दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

काठमाडौं, म्याग्दी — हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा १४ हजार ५ सय फिटको उचाइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् ।

कोवाङबाट ३ घन्टामाथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा विमान ठोक्किएर क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेर सेनालाई खबर गरेका थिए । जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमालमुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा विमान ठोकिएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख रामकुमार दानीले प्रहरी र स्थानीयले शव तथा अन्य समाग्री संकलन गरिरहेको बताएका छन् ।

पोखरा–जोमसोम उड्ने विमानहरु म्याग्दी–मुस्ताङ सीमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिब ५ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन् । यो विमान बफर जोन क्रसगरी जोमसोम विमानस्थलको टावरमा सम्पर्कमा आएपछि बेपत्ता भएकोले मुस्ताङको लेते, कोवाङ क्षेत्रलाई आधार मानेर खोजी गरिएको थियो ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाइन ९ एन–एइटी भएको ट्विनअटर विमान आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?