कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिनावारीमा कपको रोजाइ

सेनिटरी प्याडभन्दा कम खर्चिलो, प्रयोगमा बढी सहज र ‘डिस्पोज’ समस्या नपर्ने भएकाले कपप्रति आकर्षण बढ्दो
सीमा तामाङ

काठमाडौँ — ललितपुरस्थित बालकुमारीकी मनीषा महर्जनले सेनिटरी प्याडको सट्टामा मिन्स्ट्रुअल कप प्रयोग गर्न थालेको तीन वर्ष भइसक्यो । प्याडको तुलनामा सहज र कम खर्चिलो हुने भएकाले उनले कप प्रयोग गर्न थालेको सुनाइन् ।

महिनावारीमा कपको रोजाइ

‘तीन वर्ष पहिला ५ सय रुपैयाँमा कप लिएँ, त्यही अहिलेसम्म चलिरहेको छ, महिनैपिच्छे प्याड किन्नुपर्ने झन्झटबाट मुक्त भएँ,’ उनले भनिन् । कम खर्चिलो र वातावरणमैत्री भएकाले कप प्रयोग सहज भएको उनको भनाइ छ । प्याड प्रयोग गर्दा कहाँ र कसरी फाल्ने भन्ने चिन्ता हुन्छ । कप प्रयोग गर्दा त्यस्तो समस्या नहुने उनले सुनाइन् । कप प्रयोगकर्ताका लागि पर्याप्त मात्रामा पानी भएको शौचालय भने अत्यावश्यक हुन्छ ।

महिलाले महिनामा एक प्याकेट मात्रै प्याड प्रयोग गर्ने हो भने पनि वर्षमा ७० रुपैयाँका दरले ८४० रुपैयाँ खर्च हुन्छ । तर कहिलेकाहीं महिनामै २ प्याकेट आवश्यक पर्छ । प्याडका कारण हुने घमौरा वा खटिरा (र्‍यासेज), एलर्जीलगायत समस्याबाट समेत छुटकारा मिलेको प्रयोगकर्ताहरूले सुनाए । चिकित्सकहरू पनि सेनिटरी प्याडको विकल्प मिन्स्ट्रुअल कप रहेको बताउँछन् ।

पुरानो बानेश्वरकी ज्ञानु चौधरीले पनि कप प्रयोग गर्न थालेको ७ महिना पुग्यो । लकडाउनकै समयमा थाहा पाए पनि मानसिक रूपमा तयार हुन समय लागेको उनले सुनाइन् । सुरुमा कप प्रयोग गर्न कठिन भएको उनले सुनाइन् । ‘आत्तिन थाल्यौं भने पनि कप योनीमा छिराउन मुस्किल हुन्छ, तर सामान्य छौं, दिमागमा केही छैन भने सहजै हुन्छ,’ उनले भनिन्, ‘कप राम्ररी राख्न सक्यौं भने रगत बाहिर निस्कँदैन, प्याडभन्दा सजिलो हुन्छ ।’ प्याड प्रयोग गर्दा महिनावारी सकिएपछि सधैं चिलाउने समस्या हुन्थ्यो । कप प्रयोग गर्न थालेपछि त्यस्तो कुनै समस्या नभएको उनले सुनाइन् । ‘प्याड प्रयोग गर्दा लिकेजको र बाहिर सेप देखिन्छ भन्ने अनेक डर हुन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले न महिनावारीको तनाव न अन्य डर ।’

बजारमा धेरै थरीका मिन्स्ट्रुअल कप पाइने भएकाले राम्रो र गुणस्तरमा उपभोक्ताले ध्यान दिनुपर्ने प्रसूतिगृहका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बताए । कप किन्नुअघि कम्पनीका बारेमा जानकारी राख्नुपर्ने भन्दै उनले पहिलो पटक प्रयोग गर्दा नै संक्रमण भएको खण्डमा उक्त कपलाई निरन्तरता नदिन सुझाए । ‘केमिकलबाट नै कप बन्ने हो, त्यसैले छिटो संक्रमण हुने सम्भावना हुन्छ, पहिलो चोटि नै संक्रमण भयो भने अर्को कम्पनीको कप रोज्नुपर्छ,’ उनले भने, ‘महिनावारीको समयमा सरसफाइमा ध्यान दिनुपर्छ, प्रयोगकर्ताले कप निर्मलीकरण र सफाइमा अझै जोड दिनुपर्छ ।’

प्याडको विकल्पमा आजभोलि ट्याम्पोन र मिन्स्ट्रुअल कपको प्रयोग बढेको उनी सुनाउँछन् । गुणस्तरहीन प्याड वा सामान्य प्याड प्रयोग गर्दा योनी वरिपरि चिलाउने र सेतो पानी बग्नेलगायत समस्या लिएर आउने हुँदा महिलाहरूलाई कप प्रयोग गर्न सुझाव दिने गरेको उनले बताए । ‘मेरो अनुभवमा नेपाली बजारमा कप चल्न थालेको दुइचार वर्ष जति भयो, विदेश गएर फर्कने महिलाहरूले भने त्यसअघिदेखि नै प्रयोग गर्न थालेका हुन्,’ उनले भने । भन्सार विभागका तथ्यांकअनुसार पनि आर्थिक वर्ष ०७६/७७ देखि प्याडसँगै ट्याम्पोन, मिन्स्ट्रुअल कप भित्रिन थालेका हुन् ।

परम्परागत सुतीको कपडा, सेनिटरी प्याडको विकल्पमा अहिले ट्याम्पोन र मिन्स्ट्रुअल कप आइसकेका छन् । बंगलामुखी बस्ने अस्मिता बस्नेत कप प्रयोग गर्ने निर्णय ढिला गरेकोमा पछुतो गर्छिन् । उनले प्याड छोडेर कप रोजेको महिना दिन मात्र भएको सुनाइन् । तर पहिलो महिनामै सन्तुष्ट छिन् । ‘कप भनेको सुन्थे तर वास्ता गरिनँ, फेसबुकतिर धेरै आउन थालेपछि बल्ल चासो दिएँ,’ उनले भनिन्, ‘महिनावारी भएको पहिलो दिन राति मात्र प्रयोग गरे । लिकेज हुने, कपभित्रै हराउने हो कि भन्ने डरले रातभर सतायो ।’ दोस्रो दिनदेखि भने दिउँसो पनि प्रयोग गर्न थालेको र प्याडभन्दा सजिलो भएको उनले बताइन् । ‘कप प्रयोगले महिनावारीको बेलामा हुने दुखाइ कम भएको महसुस भएको छ,’ उनले भनिन् ।

सेनिटरी प्याड किनारा पसलदेखि अस्पतालसम्म किन्न पाइए पनि मिन्स्ट्रुअल कप अनलाइनमा मात्र सीमित छ । बजारमा मिन्स्ट्रुअल कप मात्र बेच्ने फेसबुक, इन्स्ट्राग्राम पेजदेखि इ–कमर्स साइटहरू छन् । ग्लो गेटर वर्ल्ड, सिरोना हाइजिन, द भी कप, स्मार्ट कप, पी सेफ, पुतली नेपालदेखि दराज, ग्यापुलगायतमा मिन्स्ट्रुअल कप पाइन्छन् । त्यस्तै स्वदेशी प्याड उद्योगले समेत आयातित कप बेच्न थालेका छन् । सेफ्टी ब्रान्डका जास्मिन हाइजिनले पनि आयातित मिन्स्ट्रुअल कप बेच्ने थालेको २ वर्ष भयो । उपभोक्ताले खोज्न थालेपछि बजार बुझ्नकै लागि भए पनि कप बेच्न सुरु गरेको जास्मिन हाइजिनका प्रबन्ध निर्देशक पुनित सदाले बताए । ‘हाइजिनमा प्याड मात्र हुँदैन, बेबी डाइपर, एडल्ट डाइपर, बेब वाइप्स, पेन्टीलाइनर, फेसमास्कलगायत कप पनि पर्छन्,’ उनले भने, ‘त्यसैले एकै पटक लगानी गर्नभन्दा नि बजार बुझ्नकै लागि पनि चीनबाट कप आयात गरेर बेच्न थालेका हौं ।’

कम्पनीको हालसम्म जम्मा २ सय जना कप प्रयोगकर्ता रहेको उनले सुनाए । अहिले महिलाहरू कपप्रति जागरुक हुन थाले पनि प्रयोगमा भने हिचकिचाइरहेका उनको भनाइ छ । कपको बजार बिस्तारै बढ्दै गएको खण्डमा व्यवसायीहरू लगानी गर्न इच्छुक हुने भए पनि सरकारको नीतिले गर्दा हतोत्साही भएको उनले बताए । प्याडकै उद्योग बन्द हुने स्थितिमा पुग्दा बजार भए पनि लगानी गर्न खोज्ने अवस्था नरहेको उनले सुनाए ।

प्रकाशित : असार २, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?