसगढ, दिल्ली, गुजरात, हरियाणा, हिमाचल, जम्मु कश्मीर, झारखण्ड, कर्नाटक, केरला, महाराष्ट्र, मणिपुर, मध्यप्रदेश, मेघालय, नागाल्यान्ड, उडिसा, पञ्जाब, राजस्थान, सिक्किम, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालबाट आएका भारतीय र स्वदेशी गरेर १ लाख १६ हजार ४ सय ५१ जनाले उपचार गरेका छन् । अस्पतालका प्रशासन प्रमुख सुधीर ठाकुरका अनुसार अस्पतालमा उपचार गर्न आउनेमध्ये ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी बिरामी छन् ।

अस्पतालको रेटिना विभाग प्रमुख डा. लिली राजवंशीले नेपालसहित भारतका हरेक प्रदेशबाट आँखाका बिरामी उपचारका लागि यहाँ आउने गरेको बताइन् । अक्सर भारतीयहरू रेटिना (पर्दा) च्यातिएर रगत जमेका, मोतियाबिन्दु, जलबिन्दु, न्यून दृष्टि, कोर्निया, अकुलोप्लास्टी र आँखामा ट्युमर भएका धेरै हुन्छन् । स्वदेशी र विदेशी संघसंस्थाको आर्थिक सहयोगमा सञ्चालित यो अस्पतालमा दर्ता शुल्क ४८ रुपैयाँ र फलोअप शुल्क जम्मा ४० रुपैयाँ लाग्छ । अस्पतालका प्रबन्धक कुमार प्रिथुले अस्पतालमा कोर्निया, जलबिन्दु, रेटिना, बालबालिका, मोतियाबिन्दु, अकुलोप्लास्टी, न्यून दृष्टि, मायोपिया कन्टेक्ट लेन्स र पेइङ तथा रेफ्रेकिटम सर्जरी विभाग भएको र सबै विभागमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण भएकाले भारतीयहरूको आकर्षण रहेको बताए ।

भारतीयहरूको लर्को लाग्ने अर्को आँखा अस्पताल हो– लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल । प्रत्येक वर्ष औसतमा ५० हजारभन्दा धेरैको आँखाको शल्यक्रिया गर्ने यो अस्पताल नेपालीमाझ त परिचित छ नै, त्योभन्दा धेरै सीमावर्ती सहरका भारतीयमाझ चर्चित छ । अस्पतालमा उपचार गर्ने बिरामीमध्ये औसतमा ४० प्रतिशत भारतीय हुने गरेका छन् । बिहीबार मात्रै अस्पतालमा ७ सय ५६ बिरामीको आँखा जाँच भएकामा ३ सय १ जना त भारतीय नै थिए ।

अस्पतालका अनुसार भारतको बिहार, पश्चिमी बंगाल, मध्यप्रदेश, उत्तर प्रदेशलगायतका आधा दर्जन राज्य र बंगलादेशबाट समेत आँखाका बिरामी यहाँ उपचार गर्न आउँछन् । ‘आफ्नो छरछिमेकी धेरैले टाढा भए पनि यहींबाट आँखाको शल्यक्रिया गरेर गएपछि एकपटक गुमेको आँखा फेरि पाएपछि उपचारका लागि लहान आइपुगेको हुँ,’ मधुवनी भारतका अनवरी खातुनले भनिन्, ‘थोरै खर्चमा सहज उपचार र विश्वसनीय हुने भएकाले पनि यही अस्पतालमा उपचार गराउन आएको हुँ ।’ उनका अनुसार उपचारका अलावा कुरुवाका लागि धर्मशाला र खाना पकाउने चुलोको व्यवस्था भएकाले कमजोर आर्थिक अवस्था भएकाहरूका लागि यो अस्पताल वरदान भएको छ । भारत मधुवनीका त्रिलोक सहनीले बेगुसराय, मधुवनीको कुना–कुनाका गाउँहरूमा लहान आँखा अस्पतालमा जाने रिजर्भ गाडीको टिकट नै पाइने बताए । उनले भने, ‘उतातिर सबलाई यो अस्पतालको नाम पता छ ।’

भारतका विभिन्न ठाउँबाट कैलालीको गेटा आँखा अस्पतालमा उपचार गराउन आएका बिरामी ।

अस्पतालका प्रबन्धक अभिषेक रोशनले न्यून शुल्कमा भरपर्दो शल्यक्रिया र जाँच सुविधा दिएकै कारण भारतीयको पनि रोजाइमा अस्पताल परेको बताए । उनले अस्पतालमा आँखाको मोतियाबिन्दुको शल्यक्रिया नेपाली १ हजार २ सय रुपैयाँमा गर्दै आएको छ । यो भारत र नेपालका अन्य अस्पतालको तुलनामा न्यून शुल्क हो ।

भारतीयमाझ सगरमाथा चौधरी आँखा अस्पतालकै जस्तो ख्याति छ, ठोरी गाउँपालिकामा सञ्चालित आँखा अस्पतालको पनि । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा आउने कुल बिरामीमध्ये ८० प्रतिशत भारतीय छन् ।

२०७२ वैशाखदेखि सञ्चालनमा आएको यस अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले भने, ‘स्थापनाकालदेखि नै भारतीय बिरामीको आगमन नेपालीभन्दा बढी छ ।’

अस्पतालका चिकित्सक राजा हुसेन गर्मीको तुलनामा जाडो याममा भारतीय बिरामीको चाप बढी हुने गरेको बताउँछन् । ‘जाडोमा मोतियाबिन्दुको शल्यक्रिया बढी हुन्छ,’ उनले भने, ‘सीमावर्ती भारत बिहारका जिल्लाहरू पूर्वी र पश्चिमी चम्पारणमा आँखा अस्पताल नरहेको र आँखाको उपचार गर्न त्यस भेगका बासिन्दा मुजफ्फरपुर पुग्नुपर्ने भएकाले पनि सीमावर्ती भारतीय गाउँका बिरामीलाई नेपालको अस्पताल पायक पर्छ ।’

भारतीयको रोजाइमा यो अस्पताल पर्नुको मुख्य कारण भने कम शुल्कमा स्तरीय उपचार हो । डाक्टर हुसेनले भारतीय आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गर्न भारु ५ देखि ६ हजार रुपैयाँ लाग्ने, नेपालमा ४ देखि ५ हजारमै हुने बताए ।

भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमातहतको रण अम्बिका आँखा अस्पतालमा पनि भारतीय सेवाग्राहीको ठूलो चाप छ । भारतको देवरिया जिल्लास्थित उमानगर निवासी सञ्जय चतुर्वेदी २५ वर्षदेखि बायाँ आँखामा भाइरल इन्फेक्सनको समस्याबाट पीडित छन् । उपचारका लागि उनी घरदेखि करिब २ सय किमिको दूरीमा रहेको भैरहवा धाइरहेका छन् । आँखा उपचारका लागि उनी यति टाढा आउनुपर्ने कारणमा उनको घरनजिक वा भैरहवाभन्दा नजिकमा आँखा अस्पताल नभएर होइन, बरु सस्तोमा राम्रो उपचार भएर हो ।

संस्थानका सूचना अधिकारी प्रतीक पाण्डेका अनुसार एक समय यस अस्पतालमा आउने सेवाग्राहीमध्ये ९० प्रतिशतभन्दा धेरै भारतीय हुन्थे । उनले भने, ‘अहिले पनि कुल बिरामीमध्ये भारतीय नागरिक करिब ६५ प्रतिशतको हाराहारीमा देखिन्छन् ।’ उनले ९० प्रतिशतबाट अहिले भारतीय नागरिक ६५ प्रतिशत देखिनुमा भारतीय आँखाका बिरामीको आगमन घटेको नभई नेपाली बिरामीको चाप बढेको पाण्डेले बताए । भारतको बिहार, उत्तर प्रदेश, महाराष्ट्र, दिल्ली, पश्चिम बंगाल, नागाल्यान्ड र सिक्किमसम्मका सेवाग्राही यहाँ उपचार गर्न आउँछन् ।

अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले कोभिड संक्रमणको अवधिअघि संस्थामा उपचार गर्न आउने बिरामीको संख्या वार्षिक साढे २ लाखभन्दा धेरै रहेको र तीमध्ये ६५ प्रतिशतजति भारतीय नागरिक हुने गरेको बताए । ‘यस अस्पतालमा आँखाका सात वटा विधामा उपचार हुने गर्छ,’ रायमाझीले भने, ‘आधुनिक प्रविधि र उपकरणसहित सात वटा विधाको उपचार हुने आँखा अस्पताल लुम्बिनी प्रदेश र यस क्षेत्र आसपास अर्को रहेको थाहा छैन ।’

विराटनगरको रानीस्थित विराट आँखा अस्पतालमा रेटिना र मोतियाबिन्दुको शल्यक्रियापछि घर फर्कन लागेका भारत, अरुणाञ्चलका डिम्बेश्वर बडुवा ।

अस्पतालकी चिकित्सक सुशीला पटेलले भारतमा भन्दा नेपालमा उपचार खर्च सस्तो पर्ने र नेपालको अस्पताल विश्वासिलो भएकाले आँखा उपचारका लागि भारतीय बिरामी यहाँ आउने गरेको बताइन् । पटेलले भनिन्, ‘आँखाको नानी प्रत्यारोपण गर्न भारतमा ५० हजार रुपैयाँसम्म लाग्छ भने यता १६/१७ हजारमै हुन्छ ।’

आँखा परीक्षणको शुल्क एक सय रुपैयाँ मात्रै रहेको नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालमा दैनिक अढाई सयभन्दा बढी भारतीय नागरिक उपचारका लागि आइपुग्छन् । भारतको बहराइचबाट आएका मोहम्मद शेषले सस्तो भएकाले आफूहरू नेपालगन्ज नै आउने गरेको बताए । अस्पतालका अनुसार यहाँ भारतको बहराइच, गोन्डा, श्राबस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबंकी, लखनउ, फैजावाद, सुल्तानपुरलगायतका स्थानबाट दैनिक आँखाका बिरामी उपचार गराउन आइपुग्छन् । ‘आँखासम्बन्धी समस्याका विशेषज्ञमार्फत उपचार हुने भएकाले बिरामीको चाप यहाँ बढी हुने गरेको छ । त्यसैलाई मध्यनजर गरी नेत्र चिकित्सा शिक्षण संस्थाका रूपमा अस्पताललाई विकास गरेका छौं,’ अध्यक्ष डा. कौशलकुमार बर्माले भने, ‘हामीकहाँ उपचारका लागि आउनेमध्ये आधा भारतीय हुन्छन् । यहाँको गुणस्तरीय सेवाले भारतीय बढी प्रभावित हुने गरेका छन् ।’

कैलालीमै रहेको गेटा आँखा अस्पतालमा पनि भारतका विभिन्न जिल्लाबाट आएका बिरामीको बाक्लो उपस्थिति देखिन्छ । तिनैमध्येका एक हुन्, भारतको पिलिभितका ४५ वर्षीय बर्जन विश्वास । खेती किसानी गर्ने उनी अचानक आँखामा चोट लागेपछि उपचार गराउन ४ घण्टाको बस यात्रा गरेर गेटा आँखा अस्पताल आएका थिए । ढिलो गरी दिउँसोतिर मात्रै अस्पताल पुगेका भए पनि तुरुन्तै उपचार पाएकोमा खुसी थिए । भारतकै खिरी महादेव गाउँका चेतराम पनि सोमबार दिउँसो गेटा आँखा अस्पताल पुगेका थिए । उनी पनि एकै दिनमा उपचार पाएकोमा दंग देखिन्थे । ‘एक महिनाका लागि औषधि दिएको छ । अब भोलि बिहानै घर फर्किन्छु,’ आफ्नै भाषामा उनले भने, ‘यहाँ बहुत बढिया उपचार मिल्ता है ।’

लखिमपुर खिरी लालपुर मौजाका ६५ वर्षीय मतनु श्रीमतीको उपचारका लागि सोमबार गेटा आँखा अस्पताल पुगेका थिए । डाक्टरले मंगलबार शल्यक्रिया हुने बताएपछि साँझपख उनी अस्पतालको चौरमा रहेको रूखको छहारीमा बसेका थिए । उनीसँगै भारतको खिरीका विभिन्न ठाउँबाट आँखाको उपचार गर्न आएका ४० जनाभन्दा बढी अस्पतालभित्रको चौरमा समूह–समूहमा बसेका थिए । उनीहरूमध्ये धेरैजसोलाई आफ्नो गाउँदेखि कैलालीको धनगढीनजिकै गेटा आँखा अस्पताल पुग्न ५ घण्टा लाग्छ । आफ्नो गाउँदेखि करिब दुई घण्टाको दूरीमा पर्ने सीतापुरमा पनि आँखा अस्पताल भएको तर त्यहाँभन्दा गेटामै सस्तोमा राम्रो उपचार पाइने भएकाले उनीहरू यता आएका हुन् । ‘सीतापुरमा करिब १० हजार भारु खर्च लाग्ने उपचार गर्न यहाँ चार–पाँच हजार नेपालीमै हुन्छ,’ बर्जन विश्वासले भने, ‘हाम्रो गाउँ–ठाउँमा बुबाकै पालादेखि यतै राम्रो उपचार हुन्छ भन्ने विश्वास छ ।’

अस्पतालका आउटरिच अफिसर रमेशचन्द्र भट्टका अनुसार गेटा आँखा अस्पतालमा उपचार गराउने कुल बिरामीमा ४० प्रतिशत भारतीय बिरामी छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको ११ महिनामा ७५ हजार ६ सय जनाले उपचार लिएका छन् । तीमध्ये ३० हजारभन्दा बढी भारतीय छन् । गेटा आँखा अस्पताल प्रमुख डा. सुरेश पन्तका अनुसार भारतको लखिमपुर खिरी, सहाजहापुर, बरेली, पिलिभित, उद्यमशील नगर, रामपुर, मुरदावाद, दिल्ली, कोलकाता, पञ्जाबलगायतका ठाउँबाट भारतीय यहाँसम्म उपचार गराउन आइपुग्छन् ।

१५ जना विशेषज्ञसहित उपचारमा संलग्न १ सय ६० जनाको समूह रहेको नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित यस अस्पताल सुदूरपश्चिमकै सस्तोमा उपचार गर्ने राम्रो आँखा अस्पतालमा पर्छ । यस अस्पतालले सुदूरपश्चिमका ९ वटै जिल्लामा शाखा विस्तार गरेर सेवा दिँदै आएको छ । आउटरिच अफिसर भट्टले भारतमा कतिपय अस्पतालमा कम्तीमा पनि १० हजार भारु लाग्ने मोतियाबिन्दुको सम्पूर्ण उपचार यहाँ ४ हजारमै हुने भएकाले पनि भारतीयको आकर्षण रहेको बताए । ३ सय ५० शय्या रहेको यस अस्पतालमा शय्या शुल्क १ सय २० रुपैयाँ मात्र लिने गरेको अस्पतालको भनाइ छ ।

पर्वत पोर्तेल (झापा), विनोद भण्डारी (विराटनगर), भरत जर्घामगर (सिरहा), शंकर आचार्य (पर्सा), माधव ढुंगाना (भैरहवा), ठाकुरसिंह थारु (नेपालगन्ज) र अर्जुन शाह (धनगढी)

प्रकाशित : असार ३, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?