कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जनप्रतिनिधिलाई एमाले अध्यक्ष ओलीले भने, ‘जीवनमरणको लडाइँ जितेर आउनुभयो, बधाई’ 

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा एमालेले जीवनमरणको लडाइँ लड्नु परे पनि प्रमुख राजनीतिक शक्तिकै रूपमा रहेको बताएका छन् । उनले जनप्रतिनिधिहरूलाई महासंग्राम जितेर आएको भन्दै बधाई दिए ।

जनप्रतिनिधिलाई एमाले अध्यक्ष ओलीले भने, ‘जीवनमरणको लडाइँ जितेर आउनुभयो, बधाई’ 

बिहीबार काठमाडौंमा भएको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि एमालेमाथि प्रतिक्रियावादीहरू एकजुट भएर निरन्तर आक्रमण गरिरहेको बताए ।

‘गएको डेढ दुई वर्षदेखि हामी चरम ढंगले ती जनविरोधी, देशविरोधी र स्थिरता विरोधीसँग जुध्नुपरिरहेको छ । हामीलाई पार्टीभित्रैका शक्तिहरूबाट संकट पैदा गरियो,’ उनले भने, ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको यो अवस्थामा तपाईहरू जितेर आउनुभएको छ, तपाईहरू महासंग्राम जितेर आउनुभएको छ, यो भनेको जीवनमरणको लडाइँ थियो । हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो, तर आज पनि हामी देशको प्रमुख राजनीतिक शक्ति हौँ । एमालेबाहेक अरुसँग राष्ट्र निर्माणको सम्बन्धमा कुनै भिजन नै छैन । सामाजिक परिवर्तन, रुपान्तरण र विकासको कुनै योजना छैन, नीति छैन । आज सिध्याइन्छ भनेको एमाले एक्लै एकातिर, अरु सबै अर्कोतिर भएका छन् ।’ अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप लगाए ।

‘चुनावमा पैसाको व्यापक वितरण भयो, राज्यशक्तिको दुरुपयोग भएको छ । हामीले लडेको चुनाव, चुनावमात्रै थिएन, एउटा अधिनायकवादविरुद्वको लडाइँ लडेर यहाँ आइपुगेका छौँ, सम्पूर्ण प्रतिक्रियावादी शक्तिहरू एकजुट भएर, प्रशासन प्रहरीको संरक्षणमा पैसा बाँडिएको, बुथ कब्जा गरिएको, मतगणना गरिएको, मतपेटिका फेरिएको स्थिति, यी सबै कुराको सामना गरेर विजयी भएर तपाईहरू आउनुभएको छ,’ ओलीले अघि भने, ‘त्यसकारण तपाईहरूलाई महासंग्राम जितेर आउनुभयो, बधाई भनेको हुँ ।’

प्रकाशित : असार २, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?