नेपालगन्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप

स्थिति तनावपूर्ण, प्रहरीद्वारा हवाइ फायर
रुपा गहतराज

बाँके — नेपालगन्जको धम्बोजी चोकमा राजावादीहरुको समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ ।

नेपालगन्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप

पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले कान्तिपुरलाई जानकारी दिए ।

यसैबीच उनीहरुले सेतु विक चोकमा रहेको सेतु विकको सालिकमा समेत क्षति पुर्‍याएका छन् । अहिले पनि उनीहरुले त्यहाँका विभिन्न चोकहरुमा प्रहरीलाई ढुकेर ढुंगामुढा गरिरहेको पाइएको छ ।

घटनामा घाइते भएका चार जना प्रहरीलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका बारेमा बुझ्न खोज्दा राजावादी समूहका ऋषिराज देवकोटाले 'गणतन्त्रमा सालिक झिक्न हुने तर आस्थाले सालिक राख्न नमिल्ने ?' भन्दै प्रतिक्रिया दिए ।

प्रकाशित : जेष्ठ १९, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?