सर्वोच्चले विकासविरोधी फैसला गर्‍यो : सरकार र संसद्- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चले विकासविरोधी फैसला गर्‍यो : सरकार र संसद्

कानुन संशोधन गरेर भए पनि निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा जोड
नीति तथा कार्यक्रम र बजेटमा योजना परिसकेकाले मन्त्रालय पछि हट्दैन : पर्यटनमन्त्री आले
जयसिंह महरा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध कार्यपालिका र व्यवस्थापिका एक ठाउँमा उभिएका छन् । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गत बिहीबार गरेको फैसला विकासविरोधी भएको निष्कर्ष निकाल्दै संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पनि विमानस्थल निर्माण गर्ने योजना अघि सारेको छ । 


वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले निजगढ विमानस्थलबारे अहिलेसम्मका सबै प्रक्रिया बदर गर्ने फैसला गरेको थियो । बृहत् पूर्ण इजलासले सरकारलाई ‘वन ऐन, नियमावली, वातावरणसम्बन्धी कानुन र विधिशास्त्र’ समेतलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय विमानस्थलको उपयुक्त विकल्पबारे निर्णय गर्न परमादेशसमेत दिएको थियो ।

सर्वोच्च अदालतको फैसला आउनु दुई दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे उल्लेख गरेकी थिइन् । ‘आर्थिक वर्ष २०८०/८१ मा निर्माण कार्य सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । सर्वोच्चको फैसला आएको तीन दिनपछि अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजना विकास अघि बढाइनेछ’ भनिएको छ ।

मन्त्री र सांसदले सर्वोच्चको फैसलाको विरोध गरिरहेका छन् । प्रमुख प्रतिपक्ष एमालेका नेताहरू पनि फैसलाको विपक्षमै छन् । कतिपय नेताले सर्वोच्च विकासमा बाधक बनेको आरोप लगाएका छन् भने कतिपयले यसलाई षड्यन्त्रका रूपमा आशंका गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत रहेका सांसदले सर्वोच्च अदालतको फैसलाको विरोध गरेका थिए । उनीहरूले आवश्यक परे कानुन संशोधन गरेर भए पनि विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । समितिले भने राष्ट्रिय गौरवको परियोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थाल्न सरकारलाई निर्देशन दिएको छ ।

‘नेपालको राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित देखिन्न,’ समितिको निर्देशनमा भनिएको छ, ‘बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रयोजनका लागि भइसकेको अर्बौं रुपैयाँ खर्चलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्न सक्छ, । अतः राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यावहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिइन्छ ।’

सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढमात्रै रहेको र त्यसको निर्माण गर्नैपर्ने बताए । ‘विकासको सहयोगी हुनुपर्छ, राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन । न्यायपालिकाको निर्णय गर्ने तरिकाका बारेमा पनि गहन चिन्तन, मनन गर्नुपर्ने भएको छ । यसरी विकासका निम्ति सहयोगी हुनुपर्नेमा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेबारे हामीले सबै निकायलाई सजग बनाउन आवश्यक छ,’ उनले भने, ‘अदालतको फैसला हेरेर विमानस्थल निर्माणमा अगाडि बढ्नुपर्छ ।’

नेता नेपालले विमानस्थल निर्माणका विषयमा भारत सरकारसँग कुरा गर्नुपर्ने पनि बताए । ‘यो विमानस्थल नबनोस् भन्ने एउटा ठूलो षड्यन्त्र छ । सीमापारि दरभंगा, कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका छन् । वीरगन्जसँग जोडिएको रक्सोलमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना छ । त्यो निजगढमा नबनोस् भन्ने सोचबाट आएको छ,’ पूर्वप्रधानमन्त्री नेपालको दाबी छ, ‘यस सम्बन्धमा सरकारले गम्भीरताका साथ कुरा गर्नुपर्छ ।’ उनले निजगढ विमानस्थल निर्माणमा बाधा पुर्‍याउन सुरुमा धार्मिक रूख भएकाले बनाउने हुँदैन भनिएको, त्यसपछि हात्ती हिँड्ने रुटको कुरा उठाइएको र पछि वन तथा वातावरणको मुद्दा बनाएर अवरोध गर्न खोजिएको बताए ।

प्रतिनिधिसभामा कांग्रेस सचेतकसमेत रहेकी सांसद पुष्पा भुसालले निजगढ विमानस्थललाई नै लक्ष्य गरेर फास्ट ट्र्याक बनाइँदै गरेको बताइन् । ‘विमानस्थल निर्माणका लागि कानुनमा आवश्यक पर्ने संशोधन, मन्त्रिपरिषद्ले गर्नॅपर्ने नीतिगत निर्णयका कुरा तुरुन्त गरेर काम अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘यो विमानस्थल मुलुकको अर्थतन्त्रको आशा र भरोसा हो ।’

एमाले सांसद भीम रावलले सर्वोच्च अदालतको आदेशप्रति प्रश्न गरे । ‘अदालतले चौकिल्ला तोक्छ भने त्यो मिलाएर बनाऔं । मुद्दा लड्नुपरे लडौंला । अदालतले गर्न हुने अनि हामीले राष्ट्रिय हितमा निर्माण गर्न नहुने भन्ने हुन्छ ? अदालत छुट्टै टापुमा बसेको हो ? राज्यको अंग होइन ? त्यहाँ बस्नेहरूले देश र जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्ने हेर्नुपर्दैन ?’ उनको प्रश्न थियो ।

कांग्रेस सांसद प्रकाशमान सिंहले निजगढ विमानस्थल निर्माण गर्न नसके नेपालले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘सबै दल र जनप्रतिनिधिले गम्भीरताका साथ सोच्नुपर्छ । सर्वदलीय रूपमा पारित गरेर वा कानुनमा संशोधन गरेर भए पनि विमानस्थल निर्माण गर्नुपर्छ,’ उनले भने । माओवादीका सांसद सुदन किरातीले कानुन नै परिवर्तन गरेर भए पनि योजनालाई जतिसक्दो छिटो सक्ने दिशामा अघि बढ्नुपर्ने बताए । ‘यस्तो राष्ट्रघाती कदम राज्यका विभिन्न निकायबाट भइराखेको छ यो खेदजनक छ । यसलाई खारेज गर्ने दिशामा जानुपर्छ,’ उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सर्वोच्च अदालतबाट यसअघि पनि विकासविरोधी फैसला र आदेश आएको टिप्पणी गरे । ‘निजगढ पुग्ने फास्ट ट्र्याकका लागि राज्यले २ अर्ब खर्च गरिसकेको छ । विमानस्थल बनाउने भनेर ३ अर्ब खर्च भइसकेको छ । त्यसको गुरुयोजना बनिसकेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका नाममा ८ हजार ५० हेक्टर जग्गा आइसकेको छ । ईआईए प्रतिवेदन बनिसकेको छ,’ उनले भने, ‘सम्मानित अदालतले दिएको आदेशबमोजिम केही तलमाथि गर्नुपर्ने भए सुधार्न सक्छौं ।’

मन्त्री आलेले राजस्व नतिर्ने क्यासिनोहरूको लाइसेन्स खारेज गर्दा उनीहरूकै पक्षमा सर्वोच्चबाट आदेश आएका उदाहरण दिएका थिए । नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थलको योजना परिसकेकाले मन्त्रालय पछि नहट्ने मन्त्री आलेको भनाइ थियो ।

फैसलाको पूर्णपाठ पर्खनुपर्थ्यो : बलराम केसी‚ पूर्वन्यायाधीश‚ सर्वोच्च अदालत

सर्वोच्चले निर्णय बदर गरिसकेपछि संसदीय समितिले निर्माण प्रक्रिया थाल्नू भन्न हुँदैनथ्यो । समितिले सर्वोच्चको फैसलाको पूर्णपाठलाई पर्खिनुपर्छ । नत्र कानुनी शासनै भएन । संविधानको व्याख्या गर्ने र मुद्दाको टुंगो लगाउने अधिकार सर्वोच्च अदालतको हो । सरकार र संसद् सर्वोच्चको फैसलाविरुद्ध रहनुले अदालतले स्वतन्त्र रहेर फैसला गरेको रहेछ भन्ने देखाउँछ । कार्यपालिका र न्यायपालिकाबीच साँठगाँठ रहेनछ भन्ने राम्रो प्रमाण हो यो ।

सर्वोच्चको पूर्णपाठ आएको छैन, फैसला सुनाउँदा केही भनिएको छैन । रोकिएको छ मात्रै भनियो । यसले गर्दा जनमानस र नागरिक समाजमा अलमल छ । शक्ति पृथकीकरणको सिद्धान्तमा देश विकास गर्ने कार्यपालिकाको अधिकार हो । कार्यपालिकाको काम ठीक र बेठिक जाँच्ने काम न्यायपालिकाको हो । दुवैको लक्ष्मणरेखा हुन्छ । पीआईएल (सार्वजनिक सरोकारको विवाद) मा अदालतको आफ्नै ३६० डिग्रीको लक्ष्मणरेखा हुन्छ । देश विकासका लागि नीति बनाउने कार्यपालिकाको आफ्नै सीमा छ । कानुनले रोकेको बाहेक सबै काम उसले गर्न पाउँछ । कन्फ्युजन कहाँनेर भयो भने फैसला सुनाउँदा कारण दिइएन । अब अदालतले विकासमा हस्तक्षेप गरेको जस्तो भयो । पूर्ण पाठमा फैसलाले तपाईंको अधिकारमा हस्तक्षेप गरेका छैनौं, देश विकास गर्ने, आर्थिक नीति बनाउने र निर्णय लिने अधिकार तपाईंको हो भनिदिनुपर्‍यो । यति कारणले विमानस्थल निर्माण गर्दा वातावरण ध्वस्त हुने भयो, रोक्ने फैसला गर्नुपर्‍यो भनेर विस्तृत आइदिनुपर्‍यो । पहिलो दिनमा नै पूर्णपाठ दिन सम्भव हुँदैन । त्यो हामीले बुझिदिनुपर्छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्

परिवारकै सात जना रहेनन्

‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ’
दीपक परियार, सुनीता बराल, हरिराम उप्रेती, हरि गौतम

पोखरा, महोत्तरी, गोरखा र रुकुम पश्चिम — बिलौना गरिरहेकी शान्ति लामा बेलाबेला डाँको छाडेर रुन्छिन् । बहिनी कान्ति, बुहारीहरू प्रेमकुमारी, पवित्रा र प्रतिष्मा घरीघरी परिवारको सम्झनामा भक्कानिइरहेका छन् । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनामा परिवारका सात जना एकैपटक गुमेको खबरले शान्तिको परिवारसँगै धनुषाको मिथिला–११ लोहटा गाउँ नै स्तब्ध छ । ‘हे निष्ठुरी दैव, मेरा सबैलाई किन लगिस् ? किन बनाइस् हामीलाई टुहुरो ? म कसरी मन बुझाऊँ ? कसको सहारामा बाँचौं ?’ शान्ति भनिरहन्छिन् ।

गत शुक्रबार बिहान मुक्तिनाथ जान शान्तिका बुबा मकरबहादुर तामाङ र आमा सुकुमाया घरबाट अटोरिक्सामा निस्किएका थिए । तामाङ दम्पतीसहित शान्तिका दुई फुपू–फुपाजू र फुपूका छोरा राजन गोले (दाइ) पनि सँगै तीर्थ हिँडेका थिए । आइतबार बिहान दुर्घटनामा परेको जहाजमा परिवारका सात जना एकैपटक गुमाएपछि शान्तिको परिवारमा अशान्तिको छाल मडारिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका शान्तिका फुपाजु इन्द्रबहादुर गोले र फुपू राममायाका कान्छा छोरा मनोज विदेश गएर पहिलो कमाइको पैसाले परिवारलाई घुमाउन चाहन्थे । झन्डै वर्ष दिनअघि बेलायत गएका मनोजले पठाएको खर्चले तामाङ र गोले परिवारको गत चैतमै घुम्न जाने योजना थियो । मनोजले बुबा–आमा, मामा–माइजू र सानोबुबा–सानीआमा (पुरुषोत्तम गोले र तुलसादेवी तामाङ) लाई घुमाउने आफ्नो इच्छा पूरा गरिदिन दाइ राजनलाई अनुरोध गर्दै खर्च पठाएका थिए ।

घुम्न निस्कने योजना राजनले निर्वाचनका कारण पछि सारेका थिए । केही दिन गाडीमा जाने कि जहाजमा भन्ने छलफल चलिरह्यो । पछि मकर, सुकुमाया काठमाडौं जाने र जहाजबाटै मुक्तिनाथ जाने तय भएको थियो । शान्ति मामाकी छोरी हुन् भने राजन र मनोज फुपूका छोरा हुन् । ‘दुवै जना फुपू–फुपाजु र राजन काठमाडौंमै थिए,’ शान्तिले भनिन्, ‘मेरो बुबालाई चाहिँ असाध्यै मुक्तिनाथ जान मन थियो तर आमा जाने मन छैन भन्दै जानुभएको, अब कहिले नफर्किने भए ।’

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरबाट सोमबार शव संकलन गर्दै सुरक्षाकर्मी । तस्बिर : सशस्त्र प्रहरी बल

शान्तिका बुबा मकर गाउँमा ४० वर्ष शिक्षण पेसा गरेका अवकाशप्राप्त शिक्षक थिए । दुर्घटनामा परेपछि गाउँले दुःखी छन् । उमेरले ४० पुगेका राजनका बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका थिए । बुबाआमा काठमाडौंमा बस्न नमानेपछि राजनले गाउँमा दुई तलाको पक्की घर बनाइरहेका थिए । राजनले काठमाडौंमै बस्ने उनका सानोबुबा सानीआमा, लोहटामा बस्ने मामा माइजूलाई समेत काठमाडौंमा जुटाएर सिंगो परिवार नै मुक्तिनाथ लैजाँदै थिए ।

उनीहरूले मुक्तिनाथ जाने र फर्कने टिकट एकैपटक लिएको शान्तिले बताइन् । ‘एक सातामा घरै आइपुग्छौं नानी भनेर शनिबार राति ९ बजे बुबाले फोन गर्नुभएको थियो,’ शान्तिले भनिन्, ‘आइतबार कसैसँग कुरा हुन पाएन । एकैपटक जहाज हराएको खबर पाएँ ।’ जहाज हराएको सूचना पाएपछि सबैलाई फोन गर्ने प्रयास गरे पनि नभएको उनले बताइन् । ‘जहाज हरायो भन्दा के गर्ने कसो गर्ने भयो,’ उनले भनिन् । परिवारका सबै अभिभावक गुमाउनुपरेको पीडाले उनीहरू छट्पटाइरहेका छन् । तामाङ दम्पतीका तीन छोरा, दुई छोरी छन् ।

गोरखाका एकै परिवारका ४ जना परे

अध्ययनको सिलसिलामा अमेरिकामा रहेका गोरखाको सहिद लखन–५ तिनमानेका गणेशनारायण श्रेष्ठका छोरीहरू रविना र रोजिना घर आएका बेला परिवारसहित घुम्न मुक्तिनाथ निस्किएका थिए । ५२ वर्षीय गणेशनारायण, श्रीमती ४८ वर्षीया रश्मि, छोरीहरु २० वर्षीया रविना र २३ वर्षीया रोजिना जहाज दुर्घटनामा परेका हुन् । स्थायी घर तिनमाने भए पनि काठमाडौंमा श्रेष्ठ परिवार बस्दै आएको थियो । ‘आइतबार बिहान जहाज हरायो, केहीबेरमा हाम्रा छिमेकी पनि हुनुहुन्छ भनेपछि स्तब्ध बन्यौँ,’ तिनमानेका विजय पुडासैनीले भने, ‘वैशाख २२ मा गाउँ आएर फर्कनुभएको थियो ।’

मृतकहरुको शव काठमाडौं ल्याइँदै ।तस्बिर: अंगद ढकाल

परिवारका चार जना सवार जहाज हराएको खबर पाएलगत्तै अध्ययनका लागि अमेरिकामा रहेका श्रेष्ठका छोरा रोशन नेपाल फर्केको गणेशनारायणका भान्जा कृष्ण श्रेष्ठले बताए । ‘मामा मिलनसार हुनुहुन्थ्यो, समाजसेवामा पनि रुचि राख्नुहुन्थ्यो,’ कृष्णले भने । जहाजमा तिनमानेका चार जना रहेको खबर सुनेलगत्तै गाउँपालिका अध्यक्ष रमेश थापालगायत गाउँले आइतबारै पोखरा पुगेका थिए । शव लिन श्रेष्ठका आफन्त र छिमेकी सोमबार पोखराबाट काठमाडौं गएका छन् ।

नातिनी पर्खिरहेकीे छन् उमासरा

‘सम्झनाहरू सँगै लिएर मर्ने लक्ष्य छ, सपनाहरू होइन...’ एक वर्षअघि गोसाइँकुण्ड पुग्दाको फोटो फेसबुकमा राखेर यी हरफ लेखेकी एयर होस्टेस किस्मी थापा आइतबार मुस्ताङमा अस्ताइन् ।

थासाङ–२ सानोसरेमा भएको जहाज दुर्घटनामा परिवारको एक भरोसा ढल्यो । उमासरा किस्मीको सबैथोक थिइन् । उमासरा रणपाल (परियार), किस्मीकी मामाघरकी हजुरआमा । स्याङ्जाको चापाकोट–४ मल्याङकोटकी विष्णुदेवी रणपालले गाउँमै अन्तरजातीय विवाह गरिन् । थापामगर श्रीमान्को परिवारले उनलाई दलित भन्दै स्विकारेन । छोरी जन्मिएपछि श्रीमान्ले पनि हेलाँहोचो गर्न थाले । विष्णुदेवी किस्मीलाई च्यापेर माइत फर्किइन् । छोरी र नातिनी पाल्ने जिम्मा उमासराको काँधमा आयो ।

नातिनी नजन्मिँदै उमासराले भारतीय सैनिक श्रीमान् गुमाएकी थिइन् । पेन्सन बुझेर जीविका चलाइन् । छोरी र नातिनीलाई आफ्नै भरमा राखिन् । किस्मी पढाइमा सानैबाट तेज थिइन् । पेन्सन बुझेको पैसाले नातिनी पढाइन् । विष्णुदेवीले अर्को बिहे गरेपछि झन् नातिनीभन्दा बढी छोरीकै रूपमा किस्मीलाई उनले अपनाइन् ।

किस्मीले गाउँकै विद्यालयबाट एसईई र वालिङबाट १२ कक्षा उत्तीर्ण गरिन् । उनको लक्ष्य थियो– एयर होस्टेस बन्ने । मामाका छोरा अमर परियारका अनुसार आफन्तले उक्त पेसा नरोज्न भने पनि किस्मीले मानिनन् । आफ्नो ‘सपना’ पूरा गरेरै छाडिन् । पोखरामा एयर होस्टेसको कक्षा लिइन् ।

उमासरा हक्की स्वभावकी थिइन् । अनुभव र व्यवहारले खारिएर अनेक दुःख–अड्चन पार गरेर आएकी उनी समाज सेवामा पनि सक्रिय थिइन् । गाउँटोल, छरछिमेकले उनको कुरा खान्थे । किस्मीमा ठ्याक्कै उनकै गुण सरेको अमर बताउँछन् । ‘हजुरआमा कसैसँग नडराउने, आँटिली, मिहिनेती हुनुहुन्छ,’ उनले भने, ‘दिदीको स्वभाव पनि त्यस्तै थियो ।’ किस्मीको प्रेरणाको स्रोत नै हजुरआमा हुन् ।

२७ वर्षीया किस्मी घुम्न खुब रुचि राख्थिन् । नयाँ ठाउँ घुम्ने, साहसिक गतिविधिमा रमाउने सोख थियो । गत साता काठमाडौंमा बलात्कार तथा यौन हिंसाविरुद्धको प्रदर्शनमा उनी सहभागी भएकी थिइन् । टिकटकमा भिडियो राख्दै उनले महिला सशक्तीकरणका लागि आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएकी छन् । बुबाले आफ्नो नामबाट नागरिकता बनाइदिन नमान्दा उनले लडेरै लिएकी थिइन् ।

पाँच वर्षअघि उनले यती एयरलाइन्समा जागिर सुरु गरिन् । यतीले उनलाई भगिनी संस्था तारा एयरमा पठायो । उनले एयर होस्टेसका रूपमा काठमाडौं–लुक्ला, पोखरा–जोमसोम, नेपालगन्ज–रारालगायत रुटमा धेरै उडान भरिन् । केही समयअघि उनले आमा र हजुरआमालाई डोल्पा घुमाउन लगेकी थिइन् ।

मावली घरमै हुर्किएकाले मामाका छोराछोरीलाई पढाउने जिम्मा आफ्नो पनि भएको उनले महसुस गरिन् । बहिनी शर्मिला र भाइहरू आरजु र दिवसको पढाइ खर्च व्यहोरिन् । उनकी आमा विष्णुदेवी यसपटक दलित महिला वडा सदस्यमा भएकी छन् । सबैतिर राम्रो भइरहेको थियो । आइतबार जहाज दुर्घटनाको खबर सुन्दा मल्याङकोटमा सन्नाटा छायो । खबरले किस्मीकी आमा विष्णुदेवी अचेत थिइन् । उमासराले भनिन्, ‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ ।’

बुबाको त्यो अन्तिम आशीर्वाद

२५ वर्षीय उत्सव पोखरेल आइतबार बिहान जोमसोम उडानको तयारीमा थिए । पोखरामा रहेका उनले ट्विन अटरबाट उडान भर्नुअघि जाजरकोट सदरमुकाममा रहेका बुबा मणिरामसँग छोटो कुराकानी गरे । मणिरामले ‘शुभयात्रा बाबु’ भनेर आशीर्वाद दिए । उत्सव पोखराबाट जोमसोमका लागि उडे ।

मणिराम भने आफू कार्यरत जाजरकोटकै नलगाड नगरपालिकातर्फ लागे । मणिराम कार्यक्षेत्र नपुग्दै उत्सव को–पाइलट रहेको तारा एयरको उक्त विमान सम्पर्कविहीन भएको खबर आयो । मणिराम नगरपालिकाकै व्यवस्थापनमा नेपालगन्ज हुँदै काठमाडौं पुगे । सोमबार बिहान विमान दुर्घटना भएको यकिन भएपछि उनको गाउँ चौरजहारी–३ शोकमा छ । उत्सव चौरजहारीका पहिलो पाइलट थिए ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×