कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माग ९९ : परीक्षार्थी २० हजार ७ सय 

परीक्षा दिन बैतडीदेखि धनकुटासम्म
रमेशचन्द्र अधिकारी

धनकुटा — नेपालका बेरोजगारी समस्या कस्तो छ भन्ने कुरा लोक सेवा आयोगले खुलाएका विज्ञापनमा पर्ने आवेदनबाटै प्रस्ट हुन्छ । केही संख्या माग हुँदा हजारौंको आवेदन पर्ने गरेको छ । लोक सेवा आयोग प्रदेश नम्बर १ ले सञ्चालन गरेको वाणिज्य बैंक सहायक प्रशासन समूहको परीक्षामा जम्मा ९९ सिटका लागि २० हजार ७ सय परीक्षार्थी सहभागी छन् ।

माग ९९ : परीक्षार्थी २० हजार ७ सय 

आयोगले सञ्चालन गरेका परीक्षामध्ये यो हालसम्मकै बढी रहेको जनाइएको छ । प्रदेश नम्बर १ अन्तर्गत भए पनि परीक्षा दिन मुलुकभरका अधिकांश जिल्लाबाट परीक्षार्थी सामेल भएको लोकसेवा धनकुटा कार्यालयका प्रमुख बलदेवप्रसाद जोशीले बताए ।

योग्यता पुगेका मुलुकभरका परीक्षार्थीले परीक्षा दिन सक्ने व्यवस्था भएकोले पूर्वदेखि सदूर पश्चिमसम्मका परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए । शैक्षिक बेरोजगारको संख्या बढ्दै गएकोले पनि यो अवस्था आएको जनाइएको छ । आयोगले सञ्चालन गर्ने अन्य समूहभन्दा संस्थानमा आकर्षण बढेको जोशीको तर्क छ । ‘बैंकिङ क्षेत्रमा पछिल्लो पुस्ताको आकर्षण बढ्दो छ’, उनले भने, ‘राष्ट्र्र बैंक तथा वाणिज्य बैंकमा अत्यधिकसहभागी हुने गरेका छन् ।’ बैंकिङ क्षेत्रको शैक्षिक उत्पादन बढी भएकोले पनि यो अवस्था आएको हुन सक्ने उनको भनाई छ ।

शनिबार र आइतबार जारी परीक्षा दिन सुदूरपश्चिमको बैतडीबाट धनकुटा पुगेकी अम्बिका रानाले बढ्दो शैक्षिक बेरोजगारको कारण पनि बढी प्रतिस्पर्धा हुने बताइन् । उनी पश्चिममा भन्दा प्रदेश १ मा बढी सिट रहेका कारण प्रतिस्पर्धा गर्न सहज हुने ठानेर आएको बताउँछिन् ।

यस्तै, झापाको भद्रपुरबाट सहभागी भएकी परीक्षार्थी एलिना गौतम बैंकिङ क्षेत्रमा आकर्षक तलब तथा सुविधा रहेकोले सहभागी बढ्नु स्वभाविक रहेको तर्क राख्छिन् । अन्य सेवा तथा समूहमा कम सिट क्षमता हुने गरेको र बैंकिङ क्षेत्रमा बढी हुने उनको भनाई छ । अर्की सहभागी अनिशा निरौलाको पनि समान धारणा छ । परीक्षार्थी बढी हुनुमा शैक्षिक योग्यता १२ कक्षा उत्तीर्ण मात्र हुनु पनि प्रमुख रहेको उनको तर्क छ । वाणिज्य बैंक सहायक प्रशासन समूहको परीक्षाका लागि १२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता रहेको छ ।

परीक्षा फारम पाँच महिना पहिले खुलाइएको थियो । यसअघि पनि बैंकिङ समूहकै प्रदेश स्तरीय परीक्षामा १६ हजारसम्म परीक्षार्थी सहभागी थिए । तर, विज्ञापन नम्बर ९६/२०७८/७९ खुला र समावेशी बैंकिङ समूहमा हालसम्मकै बढी परीक्षार्थी रहेको आयोगको भनाई छ ।

आयोगले धनकुटा सदरमुकाम र मोरङको विराटनगरमा परीक्षा केन्द्र कायम गरेको छ । ती जिल्लाका क्याम्पस, विद्यालय, लोक सेवा आयोग कार्यालयमा परीक्षा केन्द्र कायम गरिएका थिए । अत्यधिक संख्या भएकोले धनकुटामा परीक्षार्थीलाई बासस्थानको अभाव रहेको थियो । धनकुटा बजार, देब्रेबास, हिलेलगायतका होटल परीक्षार्थीले भरिभराउ थिए । परीक्षामा कति संख्यामा अनुपस्थित भए भन्नेबारे आयोगले तथ्यांक प्राप्त भइनसकेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?