२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

निर्वाचनमा गठबन्धनको घेरा तोड्यौं : भट्टराई

आनन्द गौतम

ताप्लेजुङ — नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धनको घेरा तोड्न सफल भए पनि अलिकति घाइते हुनुपरेको बताएका छन् । गृह जिल्ला ताप्लेजुङमा आइतबार निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध नसकिने र अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्नुपर्ने बताए । 

निर्वाचनमा गठबन्धनको घेरा तोड्यौं : भट्टराई

जनपक्षीय उम्मेदवारलाई जिताउन २०४३ को निर्वाचनदेखि प्रजातन्त्र प्राप्तिपछिका हरेक निर्वाचनलाई मूल्यांकन गर्दा यो पटक पार्टीमा सबैभन्दा बढी अन्तर्घात भएको आफूले पाएको पनि उनले दाबी गरे ।

पार्टीमा बसेर अन्तर्घात गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै उनले यसको पृष्ठभूमिदेखि नै गएर समीक्षा गर्नुपर्ने पनि बताए । भने, ‘मैले ४३ सालदेखिको निर्वाचन नजिकबाट देखे भोगेको छु । नेकपा एमालेभित्र पहिलो पटक अन्तर्घात भन्छन् हो त्यस्तो यत्ति ठूलो देखिएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ ।’ उम्मेदवार छनौटदेखि नै कमजोरी भयो कि, किन भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भट्टराईले एमाले दुई/चार सिट जितेर च्याँखे थाप्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई इखालु भएर लाग्न निर्देशन दिए । ‘इख नभएको मान्छे र बिख नभएको सर्प काम दिँदैन भन्छन्,’ भट्टराईले थपे, ‘हामीसँग प्रतिरोधी क्षमता हुनुपर्छ र अलिकति इखालु बन्नु पर्छ ।’

दोस्रो आवधिक निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई अब सिक्दैछौं भन्ने छुट नभएकाले काम गरेर देखाउन आग्रह गरे । उनले उपभोत्ता समिति सबैभन्दा धेरै विवादमा परेका र त्यसमा जनप्रतिनिधि जोडिएकाले ठेक्का प्रक्रियामा जान पनि जनप्रतिनिधलाई निर्देशन दिए । हरेक जनप्रतिनिधिले तीन दिनसम्ममा स्थानीय सरकार सञ्चालन ऐन पढ्न उनले आग्रह गरे । ‘हाम्रो कानुनी मुलुक हो, तपाईंले म यसो, उसो गर्छु भनेर मात्रै हुँदैन,’ भट्टराईले थपे, ‘कानुन अनुसारको काम गर्नुपर्ने भएकाले तपाईंले अनिवार्य अध्ययन गर्नु पर्छ ।’

प्रत्येक जनप्रतिनिधि वा पार्टीका पराजित उम्मेदवारलाई दुई हप्तामा एक पटक त्यो सम्भव नभए महिनामा एक पटक जनताका घरदैलोमा अनिवार्य पुग्न पनि निर्देशन दिए । कहिल्यै संगठन र प्रशिक्षण नगर्ने काग्रेस संगठन र प्रशिक्षणमा लागेकाले तर सिकाउने एमाले कार्यकर्ताले त्यसलाई गति दिन नसकेको उनको गुनासो थियो ।

प्रकाशित : जेष्ठ २२, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?