पौडेललाई रिजालको जवाफ : भूमिका बदलिनेबित्तिकै भन्ने कुरामा आकाश-जमिनले फरक हुनुहुँदैन

काठमाडौँ — कांग्रेसका सांसद मिनेन्द्र रिजालले पदीय भूमिका बदलिनेबित्तिकै अर्थतन्त्रका विषयमा गर्ने कुरामा आकाश र जमिनको भिन्नता नगर्न एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएका छन् ।

पौडेललाई रिजालको जवाफ : भूमिका बदलिनेबित्तिकै भन्ने कुरामा आकाश-जमिनले फरक हुनुहुँदैन

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा सहभागी हुने क्रममा पौडेलले वर्तमान सरकारले सही बजेट नल्याएको र ऋण बढाएको, स्रोत सुनिश्चित नगरेको, गरिबी हटाउने खालको नभएको बताएका थिए । उनीपछि छलफलमा सहभागी भएका रिजालले विगतमा आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न सुझाव दिएका थिए ।

संसद्‍मा र संसद्‍बाहिर बजेट प्रस्तुत गरेका पौडेललाई रिजालले ती बजेटमा राखेका अंक स्मरण गर्न सुझाएका थिए । 'पोहोर साल उहाँले बजेटको विवरण संसद् होइन संसद् बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यसबेला अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभयो । कोभिडले मुलुक थलिएको थियो । खोप लगाउन सुरु पनि गरिएको थिएन । ६.५ प्रतिशत भन्नुभएको थियो । आज ८ प्रतिशत भन्दाखेरि उहाँलाई अचम्म लाग्यो ?,' उनले भने, '६.५ प्रतिशतले मुद्रास्फ्रिति हुन्छ भन्नुभएको थियो, आज ७ प्रतिशतले ले हुन्छ भन्दाखेरि उहाँलाई त्यतिले पनि पुग्दैन भन्ने लागेको छ । यत्ति भन्छु, भूमिका बदलिएको छ । भूमिका बदलिएको छ भन्नेबित्तिकै हामीले भन्ने कुरा आकाशर जमिनले फरक हुनुहुँदैन ।'

यो संघीयता विरोधी बजेट हो : पूर्वअर्थमन्त्री पौडेल

गत वर्ष जेठ १५ गते तत्कालीन अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटन रहेको अवस्थामा सिंहदरबारबाटै बजेट प्रस्तुत गरेका थिए । ऋणबारे पौडेलले गरेको टिप्पणीको पनि रिजालले जवाफ दिएका छन् । उनले अहिलेको सरकारले वैदेशिक र आन्तरिक ऋण विगतको सरकारको विरासतमा प्राप्त भएको बताएका छन् ।

'आन्तरिक ऋण बढ्दैछ । त्यसले सिर्जना गर्ने समस्या छ । तर, यो ऋण विरासतमा प्राप्त भएको हो । ऋण उठाउनुपर्ने अथवा वित्तीय व्यवस्था गर्नलाई हुने खर्च हामीले नयाँ सिर्जना गरेको होइन । एकपटक फर्केर हेर्ने हो भने, यो संसद् निर्वाचित भएर आउँदाखेरि वैदेशिक र आन्तरिक ऋण कहाँ थियो ? हामीले तिर्नुपर्ने वित्तीय अवस्था के थियो र तपाईंले छोड्ने बेला कहाँ पुग्यो ?,' उनले सुझाए, 'त्यसलाई ठण्डा दिमागले हेर्नुभयो भने त्यसको जिम्मा त हामीलाई लगाउन सक्नुहुन्न नि ! अरु सबै जिम्मा दिए हुन्छ, यो जिम्मा किन लगाउनुहुन्छ ?'

आगामी आर्थिक वर्षको बजेट ठीक रहेको रिजालको भनाइ थियो । उनले भने, 'बजेटको मूल दिशा ठीक छ । योभन्दा पृथक बजेट आउनसक्ने थिएन । जस्तो आउनुपर्ने हो त्यस्तो आएको छ । त्यसैले अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्छ । ठीक प्राथमिकता समातेर अर्थमन्त्रीले बजेट ल्याउनुभएको छ ।'

प्रकाशित : जेष्ठ १७, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?