चुनावमा भएका घात/अन्तर्घातबारे गम्भीर समीक्षा भइरहेको छ : उपमहासचिव ज्ञवाली

'नेपाललाई नजानिँदो तरिकाले भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम भएकोमा चिन्ता प्रकट भएको छ'

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वैशाखमा सम्पन्न स्थानीय चुनावको नतिजाबारे पार्टीमा गम्भीर समीक्षा भइरहेको बताएका छन् । सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकका निर्णयबारे जानकारी दिँदै चुनावी परिणामबारे पार्टीमा गम्भीर समीक्षा भइरहेको बताएका हुन् । सत्ता गठबन्धनबाट चौतर्फी घेराबन्दीका बाबजुद पनि एमाले लोकप्रिय मतका आधारमा अग्रस्थानमा रहेको उनले बताए । 

चुनावमा भएका घात/अन्तर्घातबारे गम्भीर समीक्षा भइरहेको छ : उपमहासचिव ज्ञवाली

सोमबार बसेको सचिवालय बैठकमा समेत यसबारेमा छलफल भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसपटक गठबन्धनले सत्ताको दुरुपयोग गरेका कारण पनि चुनावी नतिजा आफूहरूले सोचेजस्तो नआएको पार्टीको निष्कर्ष रहेको उनले बताए । 'यस पटक स्वस्थ र मर्यादित निष्पक्ष भएन चुनाव । जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशानिर्देशित भएको देखियो,' ज्ञवाली भने, 'परिणामलाई हामीले दुई तरिकाले हेरेका छौँ । अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमा २०७४ सालमा जस्तो नतिजा आएको छैन तर पपुलर मतका हिसाबले हामी ३४ प्रतिशतसहित सबैभन्दा अगाडि छौँ ।'

चुनावी नतिजा बाह्य र आन्तरिक कारण अपेक्षा गरेअनुरूप भने नआएको उनको भनाइ थियो । 'प्रमुखहरूमा भने हामीले अपेक्षा गरेका भन्दा कम हो । यसमा गम्भीर समीक्षा गरेका छौँ । यसमा बाह्य र आन्तरिक दुवै कारण छन् । कतिपय स्थानमा उम्मेदवारी घोषणामा ढिलाइ र कतिपय स्थानमा उम्मेदवार चयनमा पनि समस्या देखिएका छन् । कतिपय स्थानमा घात अन्तर्घात पनि भएका छन्,' उनले भने ।

उपमहासचिव ज्ञवालीले अन्तर्घात र असमझदारी पनि छुट्याइने पनि जानकारी दिए । 'हामीले कुनचाहिँ अन्तर्घात हो र कुनचाहिँ असमझदारी हो भन्ने छुट्याउँछौँ । जिल्ला, पालिका र वडा तहमा पनि गम्भीर समीक्षा हुने छ । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको तयारीमा लाग्छौँ,' उनले भने ।

त्यस्तै निर्वाचनका परिणामलाई लिएर पार्टीको मूल नेतृत्वप्रति अनास्था उत्पन्न हुने गरी आएका नेताका अभिव्यक्तिबारे पनि छलफल भएको उनले बताए । केही दिनअघि नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । तर सोमबारको बैठकमा भूसालमाथिको कारबाहीबारे के छलफल भयो भन्नेचाहिँ ज्ञवालीले खुलाएनन् ।

त्यस्तै बैठकमा राष्ट्रिय राजनीतिका विभिन्न आयामबारे छलफल भएको पनि ज्ञवालीले बताए । परराष्ट्र नीति खलबलिँदै गएकोमा बैठकमा चिन्ता प्रकट भएको उनले बताए । 'परराष्ट्र नीति खलबलिँदो छ, नेपाललाई नजानिँदो तरिकाले भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम भएकोमा चिन्ता प्रकट भएको छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डतामाथि आँच आउन नदिनका लागि पार्टीले अझै सशक्त रूपमा भूमिका खेल्ने विषयमा सोमबारको बैठकमा छलफल भएको छ,' उनले भने ।

प्रकाशित : जेष्ठ ३०, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?