जनक शिक्षाको डिपोमै छैन पुस्तक

कक्षा ५, ६ र ८ को पुस्तक सबैभन्दा बढी अभाव, पूरा सेट कतै पुगेन
सुदीप कैनी

काठमाडौँ — सामुदायिक विद्यालयको पुस्तक उत्पादन र बिक्रीवितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय डिपो भक्तपुर सानोठिमीमै पाठ्यपुस्तकको अभाव देखिएको छ । केन्द्रीय डिपोसहित सबै प्रदेशका ९ वटै डिपोमा मागअनुसार पुस्तक पुग्न सकेको छैन । सबैभन्दा बढी अभाव कक्षा ५, ६ र ८ का पुस्तकको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जनक शिक्षा प्रतिनिधि नारायण श्रेष्ठले कुनै पनि जिल्लामा यी कक्षाको पूरा सेट पुस्तक पुग्न नसकेको बताए ।

जनक शिक्षाको डिपोमै छैन पुस्तक

जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले गत साता ३५ लाख पाठ्यपुस्तक मात्र छाप्न बाँकी रहेको दाबी गरेका थिए, तर महासंघले अझै ७० लाखभन्दा बढी थान पुस्तक छाप्न बाँकी रहेको बताएको छ । महासंघलाई सातै प्रदेशका प्रतिनिधिले कक्षा ४–१० को पूरा सेट पाउन नसकेको रिपोर्टिङ गरेका छन् । कक्षा ५, ६ र ८ को एक थान पुस्तक नरहेको उनीहरूको भनाइ छ ।

शिक्षा सचिव यादवप्रसाद कोइरालाले भने पुस्तक अभावबारे मन्त्रालयलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘केही थान छाप्न बाँकी रहेको जानकारी पाएको हो, पहिले दुर्गममा बाँडेर सुगममा छाप्दै बाँड्ने भनिएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि पालिका, विद्यालयले पुस्तक नपाएको गुनासो गरेका छैनन् ।’

रामेछापमा कक्षा ६ को नेपाली र सामाजिक मात्रै पुगेको छ । त्यही पनि मागअनुसार पाउन नसकेको त्यहाँका एक बिक्रेताले बताए । ‘जिल्लाभर ४ हजार थान पुस्तक चाहिने हो, दुई विषयको ६/६ सय थान पुस्तक मात्रै पाएका छौं,’ उनले कान्तिपुरसँग भने, ‘८ कक्षाको एक थान पुस्तक पनि आएको छैन ।’ जनक शिक्षाले करिब १२ सय बिक्रेतालाई छापिएका पुस्तक उपलब्ध गराउने र ती पुस्तक उनीहरूले ढुवानी गरेर विद्यालय हुँदै विद्यार्थीको हातहातमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशका जिल्लामा पनि पुस्तकको उपलब्धता वाग्मतीमा जस्तै भयावह देखिएको त्यहाँका बिक्रेताहरूले बताएका छन् । लमजुङ र गोरखाले पोखराबाट पुस्तक पाउन नसकेपछि केन्द्रीय डिपोबाट ढुवानी गरेका छन् । त्यही पनि आवश्यकताअनुसार पुस्तक पाउन नसकेको लमजुङका एक बिक्रेताले बताए । महासंघको गण्डकी प्रदेशका अनुसार म्याग्दीले कक्षा ६ र ८ को विज्ञानको २ सय ५० थान पुस्तक मात्रै पाएको छ । ‘जिल्लाभर २२ सय थान पुस्तक आवश्यक हो, अंग्रेजीको ४ सय र नेपाली विषय ८ सय थान मात्र पाइयो,’ एक बिक्रेताले भने, ‘पठनपाठन नरोकियोस् भनेर जति भेटेका छौं, त्यति पुस्तक विद्यालयहरूलाई वितरण गर्दै गएका छौं ।’ सुदूरपश्चिम प्रदेशका लागि ४ हजार थान पुस्तक माग गर्दा ४ सय थान मात्रै उपलब्ध गराएको धनगढीका एक बिक्रेताले महासंघलाई जानकारी गराएका छन् । ‘पहिलो चरणमा पाएको ४ सय थान विद्यालयमा पुगिसकेको छ,’ उनले भने, ‘दोस्रो चरणमा कहिले पाइन्छ केही पत्तो छैन, डिपोमा सम्पर्क गर्दा केन्द्रीय डिपोबाट पठाए उपलब्ध गराउँछौं भनेका छन् ।’ महासंघका कर्णाली प्रदेश अध्यक्ष कमल नेपालले पुस्तक बिक्रीवितरणको अवस्था डामाडोल रहेको प्रतिक्रिया दिए । ‘कर्णालीका दुर्गम ५ जिल्लामा ७० प्रतिशत पठायौं, अन्यत्र ३० प्रतिशत मात्रै पुगेको छ,’ उनले भने, ‘कक्षा ६ र ८ को एक थान पनि स्टक छैन ।’

प्रदेश १ मा पनि पुस्तक पूरा सेटमा नपाइने समस्या रहेको इटहरीका एक पुस्तक बिक्रेताले जानकारी दिए । लुम्बिनी प्रदेशस्थित बिक्रेताहरूले कक्षा ४, ७ र ९ का लागि आवश्यकमध्ये ७० प्रतिशत मात्रै बिक्रीवितरण गरिएको जनाए । कक्षा ६, ८ र १० को ३० प्रतिशत पुस्तक पनि नपुगेको उनीहरूको भनाइ छ ।

मधेस प्रदेशको पनि अधिकांश जिल्लामा पाठ्यपुस्तकको हाहाकार छ । बारा र फर्साका बित्रेतासम्म केही थान पुस्तक आइतबार मात्रै पुगेको छ । जनक शिक्षाले कुनै पनि कक्षाको पुस्तक पूरा सेटमा उपलब्ध गराउन नसकेको श्रेष्ठले दोहोर्‍याए । ‘कुनै बिक्रेतालाई कुनै कक्षाको केही विषयको पुस्तक दिइएको छ, कुनैलाई त्यही कक्षाको अन्य विषयको दिएर पुस्तक अभाव छैन भन्ने देखाउन खोजेर अलमल्याइएको,’ उनले थपे । यो वर्ष नयाँ पाठ्यक्रमअनुसार ४, ७ र ९ को नयाँ पुस्तक पठाइएको हो । जनक शिक्षाले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कागज अभाव हुँदा र स्थानीय तहको मतपत्र छपाइ गर्दा पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको बताएको थियो ।

जनक शिक्षाले चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ थान पुस्तक छपाइ गर्नुपर्ने थियो । पुस्तक अभाव भएपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले छाप्न बाँकी पुस्तक तत्काल छाप्न र छापिसकेका पुस्तक ढुवानी गरेर विद्यार्थीसम्म पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएको छ । असारभित्र पुस्तक छापिसक्न र छापिएका पुस्तक विद्यार्थीसम्म पुर्‍याउन निर्देशन दिइएको हो । जनकका प्रबन्ध निर्देशक झाले जेठ मसान्तसम्म ९० प्रतिशत पाठ्यपुस्तक छापिसक्ने दाबी गरे । ‘जेठ मसान्तसम्म नयाँ पुस्तकको काम सकिन्छ, अन्य कक्षाको छाप्न बाँकी पूरा सेट छापेर असारभित्र विद्यार्थीसम्म पुर्‍याइसक्छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ २५, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?