कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
बन्चरेडाँडामा फोहोर विसर्जन

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए, स्थानीयमाथि अश्रु ग्यास प्रहार

गोविन्द पोखरेल

काठमाडौँ — फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले काठमाडौं नै फर्काइदिएका छन् । काठमाडौं महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठकाअनुसार करिब डेढ सय ट्रक फोहोर बिसर्जन नगरी उपत्यका फर्किएका हुन् । बुधबार उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर विसर्जनका लागि ती ट्रक बन्चरेडाँडा गएका थिए ।

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए, स्थानीयमाथि अश्रु ग्यास प्रहार

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो ।

ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएपछि फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेको नुवाकोटका एसपी रामप्रकाश शाहले जानकारी दिए । स्थानीयवासीले अवरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको थियो ।

फोहोर विसर्जनका लागि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको पीडितहरुले बताएका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति उपाध्यक्ष सनत उप्रेतीले प्रहरीले घरमा रहेका र खेतमा काम गरिरहेका नागरिकलाई पनि धरपकड गरेको बताए । शान्तिपूर्णरूपमा यसअघिका सहमति कार्यान्वयन हुनुपर्‍यो भन्दा राज्यले प्रहरी प्रशासन लगाएर हामीमाथि ज्यादती गरेको उनको भनाइ छ । घरमै बसिरहेको अवस्थामा सरोकारवाला समितिका अध्यक्ष श्रीराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको उप्रेतीले बताए ।

प्रहरीले बुधबार बिहानैदेखि माइकिङ गर्दै सडक अवरोध नगर्न स्थानीयलाई आग्रह गरेको थियो । पीडितहरुले पनि प्रहरीलाई आफूहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न भन्दै माइकिङ गरेका थिए । त्यही बेला प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउन खोज्दा अश्रु ग्यास प्रहार भएको थियो ।

स्थानीयको आन्दोलनका कारण फोहोर बोक्ने ३ वटा गाडीको सिसा फुटेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक (करिब १२ सय मेट्रिक टन) फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । जेठ १० र ११ गते बञ्चरेडाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो । जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो । त्यसपछि स्थानीय अवरोधका कारण फोहोर ढुवानी रोकिएको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?