१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ओलीका तीन रणनीति

अन्तरघातको समीक्षा गर्दै आन्तरिक भूमिका हेरफेर
सत्ता गठबन्धन भत्काउन मूल नेतृत्व वा असन्तुष्ट नेतासँग संवाद
यही गठबन्धन कायम रहे सरकारबाहिरका शक्तिसँग तालमेल 
स्थानीय निर्वाचनबाट दोस्रो शक्तिमा खुम्चिएपछि त्यसको समीक्षा र आगामी निर्वाचनकेन्द्रित रणनीति तय गर्दै एमाले
बबिता शर्मा

काठमाडौँ — स्थानीय निर्वाचन परिणामबाट झस्किएका एमाले आन्तरिक समीक्षामा जुटेको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा ०७४ को विरासत गुमेपछि एमालेले समीक्षासहित आगामी निर्वाचनकेन्द्रित रणनीति तय गर्न सोमबार सचिवालय बैठक बोलाएको छ ।

ओलीका तीन रणनीति

स्थानीय निर्वाचनको मतगणना भइरहेका बेला धाँधली भएको दाबी गरेको एमाले अहिले भने अन्तरघात नै हारको कारण भन्ने चरणमा पुगेको छ । अबको रणनीति बनाउन अध्यक्ष केपी शर्मा ओलीले विभिन्न औपचारिक–अनौपचारिक संयन्त्र र भेटघाटमा छन् ।

निकट नेताहरूका अनुसार आसन्न निर्वाचनलाई मध्यनजर गरेर ओली अहिले मूलतः तीनवटा रणनीति निर्माणमा केन्द्रित छन् । ती नेताका अनुसार निर्वाचनमा पराजय व्यहोर्नुको कारणबारे ओलीले देशभरबाट आफैं सूचना संकलन गरेका छन्, त्यसलाई आधार बनाएर पार्टीको आन्तरिक समीकरण र भूमिका हेरफेर गर्ने पहिलो रणनीति छ । नेताहरूका अनुसार ओली पार्टीभित्रैको घातबाट बढी चिन्तित छन् । यतिसम्म कि आफूले जसरी पनि जित्ने आकलन गरेका महानगर भरतपुर र पोखरामै अन्तरघात भएपछि उनलाई झड्का लागेको छ । संघीय र प्रदेश निर्वाचनमा यस्तै प्रवृत्ति नदोहोरियोस् भनेर उनले अन्तरघातबारे समग्र ‘रिपोर्टिङ’ लिएका छन् ।

एमालेको निर्वाचन विभागले देशभरको चुनावी समीक्षा गर्दै प्रतिवेदन तयार गरेको छ । उपमहासचिव एवं निर्वाचन विभागका प्रमुख विष्णु रिमालले प्रतिवेदन ओलीलाई बुझाइसकेका छन् । विभागका उपप्रमुख नीरज आचार्यका अनुसार अध्यक्ष ओलीसँग परामर्श गर्दै प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुने भएको छ । प्रतिवेदनमा विभिन्न ठाउँमा भएका अन्तरघात र हारका कारण सम्बन्धित विषय मुख्य गरी समेटिएका छन् । अन्तरघात र नेतृत्वविरुद्धको अभिव्यक्ति कारबाहीको विषय हुन सक्छ भनेर ओलीले पार्टीको अनुशासन आयोगमार्फत स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न लगाएर अन्य नेतालाई पनि सन्देश दिन खोजेका छन् ।

नेताहरूका अनुसार ओलीको दोस्रो रणनीति अहिलेको गठबन्धन भत्काएर निर्वाचनमा जाने छ । एमाले उच्च स्रोतका अनुसार ओलीले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय अध्यक्ष बाबुराम भट्टराईलाई समेत सन्देश दिएका छन् । अहिले नै दाहाल र नेपाललाई फकाउन नसकिए पनि एकीकृत समाजवादीका झलनाथ खनाल, जनता समाजवादीका भट्टराई र माओवादीका नारायणकाजी श्रेष्ठलाई फकाउन ओलीको प्रयत्न छ, तर उनको प्रयास अर्थपूर्ण बन्न नसकेको एमाले नेताहरूकै भनाइ छ ।

दाहाल र नेपालले भने आफूहरूलाई प्रधानमन्त्रीको अफर आएको सार्वजनिक रूपमा बताइसकेका छन् । भट्टराई भने यसबारे केही बोलेका छैनन् तर शुक्रबार विराटनगर पुगेका ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन् । ‘तत्काल गठबन्धन भत्काउने सबैभन्दा ठूलो हतियार त्यहींभित्र रहेका दलका नेताहरूसँग संवाद गर्ने हो,’ ओलीनिकट एक नेता भन्छन्, ‘कारणवश गठबन्धन सरकार अल्पमतमा पर्‍यो भने राष्ट्रपति कार्यालयबाट नयाँ सरकार गठनमा सहयोग हुने विश्वास अध्यक्षमा देखिन्छ । नयाँ सरकार बनेन भने पनि गठबन्धन टुट्छ र त्यसको लाभ निर्वाचनमा हुन्छ भन्ने उहाँको बुझाइ छ ।’

संसदीय निर्वाचनमा जानुअघि वाम गठबन्धन बनाउन कतिपय नेताले ओलीलाई सुझाव दिएका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र दसबुँदे सहमतिमार्फत एमालेमा रहेका नेताहरू वाम गठबन्धनको पक्षमा छन् तर यसलाई ओलीले प्राथमिकतामा राखेका छैनन् ।

‘उहाँले गम्भीर भएर गठबन्धन तोडौं र एकता नभए पनि मिलेर जाऔं भनेर प्रस्ताव गर्ने हो भने प्रचण्डले मान्ने सम्भावना छ किनभने कांग्रेससँगको गठबन्धनबाट माओवादी त्यति खुसी देखिँदैन, त्यसको फाइदा लिने बेला नै यही हो,’ एमालेका एक नेता भन्छन्, ‘तर अध्यक्ष (ओली) का वरिपरि घुम्नेहरूले अहिले पनि पाँचदलीय गठबन्धनलाई हामी पराजित गर्न सक्छौं, अब हामीले माओवादीलाई साथमा लिन हुन्न भनिरहेका छन् । गठबन्धनले पसिनैपसिना गराइदिएको थाहा छैन तर तिनै वरिपरि घुम्नेका कुरा सुनेर अध्यक्षले गठबन्धन हाम्रो घुँडाघुँडा पनि आउँदैन भन्दै हुनुहुन्छ ।’

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमाले गठबन्धनको पक्षमा नरहेको दाबी गर्छन् । ‘सबैभन्दा पहिला त यो गठबन्धन मुलुकको हितमा छ कि छैन ? कम्युनिस्ट आन्दोलनको हितमा हुन्छ कि हुँदैन । गठबन्धनमा सरिक हुनेहरूले आत्मसमीक्षा गर्नुहुन्छ कि हुँदैन ? यो कुराको हल नभई हामी अगाडि बढ्न सकिन्न,’ उनी भन्छन् ।

कांग्रेसबाट धोका पाएका दलहरूले कस्तो समीक्षा गर्छन् भन्ने उनीहरूकै विषय भएको पोखरेलको भनाइ छ । ‘यो गठबन्धनको अभ्यासमा कांग्रेस काँक्रो आफू खाएर बियाँ अर्काको गालामा टाँसिदिने छट्टुजस्तो देखापर्‍यो, गठबन्धनमा आबद्ध भएकाहरूले यो कति बुझ्छन्, अर्को कुरा भयो,’ उनी भन्छन्, ‘तर हामीविरुद्ध पाँचदलीय गठबन्धन हुँदा पनि लोकप्रिय मतको हिसाबले हामी अगाडि छौं, हामी यसबारे वस्तुनिष्ठ समीक्षा गर्छौं । साथै आगामी निर्वाचनसँग सम्बन्धित भएर कामको योजना बनाउँछौं ।’

दाहाल र नेपालले पनि अहिलेकै गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्म जाने बताइसकेका छन् । जसपा भने विभाजननजिक छ । स्थानीय तह निर्वाचनको मतपरिणामलाई लिएर गठबन्धनमा आबद्ध एकीकृत समाजवादी र माओवादीका केही नेताले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । जसपा विभाजन हुँदा त्यसको एउटा पक्षसँग सहकार्य र एकीकृत समाजवादीभित्रको असन्तुष्टिको फाइदा लिन सकिने एमालेको आस छ ।

पाँचदलीय गठबन्धन भत्काउन नसके अन्य शक्तिलाई समेटेर तालमेलसहित निर्वाचनमा जाने ओलीको अर्को रणनीति छ । नेताहरूका अनुसार त्यसका लागि पनि विभिन्न तहमा अनौपचारिक कुराकानी भइरहेको छ । स्थानीय निर्वाचनमा लोसपा, राप्रपा नेपाल, राप्रपा, परिवार दल, जनमुक्ति पार्टीलगायतसँग विभिन्न ठाउँमा एमालेले तालमेल गरेको थियो । संसदीय निर्वाचनमा पनि पराजय व्यहोर्नुपर्‍यो भने धेरै संवैधानिक पद गुम्न सक्ने भय ओलीमा छ । निर्वाचनपछि विपक्षमा बस्नुपरे एमालेले सरकारमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख–उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि गुमाउन सक्छ । प्रदेशमा पनि सबै मुख्यमन्त्री गुमाउनुपर्ने अवस्था आउन सक्छ । ०७४ को निर्वाचनपछि एमालेले राष्ट्रपति, प्रधानमन्त्री र चार प्रदेशमा मुख्यमन्त्री लिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?