कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रतिनिधिसभा चुनावसम्मै गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ दलहरूको गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्मै कायम रहने बताएका छन् ।

प्रतिनिधिसभा चुनावसम्मै गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताए ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्न भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका थिए ।

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको प्रतिबद्धता थियो । ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु छन् । त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनावपछिको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस् भनेर अनेक खालका प्रयत्नहरु पनि भएका होलान् । तर त्यसको पछाडि हामी लाग्नु हुँदैन । हामी इमान्दारिता साथ चल्छौं । तर कमजारी भएका छन् भने त्यसको आलोचना पनि गर्छौं । हामीलाई एकल्याउन खोजिएको छ भने त्यसको आलोचना गर्छौं,’ नेता नेपालले भने ।

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा सानदार ढंगले सफलता हासिल गरेको पनि स्मरण गराए ।

उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराएका थिए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले भने, ‘अब दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं । कमजोरीलाई ध्यानमा राखेर अब जाने टिमले राम्रो काम गरोस् भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाइ छ ।’

प्रकाशित : जेष्ठ २५, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?