२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

३० वर्षमा ६४ गुणाले फैलियो मिचाहा पाती झार

पाती झारको अनुसन्धानका लागि नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार
गोविन्द पोखरेल

काठमाडौँ — हेर्दा, तीतेपाती जस्तै देखिन्छ । झुप्पा परेको सेतो फूल । २ मिटरसम्मको उचाइमा वर्षभरि फुल्छ । बिउचाहिँ काला र मसिना छन् । खेतबारी, सार्वजनिक स्थान,चौर, खुला क्षेत्र, नदी उकास क्षेत्र जताततै देखिन्छ । फैलावट यति तीव्र छ कि सावर्जनिक वा खाली जग्गामा झपक्कै उम्रिएको देखिन्छ । यसबाट निस्कने ‘एलोपेथिक रसायन’ ले माटोको अम्लियपनालाई फेरबदल गर्दै अन्य बिरुवा उम्रन पाउँदैनन् ।

३० वर्षमा ६४ गुणाले फैलियो मिचाहा पाती झार

‘पार्थेनियम हिस्टेरोफोरस’ भनिने पाती झार अचेल नेपालका हरेक जसो खुला ठाउँमा छ्याप्छ्याप्ती देखिन थालेको छ । कृषि, मानव स्वास्थ्य र गाईवस्तुलाई समेत असर गर्ने यो झारलाई सन् २०१८मा आईयूसीएनले ‘संसारका सय खतरनाक मिचाहा झार’को सूचीमा राखिदियो । दक्षिण अमेरिकामा पाइने यो झार नेपालमा सन् १९६७मा भारत हुँदै आएको रेकर्ड भएको थियो । भारतको कोलकाता हुँदै नेपाल आइपुगेको यो झार काठमाडौं उपत्यकामा सन् १९९० मा आइपुग्यो । त्यसयता यो झारले रैथाने वनस्पतिको अस्तित्वमा धावा बोल्दै फैलिरहेको छ ।

यही झारको अनुसन्धान र नियन्त्रणमा विद्यावारिधि गरेर यसको नियन्त्रण र अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै एक नेपाली महिला वैज्ञानिकलाई अमेरिकी अवार्ड दिइएको छ । अमेरिकी राष्ट्रपतिले खाद्य तथा कृषि सुरक्षाका लागि भनेर गठन गरेको ७ सदस्यीय विज्ञ सल्लाहकार समिति बिफाड (बोर्ड फर इन्टरनेसनल फुड एन्ड एग्रिकल्चर डेभ्लप्मेन्ट) को अवार्ड २०२१ मा नेपालकी महिला अनुसन्धानकर्ता सीर्जना महर्जनले पाएकी हुन्। बिफाडले ‘स्टुडेन्ट रिर्सच क्याटेगरी’मा महर्जनलाई सन् २०२१को अवार्ड दिने निर्णय गरेको हो । वनस्पति विभागमा सहायक वैज्ञानिक अधिकृतको रुपमा कार्यरत महर्जनले सन् २०२१मा विद्यावारिधि पूरा गरेकी हुन् ।

रसुवाको टिमुरेदेखि दार्चुलासम्म भेटिएको यो मिचाहा झार अहिले नेपालका लागि ‘टाउको दुखाइ’को विषय बनेको छ । वनस्पति विभागले पनि यो झारलाई ‘नेपालमा फैलिएका खतरनाक बाहृय मिचाहा प्रजाति’को सूचीमा रखेको छ । तराईका सबैजसो जिल्लामा फैलिएको यो झार पहाडी जिल्लाहरुमा फैलिने क्रममा रहेको अनुसन्धान कर्ता महर्जनले बताइन् ।

अनुसन्धानकर्ता महर्जन

‘जर्नल अफ माउन्टेन साइन्स’मा महर्जनको प्रकाशित अनुसन्धानात्मक पेपरमा अहिलेकै अवस्थाको तापक्रम बढ्न हो भने यसको फैलावट २० प्रतिशत क्षेत्रमा पुग्ने उल्लेख छ । ‘म्याक्सेन्ट मोडलिङ विधि’ मार्फत् उनले गरेको उक्त अनुसन्धानले सन् २०५०मा अहिलेको अवस्थाअनुसार यो प्रजातिको क्षेत्र १० प्रतिशतले बढ्ने देखिएको छ ।

०००

दक्षिण अमेरिकाबाट पाती झारको सन् १८१०मा भारतको कोलकातास्थित रोयल बोटानिकल गार्डेनबाट गरिएको थियो । पछि सन् १९५६मा भारतका विभिन्न स्थानमा फैलिएको उल्लेख छ । भारतमा फैलावट हुन थालेको ११ वर्षपछि अर्थात सन् १९६७मा नेपाल यो प्रजाति अभिलेख भएको आईयूसीएन नेपालले सन् २००५मा प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ ।

यो झारको फैलावट सन् १९९० पछि हेर्ने हो यसको वृद्धिदर ६३ गुणाले फैलिएको पाइएको छ । सन् १९९० मा ६.४ वर्ग किलोमिटर क्षेत्रमा मात्रै भेटिएको पाती झार सन् २०१८मा ४०५ वर्गकिलोमिटर क्षेत्रफलमा भेटिएको छ । महर्जनको अनुसन्धानले चितवन अन्नपूर्ण क्षेत्रमा यो झार सन् १९९०मा ६.४ वर्ग किलोमिटर, सन् २०००मा २४.५ वर्ग किलोमिटर, सन् २०१०मा २८३ वर्ग किलोमिटर, सन् २०१८मा ४०५ वर्ग किलोमिटरमा फैलिएको देखाएको छ ।

यो झारलाई विशेषगरी गाईभैंसीभन्दा बाख्राले धेरै खान्छ । यसले श्वासप्रश्वास नलीमा पनि असर गर्ने विज्ञहरुले जनाएका छन् । झारका ‘अनसिन हेल्थ इफेक्ट’ हुने विज्ञहरुले बताएका छन् । सिजनमा रुघा खोकी लाग्ने, आँखा चिलाउने, जिउ चिलाउने जस्ता एलर्जी यसका पराग(पोलेन)ले गर्ने अनुसन्धानकर्ता महर्जनले बताइन् । पार्थेनियममा पाइने ‘पार्थेनिन’ रसायनले स्वास्थ्यलाई असर गर्छ । जसले गर्दा गाई/बाख्राको दूध तितो हुने, मासुमा असर गर्ने, गन्हाउने जस्ता समस्या देखिन्छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले एउटा पार्थेनियम झारको माटोमा रहने बिउ ‘स्वाइल सिड’ २५ हजारवटासम्म भेटिएको छ । महर्जनले यो झारको फैलावट, यसको नियन्त्रणका लागि प्रयोग गर्नुपर्ने जैविक उपायको अनुसन्धानलाई आधार मान्दै बिफाड अवार्ड–२०२१ पाएकी हुन् ।

ढुसी लागेको पाती झार ।

उनले यो झार नियन्त्रणका लागि नेपालमा दुई वटा जैविक उपाय प्रभावकारी हुन सक्ने जनाएकी छन् । ढुसी र खबटे किराको प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको अनुसन्धानले देखाएको छ । उनको अनुसन्धानले किराहरू आउने समयअघि ढुसीलाई प्रयोग गर्न सकियो भने नियन्त्रण गर्न सकिने देखाउँछ । यस्तै, तराई तथा गर्मी क्षेत्रमा किराको प्रयोग र जाडो/ओसिलो क्षेत्रमा ढुसीको प्रयोग गरेर यो झारको फैलावटबाट रोक्न सकिने महर्जनको अनुसन्धानमा उल्लेख छ ।

०००

पाती झारलाई ‘जाइगोग्रामा बाइकोलोरटा प्यालिस्टर(लिफ इटिङ बिटल)’ भनिने एक प्रकारको खबटे किरा र विन्टर रस्ट समेत भनिने ‘पक्सिनिया’ ढुसीको माध्यमबाट नियन्त्रण गर्न सकिने उनको अनुसन्धानमा उल्लेख छ । यो ढुसी र किरा यी झारमा आश्रित हुन्छन् ।

खबटे किराको अवस्थाबारे उनले हेटौंडा र काठमाडौंमा अध्ययन गरेकी थिइन् । किराले झारको ‘बायोमास’ र उचाइ घटाइदिएको उनको अनुसन्धानले देखाएको छ । ‘विशेष गरेर यसले तराई क्षेत्रमा बढी मिचाहा झारलाई खाएको र असर गरेको देखिन्छ ट्रोपिकल क्लाइमटेमा बिटलको एक्टिभिटी हाइ देखियो, अनि टम्प्रेटमा कम,’ महजर्नले कान्तिपुरसित भनिन् । उनको यो वैज्ञानिक आलेख नास्टको जर्नलमा प्रकाशित छ । जुन अनुसन्धानले गर्मी ठाउँमा किराको प्रयोग गर्ने र अलिक चिसो/ओसिलो क्षेत्रमा ढुसीको प्रयोग गर्न सुझाव दिएको छ ।

विन्टर रस्ट समेत भनिने ‘पक्सिनिया’ ढुसीले मिचाहा झारलाई धेरै असर गरेको देखिन्छ । उपत्यकामा उनले गरेको अनुसन्धानले झारलाई नियन्त्रणमा गरेको देखिन्छ । यो ढुसीका कारणले गर्दा बिउ उत्पादन कम भएको पाइएको छ । जसमा यो ढुसीले झारको बायोमासलाई ४७ प्रतिशतले घटाइदिएको छ । यो ढुसी पाती झार भएको ९८ प्रतिशत ठाउँमा भेटिएको थियो । यो ढुसीले बिरुवाको वृद्धि विकासमा असर गर्छ । ढुसीको असरबारे उनले गरेको अनुसन्धान जर्नल अफ इकोलोजी एन्ड इन्भारोन्मेन्टमा प्रकाशित छ ।

किरा प्रयोग गरेर नियन्त्रण गर्न सकिने सम्बन्धमा थप अनुसन्धान गर्दै नार्क

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यो झार नियन्त्रणका लागि ढुसी र किरा प्रयोग कसरी गर्ने सम्बन्धमा विस्तृत अनुसन्धान गरिरहेको छ । नार्कका वरिष्ठ वैज्ञानिक अजय श्रीरत्न बज्राचार्यले किरालाई प्राकृतिक र मावननिर्मित वातावरणमा बिरुवामा पठाएर अनुसन्धान गरेका थिए । हरेक एक वर्ग मिटरमा किराहरु छाडेर गरिएको अनुसन्धानमा किराले झारलाई खाएको र नियन्त्रण गर्ने सक्ने निचोड निकालिएको थियो ।

एउटा बिरुवामा यो किरा ३० देखि ४० हजार वटासम्मको संख्यामा नार्कका वैज्ञानिकहरुले पाएका थिए । फूल फुल्ने समयभन्दा अघिको अवस्थामा किरालाई छाड्दा यो मिचाहा झार नियन्त्रण गर्न सकिने उनीहरुको अनुसन्धानले देखाएको छ । ‘ल्याबबाट उत्पादित यो खबटे किरालाई ठूलो मात्रामा प्रयोग गर्न सकियो भने नियन्त्रण गर्न सकिन्छ,’ वरिष्ठ वैज्ञानिक बज्राचार्यले कान्तिपुरसित भने ।

पाती झार ।

यो खपटे किरा पनि भारत हुँदै नेपालमा आएको मानिन्छ । भारतले यो मिचाहा झार नियन्त्रणका लागि भनेर सन् १९८३मा मेक्सिकोबाट ल्याएको बज्राचार्यले जानकारी दिए । विभिन्न माध्यम हुँदै किरा पनि झारमा आएको हुन सक्ने उनले औंल्याए । खबटे किराले यही मिचाहा झारमा मात्रै आफ्नो ४५ दिनको जीवनचक्र पूरा गर्छ ।

वैज्ञानिकहरूका अनुसार यो किराको विशेषता भनेको पार्थेनियम झारमा मात्रै आफ्नो जीवन चक्र सम्पन्न गर्नु हो । यो किराको मोबिलिटी भने धेरै कम रहेको वैज्ञानिकहरुले बताएका छन् ।

महर्जनको अनुसन्धानले मिचाहा झारलाई फैलावट हुन नदिनका लागि नियन्त्रण समन्वय आवश्यक रहेको सुझाव दिएको छ । ल्याबमा कल्चर गरेर किराको उत्पादन गरी छाडिदिने र ढुसी पनि उत्पादन गरेर स्प्रे गरी बिरुवाहरुमा छर्कन सके नियन्त्रण गर्न सकिने उनको अनुसन्धानको सुझाव छ ।

तस्बिरहरु सौजन्यः सिर्जना महर्जन

प्रकाशित : जेष्ठ ३०, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?