कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुन देशमा कसरी गरिन्छ फोहोर विसर्जन ?

गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौंका सडकमा फोहोर उठेन भने चोकभरी असरल्ल देखिन्छ । गत फागुनदेखि पटकपटक फोहोर फाल्ने ल्याण्डफिल साइट बन्द हुँदा काठमाडौंमा थुप्रिएको फोहोर बल्ल बल्ल उठाउन थालिएको छ । सबै प्रकारको फोहोर एकैठाउँमा थुपारिँदा फोहोरबाट दर्गन्ध फैलने सक्ने र स्वास्थ्य जोखिमको सम्भावना पनि उत्तिकै छ ।

कुन देशमा कसरी गरिन्छ फोहोर विसर्जन ?

काठमाडौंभन्दा धेरै गुणा बढी फोहोर संकलन हुने जापानको टोकियो, दक्षिण कोरियाको सोल, अमेरिकाको न्यूयोर्कलगायतका सहरहरुमा भने फोहोर नियमित उठ्छ र दुर्गन्ध फैलिएर हैजाको जोखिम हुने जस्ता खबरहरु आउदैनन् ।

फोहोर व्यवस्थापमा सफलता हासिल गरेका विश्वका अधिकांश मुलुकहरुको अवस्था हेर्ने हो भने उनीहरुले स्रोतबाटै फोहोर उत्पादन गर्न निरुत्साहित गर्ने र वर्गीकरण गर्ने गर्छन् । कुहिने फोहोरलाई मल बनाउने, फोहोरलाई छुट्याउने , पुन:प्रयोग गर्ने,जलाउने अनि ल्यान्डफिलमा लैजाने गरेका उदाहरणहरु पाउन सकिन्छ । कतिपय मुलुकहरुमा विद्युत प्रयोगको आधारमा फोहोरको शुल्क लिने गरिएको छ । कुनै मुलुकहरुमा फोहोर संकलन गर्ने झोला वितरण गर्ने र त्यही झोलामा फोहोर हाल्नुपर्ने नियम बनाइएको छ । उक्त झोलामा नहालेको फोहोर उठाइदैन पनि ।

जापानको राजधानी टोकियामा दैनिक ८ हजार टन फोहोर उत्पादन हुन्छ । फोहोरलाई पुन:प्रयोग गर्ने, छुट्टयाउने,मल बनाउने बाहेक २१ ठाउँमा इन्सिनिरेसन प्लान्ट जडान गरिएको छ । इन्सिनिरेसन प्लान्ट यदि सुविधासम्पन्न छन् कि उत्पादित फोहोरलाई छुट्याएर प्लान्टको चिम्नीबाट धुवाँको सट्टा वाफ निस्कन्छ । यो कार्यका लागि फोहोरबाटै विद्युत उत्पादन पनि हुन्छ । विद्युतबाट मात्रै वार्षिक ७८.६ मिलियन डलर आम्दानी हुने यूएन इन्भारोन्मेन्टको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक जापानमा हरेक वर्ष ७० हजार विद्यार्थीहरुलाई ३आर(रिड्युज, रियुज, रिसाइकल)बारे जानकारी गराइन्छ ।

दक्षिण कोरियाको राजधानी सोलमा दैनिक ९ हजार १८९ टन फोहोर उत्पादन हुन्छ । तर यसको फोहोर व्यवस्थापनलाई नमुनाको रुपमा लिइन्छ । सोलमा ल्यान्डफिल, रिसाइकल, कम्पोस्टिङ र इन्सिनिरेसन गरेर सबै विधि अपनाइन्छ । त्यहाँ फोहोरलाई छुट्याउन अनिवार्य गरिएको छ । सोलमा सन् २०१२मा मात्रै ६५.३ प्रतिशत फोहोर रिसाइकल हुने गर्‍थ्यो । अहिले त्यहाँ ‘गार्बेज ब्याग’ दिइन्छ । उक्त ब्यागमा कुहिने फोहोर मात्रै हाल्न पाइन्छ । विभन्नि आकारमा उपलब्ध हुने ब्यागको मूल्य फरक फरक हुन्छ । खानाजन्य फोहोरमा पनि पैसा तिर्नुपर्ने भएपछि फोहोरको मात्रा घटेको छ ।

दक्षिण कोरियामा वितरण गरिने गार्बेज ब्याग । तस्बिरः हफिङटन पोस्ट ।

फिलपिन्समा समुदायलाई सचेत गराएर, जनसहभागिता गराएर फोहोरलाई छुट्याउने र त्यसलाई प्रयोग गर्ने विधि लोकप्रिय छ ।

ब्राजिलको साउपाउलोले कुहिने फोहोर राम्रोसँग व्यवस्थापन गरिरहेको छ । जैबिक फोहोर संकलन र लैजानका लागि छुट्टाछुट्टै केन्द्र, सानो तरिकाबाट जैबिक फोहोरलाई ट्रिटमेन्ट गर्ने, सरोकारवालासँगको नियमित छलफल र आर्थिक गतिविधि पनि फोहोरसँगै जोडिंदा व्यवस्थापन राम्रो देखिएको छ । साउपाउलोमै फोहोरबाट विद्युत उत्पादन गरिन्छ । त्यहाँ दैनिक रुपमा १५ हजार टन फोहोर उत्पादन हुन्छ । २००६मा साउ पालालेले ल्यान्डफिल ग्यास इनर्जी परियोजनाबाट बनाइएको प्लान्टबाट १.५४ मेगावट क्षमताका १६ वटा इन्जिन सञ्चालन हुन्छन् ।

बंगलादेशको ढाकामा कम्पोस्टिङलाई विशेष जोड दिइएको छ । कम्पोस्टिङ गरेर मल कम्पनीहरुलाई बेच्ने गरिएको छ ।

ट्युनिसियामा 'रिसाइक्लिङ' कार्यक्रम पनि छन् । सन् १९९७मा ट्युनिसयामा 'इकोलिफ रिसाइक्लिङ' कार्यक्रम बनाएर देशको प्लास्टिक फोहोर व्यवस्थापन कार्यक्रम सञ्चालन गयो । यसमा प्याकिङ गर्ने कम्पनीहरुले नै उपभोक्ताले प्रयोग गरेपछि व्यवस्थापन गर्नुपर्ने नियम लयाइदियो । जसले गर्दा ‘इकोलिफ कलेक्सन सेन्टर’ स्थापना गरियो । जसबाट रोजगारीसगै फोहोर व्यवस्थापन पनि राम्रो भएको बताइएको छ ।

इन्डोनेसियामा ‘वेस्ट बैंक’मा फोहोर संकलन गरिँदै । फाइल तस्बिरः एसडीजी ।

इन्डोनेसियामा ‘वेस्ट बैंक’ प्रचलनमा छ । त्यहाँको विभिन्न सहरहरुमा ‘फोहोर बैंक’को स्थापना गरिएको छ । जहाँ उपभोक्ताले फोहोर ल्याएबापत पैसा पाउँछन् । उनीहरुलाई बैंकबुक दिइन्छ र बुझाएको फोहोरको रेकर्ड राखिन्छ ।

भारतको बैंग्लोरमा निजी क्षेत्रको सहयोगमा फोहोर व्यवस्थापन गरिन्छ । उनीहरुले घरघरमा फोहोर संकलन गरिदिंदा ढुवानी खर्च पनि जोखिएको छ भने फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ ।

चीनमा निजी क्षेत्रसँगको साझेदारी र इन्सिनिरेसन प्लान्टबाट विसर्जन गरिन्छ । मोजाम्बिकको मपुटो सहरमा फोहोर उठाउँदा धेरै विद्युत खपत गर्नेबाट धेरै पैसा लिइन्छ ।

न्यूयोर्कमा हरेक वर्ष १ करोड ४० लाख टन फोहोर उत्पादन हुने अनुमान छ । त्यहाँ एकीकृत फोहोर व्यवस्थापन गरिन्छ । निजी र सरकारी संयनत्रबाट फोहोरको व्यवस्थापन हुन्छ । फोहोर उठाउनुअघि ३ वटा तहमा छुट्याउनुपर्छ । त्यसका लागि कागज,धातु,काँच,प्लास्टिक र रिसाइकल नहुने फोहोरलाई छुट्याइन्छ । ८० प्रतिशत फोहोर ल्यान्डफिल र २० प्रतिशत फोहोरबाट ऊर्जामा परिणत हुन्छन् । यहाँबाट फोहोर बाहिरी मुलुकहरुमा गएर पनि विसर्जन हुन्छन् ।

युरोपमा बोटल रिर्टन कानुन, प्याकेजिङलगायत छन् । डम्पिङ साइटमा लैजानुअघि र इन्सिनिरेटरमा लैजानुअघि फोहोरलाइ घटाउनेमा केन्द्रीत देखिन्छ ।

जमर्नीले धेरै फोहोर रिसाइकल गर्छ । उसले विभिन्न ७ प्कारका 'रिसाइक्लिङ बिन'मा फोहोर विसर्जन गर्न लगाउँछ । ग्रिसमा एक प्रतिशत प्लास्टिक फोहोर रिसाइकल हुन्छ ।

जर्मनीमा राखिएका फोहोर स‌ंकलन गर्ने बिनहरु । तस्बिरः यूएन ।

बेलायतले ३० प्रतिशत फोहोर रिसाइकल गर्छ । जर्मनी, बेल्जियम,स्वीडेन र लक्जर्मवर्गमा एक तिहाइभन्दा कम फोहोर ल्यान्डफिलमा जान्छन् । उनीहरुले रिसाइकल र फोहोर कम उत्सर्जन गर्ने विधिमा जोड दिएका छन् ।

जर्मनीमा प्याकिङ गर्ने बिन पहेंलो, कागाजलाई निलो, तीनवटा भाडा क्लियर,खैरो र हरिया काँचका लागि र बायो बिन कुहिने फोहोरका लागि हुन्छ । कालो बिन चाही अन्य सबैथोका लागि हुन्छ । जर्मनहरु प्लास्टिक बोतलका लागि पैसा डिपोजिट गर्छन् जसले गर्दा उनीहरुले प्रयोग गरेर फिर्ता गरेपछि पैसा पाउँछन् ।

युरोपमा ४६ प्रतिशत फोहोर पुनर्प्रयोग वा कम्पोस्ट हुने युरोपियन युनियनको प्रतिवेदनमा छ ।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : जेष्ठ २९, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?