कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

एसपीपीबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानसेनापति

काठमाडौँ — सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीपीबारे छलफल गर्नका लागि बोलाएको हो । 

एसपीपीबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानसेनापति

समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन् । 'एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ । यसको आधिकारीक कुरा के हो ? यसमा सेनाको धारणा के हो ? सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के-के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौं,' उनले भनिन् ।

एसपीपीबारे जानकारीसहित आउन प्रधानसेनापतिलाई पत्राचार गरिएको सभापति खरेलको भनाइ थियो । शुक्रबारको बैठकमा 'विविध' कार्यसूचीअन्तर्गत एसपीपीको विषयमा छलफल हुने समितिले जानकारी दिएको छ । उक्त विषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ ।

समितिको शुक्रबारको बैठकमा नेपालको परराष्ट्र नीति र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल गर्नका लागि परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई पनि बोलाइएको छ ।

प्रकाशित : असार २, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?