नेपाल ल्यान्डपावर हो: अमेरिकी जनरल फ्लिन 

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिनले नेपाल ‘ल्यान्डपावर’ भएको बताएका छन् । नेपाल भ्रमणको दोस्रो दिन कान्तिपथस्थित फोहोरा दरबारमा नेपालका सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीहरुसँगको शनिबार आयोजित अन्तरक्रियामा जनरल फ्लिनले अमेरिकी सेना र नेपाली सेना बीचको सहकार्य शान्तिका लागि भएको बताए।

नेपाल ल्यान्डपावर हो: अमेरिकी जनरल फ्लिन 

फोहोरा दरबारमा अमेरिकी रिक्रिएसन सेन्टर छ । उनले नेपाली सेनासँग सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता उल्लेख गर्दै संगठनको मुक्तकण्ठले प्रशंसा गरे । ‘नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध भएको ७५ वर्ष भयो । नेपाली सेना शान्तिलाई मन पराउने सेना हो । हामी अमेरिकी सेना र नेपाली सेनाको सहकार्य शान्तिको लागि हो,’ अन्तरक्रिया कार्यक्रममा सहभागी एक सुरक्षा जानकारले जनरल फ्लिनलाई उदृत गर्दै कान्तिपुरसँग भने ।

फ्लिनले आफ्नो ३० मिनेट लामो प्रवचनमा नेपाली सेना र सरकारसँग सहकार्य गर्ने उल्लेख गर्दै नेपाली सेनाको व्यवसायीकतासँग आफूहरु प्रभावित भएको प्रस्ट पारे । उनले भने,‘म नेपाल आउने भन्दा र यहाँको सेनाको व्यावसायिकता देख्दा गर्व पनि लाग्छ ।’ कार्यक्रम दिउँसो २ बजदेखि ३:३० बजेसम्म भएको थियो ।

जनरल फ्लिनले अहिले अमेरिका ‘ग्लु’ रहेको उल्लेख गर्दै यसले संसारलाई जोड्ने काम गर्ने उल्लेख गरे । उनले इन्डो–प्यासिफिक र एसिया–प्यासिफिक क्षेत्र बीचको कुरा पनि गरे । इन्डो–प्यासिफिक भित्र ३६ मुलुकहरु रहेको उल्लेख गर्दै उनले अमेरिकाको लागि यो क्षेत्र महत्वपूर्ण भूभाग रहेको भएको बताए । ‘अमेरिकी सेना र नेपाली सेना बीचको सम्बन्ध किन महत्वपूर्ण छ भने यो सम्बन्ध दुवै मुलुकको समृद्धिका लागि हो,’ उनले अन्तरक्रियाको क्रममा भएको सहभागी अर्का सुरक्षा जानकारले भने ।

जनरल फ्लिनले नेपाली सेना विश्वकै एक उत्कृष्ट सेना रहेको उल्लेख गर्दै नेपाली सेनाले क्षमता अभिवृद्धिमा अमेरिकी सेनाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली सेना एसियाकै पहिलो पुरानो सेना रहेको पनि बताए । उनले नेपाली सेनासँग भएको कौशलताको प्रशंसा गरे । ‘नेपालीसँग सहकार्य गर्न पाउँदा, ज्ञानको साटसाट गर्न पाउनु हाम्रो लागि राम्रो कुरा हो,’ उनले थपे । नेपाली सेनासँग उच्च हिमाली क्षेत्रमा हुने प्राकृतिक प्रशिक्षण सहयोगको कुरा पनि गरे ।

नेपाली पक्षसँग द्वीपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै उनले शुक्रबार नेपाल भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए ।

जनरल फ्लिनले शनिबार मौसमको कारणले गर्दा माउन्टेन फ्याइट र पोखरा भ्रमण नगरेपछि काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदाहरुको भ्रमण गरेका थिए । उनी भोलि पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजमा भ्रमण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?