चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन- समाचार - कान्तिपुर समाचार

चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ अन्तर्गत सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३३ हजार ८ सय ७७ किलो फोहोर संकलन गरेको छ । सरकारको कार्यक्रमअन्तर्गत सेनाले तेस्रो पटक विश्वका ८ हजारभन्दा अग्ला सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट फोहोर संकलन गरेको हो । यस पटकको गत चैत २२ मा थालिएको अभियान जेठ २२ अर्थात् विश्व वातावरण दिवसका दिन आइतबार सकिएको छ ।

संकलित फोहोरमध्ये कुहिने ७ हजार २ सय २७ किलो स्थानीय गाउँपालिका तथा नकुहिने २६ हजार ६ सय ५० केजी रिसाइकल एजेन्सीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । अभियानका दौरान कञ्चनजंघा आधार शिविरमा फेला परेका मान्छेका दुई अस्थिपञ्जर कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको थियो ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफाइका क्रममा सगरमाथा, ल्होत्से तथा सेनाका तर्फबाट प्रथम पटक कञ्चनजंघा हिमाल सफलतापूर्वक आरोहण गर्ने ७ जनालाई प्रोत्साहनस्वरूप प्रधानसेनापति प्रशंसा निसान हस्तान्तरण गरे । जलवायु परिवतन कुनै एक मुलुकको मात्र समस्या नभएको उल्लेख गर्दै उनले सबै मिलेर वातावरणको संरक्षण गर्नुपर्ने बताएका थिए ।


प्रकाशित : जेष्ठ २२, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्

वातावरण दिवसमा र्‍याली र वृक्षरोपण

माधव अर्याल

पाल्पा — जनचेतनामुलक र्‍याली, वृक्षरोपण र सामुदायिक वन उपभोक्ता समूहलाई विरुवा प्रदान गरेर पाल्पामा विश्व वातावरण दिवस मनाइएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका दोभानस्थित नर्सरी क्षेत्रमा ‘पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित मनाइएको हो । लुम्बिनी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र डिभिजन वन कार्यालयको आयोजनामा भएको दिवसका अवसरमा डिभिजन वन कार्यालयले सहिद चुनमाया पार्कमा वृक्षरोपण गरिएको छ ।

र्‍यालीमा सहभागिता जनाएर वृक्षरोपण गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भने, ‘हरेक वर्ष रुख रोप्छौं, सबै रुख आउँदो दिनमा ठूलो वृक्षको रुपमा यहाँका जनतालाई छहारी दिने काम गर्नेछ भन्ने विश्वास लिएको छु ।’

उनले रुख रोपेर मात्र नहुने यसको संरक्षण र सम्वद्र्धनको जरुरी रहेको बताए । ‘हामी सबैले हामी हाम्रो लागि पनि वातावरण संरक्षण गर्नुपर्ने जरुरी छ,’ उनले भने, ‘प्रदेश सरकारले वातावरण संरक्षणका लागि काम गर्दै आएको छ । यसमा सबैको सहयोग हुनुपर्छ ।’ उनले परिवार र समाजलाई अगाडी बढाउन पनि वन तथा वातावरण संरक्षणको जरुरी रहेको बताए ।

प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले जनताले चाहने हो भने वन तथा वातावरण संरक्षण हुन सक्ने बताए । मन्त्रालयका सचिव दुर्गा बहादुर कार्कीले जनताको सहयोगबाट नै वन तथा वातारणको संरक्षण हुने भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । डिभिजन वन प्रमुख दीपक ज्ञवालीले वन तथा वातावरणको क्षेत्रमा हरेक वर्ष सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने बताए । वन, व्यवस्थापन, योजना तथा अनुगमन महाशाखा प्रमुख नारायणदेव भट्टराईले माथिल्लो तटीय क्षेत्रमा वन तथा वातावरण संरक्षण गर्दा नै तल्लो तटीय क्षेत्र हरियाली बन्ने भएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

वृक्षरोपण तथा र्‍यालीमा तिनाउ गाउँपालिका क्षेत्रका विभिन्न सामुदायिक वनका पदाधिकारी, सदस्य, विद्यार्थी, वन क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो । तिनाउ सब–डिभिजन कार्यालयको नर्सरीमा तेजपात लगायत विभिन्न जातका विरुवा पाइन्छ । तानसेनको मुख्य नर्सरी र जिल्लाकै अन्य सब–डिभिजन वन कार्यालय अन्तर्गतका नर्सरीबाट पनि वन तथा वातावरण संरक्षणका लागि बिरुवा बितरण हुँदै आएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७९ २१:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×