सरकार र बन्चरेडाँडा सरोकार समितिबीच शुक्रबार वार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार र बन्चरेडाँडा सरोकार समितिबीच शुक्रबार वार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार वार्ता हुने भएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबीच वार्ता हुन लागेको हो ।

वार्ताका लागि बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपाध्यक्ष सनत उप्रेतीले जानकारी दिए । उनका अनुसार वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेंसी नगरपालिका प्रमुख/उपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

उपाध्यक्ष उप्रेतीले मन्त्रालयले माग पूरा नगरे प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ जाने आफूहरुको तयारी रहेको बताए । सरकार र काठमाडौं महानगरपालिकाले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले फोहोर विर्सजन गर्न दिएका छैनन् । उनीहरूले बुधबार फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका झन्डै डेढ सय ट्रकहरु फर्काइदिएका थिए ।

ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएपछि फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेका थिए । बिहीबार पनि प्रहरीलाई प्रतिकार गर्न र फोहोरका ट्रक आएमा प्रवेश नदिने भन्दै उनीहरु ढुंगामुढासहित बसिरहेका छन् ।

सरोकार समिति उपाध्यक्ष उप्रेतीले प्रहरीले घरमा रहेका र खेतमा काम गरिरहेका नागरिकलाई पनि धरपकड गरेको आरोप लगाए । शान्तिपूर्णरूपमा यसअघिका सहमति कार्यान्वयन हुनुपर्‍यो भन्दा राज्यले प्रहरी प्रशासन लगाएर हामीमाथि ज्यादती गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार १४ गतेपछि स्थानीय अवरोधका कारण उपत्यकाको फोहोर ढुवानी रोकिएको हो । जसकारण उपत्यकाका ठाउँ ठाउँमा फोहोर थुप्रिएका छन् भने दुर्गन्ध फैलिरहेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

निजी लगानीको लिखु-४ बाट उत्पादित बिजुली पनि भारत जान थाल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको बिजुली पहिलोपटक भारत जाने भएको छ । बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लिखु–४ आयोजनामा ग्रीन भेन्चर्स लिमिटेडको लगानी छ ।


‘आजबाट लिखु–४ थपिएसँगै नेपालले कुल ७ हजार ७ सय मेगावाट आवर बराबर बिजुली भारत पठाउने भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘भारतले अनुमति दिएका सबै आयोजनाको बिजुली आजबाट इन्डियन इनर्जी एक्सचेन्जमा जान थालेको छ ।’ योसँगै नेपालले भारतमा बिजुली बेचिरहेका जलविद्युत् आयोजनाको संख्या ६ वटा पुगेको छ । यसअघि सरकारी लगानीका मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, त्रिशुली, देवीघाट र कालीगण्डकीबाट उत्पादित बिजुली भारत गइरहेको थियो । अझै २ वटा आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको बिजुली किन्नका लागि भने भारतले अझै आनाकानी गरिरहेको छ ।

नेपालले गत वर्ष कात्तिक १७ गते पहिलोपटक इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्ने अनुमति पाएको थियो । आईईएक्समा बिजुली बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट बिजुली गत वर्ष नै भारत जान थालिसकेका थिए । तर अरु आयोजनाका लागि भने भारतले अनुमति दिएको थिएन । गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल भारत ऊर्जा सचिवस्तरीय संयूक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बैठकपछि भारत नेपालबाट थप बिजुली लैजान सहमत भएको थियो । जसअनुसार नेपालले १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५२ मेगावाटको लिखु–४ गरी कुल ६ वटा आयोजनाको ३ सय ६४ मेगावाट बिजुली किन्ने सहमति दिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×