मेलम्चीको पानी पठाउन रोकियो, मनसुन सकिएपछि पुन: खोलिने- समाचार - कान्तिपुर समाचार

मेलम्चीको पानी पठाउन रोकियो, मनसुन सकिएपछि पुन: खोलिने

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्षा सुरु भएसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी पठाउन बन्द गरिएको छ । वर्षाले सुरुङ र हेडवर्क्समा क्षति पुर्‍याउन सक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले मंगलबार बिहानदेखि पानी पठाउन बन्द गरेको हो । 

गत वर्षको बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि गत वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको थियो । वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले अहिलेलाई पानी बन्द गरिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले कान्तिपुरलाई जानकारी दिएका छन् । 'मंगलबार बिहानदेखि सुरुङमा पानी पठाउन कम गरिसकेका छौँ । बेलुकासम्म पूर्ण रूपमा बन्द गरिनेछ,' पन्तले भने, ' त्यसपछि वासरहरू निकालेर सफा गर्छौं ।'

अहिलेलाई अस्थायी सडक र बाँध बनाएर पानी पठाइएको जानकारी दिँदै पन्तले भने, 'ठूलो बाढी आएर अस्थायी रूपमा खोलिएका बाटो र बनाइएका पुलहरू बगाइदियो भने त फेरि बनाउनुपर्छ । वर्षा सकिएपछि फेरि काम गर्नुपर्छ । त्यसैले अहिले नै सुरक्षाका लागि पानी बन्द गरिएको हो ।'

मेलम्चीको पानी बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आफ्ना स्रोतहरू प्रयोग गरेर नियमित रूपमा पानी वितरण गर्ने पनि पन्तले जनाए ।

मनसुन कति लम्बिन्छ त्यही आधारमा मेलम्चीको पानी रोकिने पनि उनले बताए । सामान्यतः नेपालमा जेठ ३०, ३१ (१३ जुन) मा दक्षिण पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने बताइन्छ । औपचारिक घोषणा नगरे पनि १५ जुनसम्ममा काठमाडौं र २० जुनभित्र नेपालभर मनसुन फैलने बताइने गरिन्थ्यो ।

तर, यो वर्ष निकोबार र एन्डमानमा सरदरभन्दा साताअघि देखिएको मनसुनी गतिविधिका कारण नेपालमा सदरभन्दा एक साताअघि प्रवेश गर्न सक्ने मौसमविद्हरूको विश्लेषण छ । सामान्यतः नेपालमा ११२ दिन मनसुन रहन्छ । गत वर्ष जेठ ३० (जुन १२) मा मनसुन भित्रिनुपर्नेमा २ दिनअघि नै भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनको अवधि जेठदेखि असोजसम्म रहन्छ । विभागले यस वर्ष मुलुकका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो । उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो । सोही दिनमा आएको बाढीले यहाँका हेडवर्क्सलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन ।

असारमा पटक–पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो । वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन । सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारी सुर्खेतमा

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुगेकी छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १:४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेको जानकारी दिए ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आजै सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×