विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ — अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन् । 

विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गरेका थिए । 'विनोद शाहीको हत्या भएको ९ दिन पूरा भइसकेको छ । विनोद शाहीको हत्या भइसकेपछि विशेष समय लिएर सदनको ध्यानाकर्षण गराएको थिए । त्यो ध्यानाकर्षण गराउँदा हत्यारालाई कारबाही गरियोस्,' उनले भने, 'पीडित पक्षले जाहेरी दर्ता गरियोस् भनेर माग गरिएको छ । लासको पोस्टमार्टम गरेर अगाडि बढाइयोस् । जिल्लामा शान्ति सुरक्षा कामय गरियोस् भनेको थिएँ । गृहमन्त्रीले न्यायीक रूपमा छानबिन हुने, हत्यारालाई कारबाही गरिनेछ भन्नुभएको थियो ।’

जाहेरी दर्ता गरिने भने पनि आजसम्म जाहेरी दर्ता नभएको भन्दै उनले अहिले उनको लास कुहिएको अवस्था रहेको बताए । ‘दर्ता गर्नुस् भनेर भन्नुभएको थियो किन दर्ता भएन ?' उनले भने ।

घटनालाई राजनीतिक रङ दिन खोजिएको सांसद बोगटीको आरोप थियो । उनले भने, 'जाहेरी दर्ता नगर्नुको कारण राजनीतिको रङ देखिएको छ । विद्यार्थी मारिँदा राजनीतिक रङ दिनु हुँदैन ।'

त्यसपछि सभामुख सापकोटाले सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका हुन् । 'माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकाको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु,' उनले भने ।

प्रकाशित : जेष्ठ २५, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?