२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बहराइनमा नेपाल चिनाउँदै मधु

विनोद भण्डारी

विराटनगर — विराटनगरकी मधु लखोटिया बहराइनको बुदैया सहरमा बस्छिन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीलाई साताको एक घण्टा नेपाली संगीत सुनाउँछिन् । कोभिडको संक्रमण फैलन थालेपछि बहराइन सरकारले सरकारी रेडियोमार्फत जनतालाई सचेत गराउन विभिन्न भाषामा अभियान सुरु गर्दा मधु पनि छानिइन् । साताको एक घण्टा नेपाली भाषामा कोभिडबाट सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि उनलाई छनोट गरिएको थियो ।

बहराइनमा नेपाल चिनाउँदै मधु

त्यसपछि उनले बहराइनमा रहेका नेपालीका लागि नेपाली भाषामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन् । ‘प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म रेडियोमार्फत नेपाली कार्यक्रम सञ्चालन गर्दै आएको छु,’ मधुले ह्वाट्सएपमा कान्तिपुरसँग भनिन्, ‘कार्यक्रम मार्फत नेपाली भाषामा सन्देश मात्र प्रसारण गर्दिन, त्यहाँ नेपाली संगितको पनि प्रचार गर्छु ।’

अहिले पनि त्यो कार्यक्रम नियमित छ । बहराइनको बुदैया सहरमा मात्र एक हजारभन्दा बढी नेपाली काम गर्छन् । उनले भनिन्, ‘उनीहरूका लागि मेरो कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।’ उनी यसअघि नेपाली राजदूत पदम सुन्दासबाट बाट सम्मानित पनि भइसकेकी छन् ।

विराटनगरका जुगल लखोटियाकी छोरी मञ्जु स्नातक तहसम्मको पढाइ सकेर भारतको रायगन्जस्थित माल्दहका सन्दीप शारदासँग विवाह गरेर बहराइन पुगेकी हुन् । उनका पति सन्दीप त्यहाँ चार्टर एकाउन्टेन्ट छन् । बहुप्रतिभाशाली मधु पेन्टिङ र लेखनमा पनि सक्रिय छिन् । उनी बहराइनमा आर्ट फर अटेजममार्फत समाजसेवामा पनि सक्रिय रहेकी उनका मामा विराटनगरका नन्दकिशोर राठीले बताए ।

उनले त्यहाँ मधुबनी, मिथिला र मण्डला आर्टको प्रशिक्षण पनि दिंदै आएकी छन् । बुद्ध, नेपाली लेडी, मधुवनी, मिथिला र मण्डला आर्ट बहराइन फाइनान्सेल हार्डवर आर्ट प्रदर्शनीमा तीन पटक उनको सिर्जन सहभागी गरियो । उक्त प्रदर्शनीमा विश्व प्रसिद्ध पेन्टर एमएफ हुसेनका पेन्टिङ पनि राखिएको राठीले बताए । मधु योगको प्रशिक्षक पनि हुन् ।

उक्त प्रदर्शनीमा उनको २५ वटा पेन्टिङ राखिएको थियो । त्यस अवसरमा बहराइनका लागि नेपाली राजदूत सुन्दास र भारतका राजदूत पीयूष श्रीवास्तवले सम्मान पनि गरे । मधुका अनुसार उक्त अवसरमा बहराइनका संस्कृति मन्त्री रेदा फराजले ७ सय वहरानी दिनारमा ४ वटा पेन्टिङ खरिद गरेका थिए । उनी त्यहाँ रेस्टुरेन्टका लागि पनि आर्ट डिजाइन गर्छिन् ।

मधुले पिजाहट जिङ्गमा मुरल आर्ट पनि गरेकी छन् । बहराइन पूर्ण विकासका लागि बनाएका सन्देश वाहक पेन्टिङका लागि सरकारले मधुलाई सम्मान पनि गरिसकेको छ । सेफ विनीत भाटियासँग एभरेस्ट बेस क्याम्पमा छोरी बचाउ अभियानमा जाने एक मात्र महिला सदस्य पनि हुन् मधु । उनले एभरेस्ट इन माई हर्ट र मेनिफेस्टिङ माउन्टेन नामक किताब पनि लेखेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल भारत वर्षीय महेश्वरी महिला संगठनले उनलाई सशक्त महेश्वरी ग्लोबल महिलाको उपाधिले सम्मान पनि गरेको छ । ‘योग्यतालाई उमेर र स्थानले छेक्दैन,’ मधुले भनिन्, ‘गृहणी होस् वा कामकाजी महिला, आफूभित्र लुकेको प्रतिभा बाहिर ल्याउन सक्नुपर्छ ।’

प्रकाशित : जेष्ठ १५, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?