'पाइलटको मोबाइलको नेटवर्क चलिरहेको छ, हामी ट्रेसिङ गरिरहेका छौं'- समाचार - कान्तिपुर समाचार

'पाइलटको मोबाइलको नेटवर्क चलिरहेको छ, हामी ट्रेसिङ गरिरहेका छौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको 'अल्फा इको ट्यांगो' कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले कान्तिपुरलाई जानकारी दिए ।

उनले भने,'हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौं । स्थल र हवाइ मार्गबाटै खोजी गरिरहेका छौं । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । हामीले त्यही अनुसार लोकेसन ट्रेसिङ गरिरेहका छौं ।' धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

प्रकाशित : जेष्ठ १५, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

सैनिक प्रवक्ताले भने- सेनाको पैदल टोलीले पनि विमान पत्ता लगाउन सकेन, खोजी कार्य जारी छ

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहाँ दुर्घटना भएको भन्ने सेनाको टोलीले पनि पत्ता लगाउन सकेको छैन । मुस्ताङको घाँसा पोष्टबाट सेनाको पैदल टोली सम्भावित दुर्घनास्थल खोज्दै गएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पनि सैनिक टोली खोजिमा गएको थियो ।

आइतबार बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको थियो । विमान मुस्ताङको लेतेको आसपासमा नौलीकोटमा दुर्घटना भएको आशंका गरिएको थियो ।

सैनिक प्रवक्ता नारायण सिलवालले आइतबार कान्तिपुरसँग भने, 'पोखराबाट हाम्रो टोली साढे १ बजे टेकअफ भएको छ । रेस्क्यु टोलिसहित दुर्घटनास्थल पत्ता लगाउनका लागि हेलिकोप्टर त्यसतर्फ गएको हो । दुर्घटनास्थल पत्ता लागेमा उद्दार टोलीलाई त्यहीँ झार्नेछ । दुर्घटनास्थलको पुष्टि भएको छैन ।'

नेपाली सेना पैदलमार्गबाट पनि सम्भावित दुर्घटनास्थल गएको तर दुर्घटनास्थल नभेटिएको प्रवक्ता सिलवालले भने । 'घटना भएको खबर आउने बित्तिकै मुस्ताङको घाँसाबाट ६२ जना सैनिकको फौज पैदल गएको थियो । त्यसले पनि पत्ता लगाउन सकेको छैन । सम्भावित २-३ ठाउँको पत्ता लगाउन भनेको थियो तर सकिएन । खोजिरहेको छ ।'

सैनिक प्रवक्ता सिलवालका अनुसार मुस्ताङको मौसममा केही सुधार भएपछि काठमाडौंबाट उद्दारका लागि उडेर पोखरामा रोकिएको हेलिकोप्टर पनि सम्भावित दुर्घटनास्थलतर्फ गएको छ । 'काठमाडौंबाट गएको एमआई १७ हेलिकोप्टरमा गएको टोली पोखरामा बसेको थियो । मैसम सुधार भएर पोखराबाट टेकअफ भएको १० मिनेट भएको छ,' उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०७९ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×