१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यो संघीयता विरोधी बजेट हो : पूर्वअर्थमन्त्री पौडेल

'बजेट नाराको भीडमा अलमलिएको छ, हरेक पेज र प्याराग्राफमा नारा रहेका छन्'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संघीयता विरोधी रहेको बताएका छन् । 

यो संघीयता विरोधी बजेट हो : पूर्वअर्थमन्त्री पौडेल

प्रतिनिधिसभामा मंगलबार बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पौडेलले बजेटले प्रदेश र स्थानीय तहका अधिकार कटौती गरेको बताएका छन् ।

'साना पूर्वाधार आयोजना प्रदेश र स्थानीय तहमा सार्ने बजेटमा घोषणा गरिएको छ । तर, त्यसको अन्तर्य अर्कै रहेछ, साना योजना केन्द्रले छनोट गर्ने र ती योजनाको सीमित, सशर्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउने कुरा रहेछ,' उनले भने, 'यसबाट आफ्नो योजना आफैले छनोट गर्ने प्रदेश र स्थानीय तहको अधिकार कटौती गरिएको छ । यताबाट लिस्ट पठाउने र त्यसका निम्ती सीमित सशर्त अनुदान पठाउने रहेछ । यो योजना हो, यो बजेट हो कार्यान्वयन गर्नू भनेर निर्देश गरिने रहेछ । यो संघीयता, वित्तीय संघीयताका अवधारण र मान्यताको ठाडो बर्खिलाप छ । यो संघीयताविरोधी कदम हो ।'

संघीयतामा केन्द्रबाट लादिएका कार्यक्रम कार्यान्वयन हुन नसक्ने पौडैलको भनाइ थियो । उनले संघीयताप्रति अतिरिक्त दाबी गर्ने पार्टीका अर्थमन्त्रीले ल्याएको बजेटले भने प्रदेश र स्थानीय तहको अधिकार कटौती गरिएको बताए । त्यसरी माथिबाट योजना र अनुदान पठाउँदा योजना कार्यान्वयन नहुने तर स्रोतको भने दुरुपयोग हुने उनले धारणा राखे ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट सपनाहरूले भरिएको पौडेलको भनाइ छ । बजेटका प्रत्येक पाना र प्याराग्राफमा नारा मात्रै रहेको उनले बताए । 'बजेट नाराको भीडमा अल्मलिएको छ, हरेक पेज र प्याराग्राफमा नारा रहेका छन्,' उनले भने ।

कृषकहरूलाई ऋण दिनका लागि स्थापना गर्ने भनिएको कोषका लागि स्रोत सुनिश्चित नभएको पौडेलको भनाइ थियो । उनले भने, 'कृषि कर्जा उपलब्ध गराउन ५ खर्बको लघुवित्त कोष प्रस्ताव गरिएको छ तर त्यसको स्रोत सुनिश्चित गरिएको छैन । के अरु कोषको रकम रित्याएर यतातिर सार्ने हो कि ? विद्यमान कानुनी व्यवस्थाले त्यसो गर्न अनुमति दिन्छ कि दिँदैन ? ती कोषमा पर्ने प्रभाव के हुनसक्छ ? यस्तो खालको सस्तो लोकप्रियताको कुरा गरिएको छ,' उनले भने ।

प्रकाशित : जेष्ठ १७, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?