काठमाडौं महानगरको फोहोर

महामारीको जोखिम

अतुल मिश्र

काठमाडौँ — काठमाडौं उपत्यकामा फोहोरको व्यवस्थापन बेलैमा नगरे पानी र खाद्यजन्य रोगको महामारी फैलिने चेतावनी विज्ञहरूले दिएका छन् । मनसुन सुरु भएकाले वर्षात्ले फोहोरबाट फैलिने रोगको जोखिम थप बढाएको उनीहरूले जनाएका छन् । 

महामारीको जोखिम

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले फोहोरको तत्काल व्यवस्थापन नगर्ने हो भने टाइफाइड, हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’, झाडापखाला, हैजाको महामारी फैलिन सक्ने बताए । ‘अहिले जताततै थुप्रिएको फोहोरले कुनै पनि बेला राजधानीमा महामारी फैलाउन सक्छ,’ उनले भने ।

विज्ञहरूका अनुसार फोहोर लामो समयसम्म थुप्रिँदा संक्रमण र रोगको विकास हुन्छ । फोहोरको तत्काल उचित व्यवस्थापन नगरे झाडापखाला, हैजा, पेट र आन्द्रा (ग्यास्ट्रो इन्सेस्टाइनल) सम्बन्धी रोग, खाद्य विषाक्तता, पेट दुखाइ, छालासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी एलर्जीलगायतका समस्या देखिन सक्छ ।

कोटेश्वरमा थुप्रिएको फोहोर । तस्बिर : इलिट जोशी/कान्तिपुर

‘फोहोरको नजिक बस्ने वा आवागमनमा फोहोरको सम्पर्कमा बढी हुनेहरू जोखिममा हुन्छन्,’ वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. राजेन्द्र बीसीले भने, ‘फोहोरले झिँगा, ब्याक्टेरिया, किटाणु, जीवाणु रोडेन्ट (मुसालगायत प्राणी) का लागि उपयुक्त वातावरण दिन्छ । त्यसका कारण पनि आम व्यक्तिमा विभिन्न रोग फैलिन सक्छ ।’ फोहोरका कारण वायु प्रदूषणसमेत हुने गरेको छ । फोहोरबाट निस्किने विषाक्त पदार्थसँगै कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायत ग्यासले श्वासप्रश्वासको समस्या निम्त्याउने डा. बीसी बताउँछन् ।

विज्ञहरूका अनुसार फोहोरमा साल्मोनेला, इकोली, लिस्टेरियाजस्ता ब्याक्टेरिया हुन्छन् । ती जीवाणु फोहोरको थुप्रोमै चाँडै फस्टाउँछन् । ‘तपाईंको भान्सा कोठामा राखिएको फोहोर फाल्ने भाडामा प्रतिवर्ग इन्च सतहमा ४ सयभन्दा बढी ब्याक्टेरिया हुन सक्छ भने धेरै दिनदेखि सडकमा थुप्रिएको फोहोरमा कति जीवाणु होलान् सहजै अनुमान गर्न सकिन्छ,’ डा. बीसीले भने, ‘सडकमा थुप्रिएको फोहोर मानव स्वास्थ्यका लागि एक प्रकारको काल नै हो ।’

सम्बन्धित समाचारहरू :

प्रकाशित : जेष्ठ २४, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?