रातारात करका दर हेरफेरबारे एमालेद्वारा अर्थमन्त्रीको स्पष्टीकरण माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातारात करका दर हेरफेरबारे एमालेद्वारा अर्थमन्त्रीको स्पष्टीकरण माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् । 

फाइल तस्बिर ।

सांसद भट्टराईले भने, 'विगतका बैठकहरूमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा राजस्वका दर, भन्सार र करमा भएका कतिपय प्रावधानमा टिप्पणी गर्दै आएका छौं । आजका सञ्चार माध्यमहरूले उक्त विषयलाई गम्भीरताका साथ उठाएको छ । यसको म सभामुखमार्फत त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'

सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको; स्वास्थ्य बिमा किन प्राइभेट कम्पनीलाई दिइँदैछ; जुत्ता र स्यानिटरी प्याडमा कर किन लगाइयो भनेर प्रश्न उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो ।

'कुनै अमूक व्यक्तिलाई अर्थमन्त्रीले अर्थमन्त्रालयमा बोलाउनुभयो । कार्यकक्षमा भएका अर्थमन्त्रालयका सचिव, राजस्वका सचिव, बजेट शाखा प्रमुखलगायतलाई उहाँले ती व्यक्तिको भनाइ नै आफ्नो भएको भन्नुभयो । मध्यरातमा अर्कै व्यक्तिको माध्यमबाट कर, भन्सार र राजस्वका दरमाथि तलमाथि गर्न खोजेर के गर्न खोजिएको हो,' उनले सोधे, 'पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाएका हुन्छौं । बजेट निर्माणको एक प्रक्रिया छ । बजेट निर्माणको १ महिना अगाडिदेखि बजेट शाखामा र अर्थ मन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइँदैन तर यो राष्ट्रका नाममा खाएको शपथको खिलाफ हो । यो राष्ट्रघात पनि हो ।' त्यसरी बजेटमा गरिएको हेरफेरले स्वदेशी उद्योग धराशायी भएको उनको भनाइ थियो ।

सञ्चारमाध्यममा आएका ती विषयमा अर्थमन्त्री शर्माले जवाफ दिनुपर्ने भट्टराईको माग थियो । 'अर्थमन्त्रीले यसको स्पष्टीकरण दिनुपर्छ भन्ने माग गर्दछु । यसमा प्रधानमन्त्रीको र सत्तारुढ दलका भनाइ के छ ?,' उनले संसद्को पनि ध्यानाकर्षण हुनुपर्ने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा विपद् रोकथाम पूर्वाभ्यास

डीबी बुढा

जुम्ला — वर्षायाम सुरु हुनै लाग्दा जुम्लाको चन्दननाथ नगरपालिकामा विपद्‌बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ । सुरक्षाकर्मीहरूले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकाहरूसम्म सिकाएका हुन् । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेका हुन् । जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताइन् ।

उनले भनिन्,‘विपद् कसैलाई साधेर आउने होइन । एक्कासी आइपर्ने भएकाले पूर्वसावधानीका विषयमा सबै चनाखो बन्नु पर्ने देखिन्छ ।’ जुम्ला पनि विपद् प्रकोपको उच्च जोखिममा छ । जुनसुकै समयमा विपद् आइपर्न सक्छ । उनले भनिन्,‘समुदायस्तरमा व्यावहारिक अभ्यास गराएर सिमुलेसन गराउँदा आफैं पनि गर्न सकिने अवस्था रहन्छ ।’ सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गरेको, नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।

अभ्यासमा स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय समुदायको सहभागिता थियो । बिना कुनै सूचना आउने विपद्‌ले धेरै मानवीय र धनजनको क्षति निम्त्याउँछ । विपद्‌को रोकथाम, विपद्‌को समयमा उद्धार तथा विपद्पछि गरिने काम कारबाहीमा सदैव तयारी हालतमा रहनुपर्ने सुरक्षाकर्मीहरूले बताएका छन् ।

अभ्यास स्थलमा आधारभूत व्यवस्थापन टिम, रुट रेक्की टिम, रेस्क्युअर, मेडिकल टिम खटिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×