आगामी वर्षदेखि दलित विद्यार्थी भर्ना गर्ने गुरुकुलको प्रतिवद्धता

गुरुकुल व्यवस्थापनमा सकस रहेको गुनासो

काठमाडौँ — ललितपुर शंखमुलको जगदगुरु आश्रमले आगामी वर्षदेखि दलित विद्यार्थीलाई भर्ना लिने प्रतिवद्धता जनाएको छ । दलित विद्यार्थीलाई भर्ना नलिएको आश्रमको सञ्चालक समितिले राष्ट्रिय दलित आयोग र अधिकारकर्मीहरुसँगको छलफलमा गुरुकुललाई आउँदो वर्षदेखि भर्नामा समावेशी बनाउने प्रतिवद्धता जनाएको हो ।

आगामी वर्षदेखि दलित विद्यार्थी भर्ना गर्ने गुरुकुलको प्रतिवद्धता

घटनाबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि निरीक्षणका लागि पुगेको राष्ट्रिय दलित आयोगसँग आश्रमले आगामी वर्षदेखि भर्ना लिने प्रतिवद्धता जनाएको हो ।

आश्रमको निरीक्षणका लागि आयोगका अध्यक्ष देवराज विश्वकर्मा, प्रवक्ता सुन्दर पुर्कुटीसहित अधिकारकर्मी र सञ्चारकर्मी आश्रम पुगेका थिए । छलफलमा आश्रमकातर्फबाट अध्यक्ष टीकाराम अर्यालसहित पदाधिकारी, प्राचार्य र शिक्षकहरू सहभागी थिए ।

त्यसक्रममा आश्रमको वस्तुस्थिति अवलोकन र निरीक्षणपछि छलफलमा आगामी वर्षदेखि आश्रमले समावेशीरुपमा विद्यार्थी भर्ना गर्ने सहमति भएको प्राचार्य तेजप्रसाद भट्टराईले बताए ।

‘गुरुकुलमा कुनै पनि विभेद नगरी आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरी दलित विद्यार्थी भर्ना गरी गुरुकुलमा भईपर्ने समस्याको समाधान गरी गुरुकुलमा सबै संरचना समावेशी बनाइनेछ,’ सहमतिमा उल्लेख छ ।

त्यस्तै, बाँकी विषयमा अर्को बैठकमा छलफल गर्ने र समाधानका लागि पहल गर्ने सहमति भएको छ । आयोगका प्रवक्ता पुर्कुटीले घटनाबारे स्थलगत अवलोकनपछि आगामी वर्षदेखि दलित विद्यार्थीलाई पनि पढाउने गरी सहमति भएको बताए ।

यता आश्रमले भने दलित विद्यार्थी भर्ना नलिएको भन्ने गलत प्रचार भएको दाबी गरेको छ । आश्रमका प्राचार्य भट्टराईले विद्यालयमा पहिल्यैदेखि दलित विद्यार्थी अध्ययनरत रहेको दाबी गरे ।

‘हामीकहाँ पहिल्यैदेखि आशिष रम्तेल नाम गरेका दलित विद्यार्थी पढिरहेका छन् । अहिले दलित विद्यार्थी भर्ना लिएनन् भन्ने आरोपमात्रै हो,’ उनको दाबी छ । तर, प्राचार्य भट्टराईले यसअघि २२ जेठमा प्रकाशित गरेको विज्ञप्तिमा भने विद्यालयमा ब्राहृमण समुदायबाहेक दुई जना जनजाति विद्यार्थीमात्रै भएको उल्लेख छ ।

आश्रमले भर्ना नलिएर फिर्ता भएका चारमध्ये दुई बालक चितवनको देवघाटमा रहेको गुरुकुलमा भर्ना भएका छन् भने अरु दुई जना अभिभावकसँगै छन् । बर्दियाबाट गुरुकुलमा भर्ना हुन आएका १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ९ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई आश्रमले फर्काएको थियो ।

बालकका बुवा नरेन्द्र सुनारले दलित भएको थाहा पाएपछि आश्रमले आफ्ना नानीहरुको भर्ना नलिएको बताउँदै आएका छन् । घटनाबारे समाचार प्रकाशित भएपछि कांग्रेस सांसद मीन विश्वकर्मा र नेकपा एकीकृत समाजवादीका सांसद पार्वती विसुन्केले प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै दलित भएकै कारण विद्यार्थी भर्ना नलिने गुरुकुल सन्चालकलाई कारवाहीकाे माग समेत गरेका थिए । तर, त्यसबारे बालकका अभिभावक सुनारले प्रहरीमा भने जाहेरी दिएनन् ।

आश्रमका प्राचार्य भट्टराई गुरुकुल व्यवस्थापनमा सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गर्छन् । 'हामी ८ जना शिक्षक छौँ । तर, न्युनतम तलव भत्ता खाने अवस्थाका लागि समेत सरकारले प्रबन्ध गरिदिएको छैन । भौतिक संरचनाको व्यवस्थापनमा समेत समस्या छ,' उनले भने ।

शंखमुलस्थित शंखेश्वर पार्कसँगै रहेको जगतगुरु क्षेत्र विकास समितिको जग्गामा गुरुकुल छ । गुरुकुल चलिरहेको जग्गा जगतगुरु धाम गुठीको हाे भने भवन निर्माण र मर्मतसम्भार पुरातत्व विभागले गर्दै आएको छ । ०७२ को भुकम्पले क्षतिग्रस्त बनाएपछि गुरुकुलमा नयाँ भवन बन्नेक्रममा छन् ।

विभागले हालै एउटा भवन निर्माण सम्पन्न गरेको छ भने अर्को एउटा भवन निर्माणाधीन छ । ती नै भवन र छेउमा बनेका ट्रष्टमा गुरुकुल चलिरहेको छ । आश्रममा २ जना आमाहरु पनि छन् । 'स्थायीरुपमा २ जना आमाहरु हुनुहुन्छ । यसबाहेक अरु आमाहरु पनि आउनुभएको छ । उहाँहरु पाहुना हो,' प्राचार्य भट्टराईले भने, 'यो आश्रम हो । जो आउनुहुन्छ हामी उहाँहरु सबैलाई स्वागत गर्छौ, र सेवा गर्छौँ ।'

गुरुकुल संचालनका लागि ललितपुर महानगरपालिकाको शिक्षा शाखाले वार्षिकरुपमा ७ लाख रुपैयाँ बजेट दिने गरेको प्राचार्य भट्टराईले बताए । त्यसबाहेक अन्य स्थानीय तह, व्यक्ति र संस्थाबाट समेत आश्रमको आम्दानी हुन्छ । 'सरकारबाट हामीलाई प्राप्त हुने रकम त्यति हो । योबाहेक विभिन्न व्यक्ति संस्थाबाट प्राप्त हुने अनुदान र सहयोग रकमबाट आश्रम र गुरुकुल संचालन हुँदै आएको छ,' उनले भने ।

गुरुकुल संचालित भवन र क्षेत्र ठूलो छ । व्यवस्थापनले ४ जना दलित बालकलाई राख्नै नसक्ने भनेर फर्काएको भएपनि आश्रम परिसरको उचित व्यवस्थापन गरे सयाैँको संख्यामा विद्यार्थी लिएर पढाउने संरचना खडा भइसकेका देखिन्छन् । खुला ठाउँ पनि उत्तिकै छ ।

गुरुकुलमा अहिले कक्षा ६ देखि १० सम्म संस्कृत, अंग्रेजी र नेपाली भाषाको पढाई हुन्छ । हाल ३३ जना विद्यार्थी छन् ।

यस्तो छ गुरुकुलले जेठ २२ गते निकालेको विज्ञप्ति :

प्रकाशित : जेष्ठ २८, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?