१२ को परीक्षा सोमबारदेखि - समाचार - कान्तिपुर समाचार

१२ को परीक्षा सोमबारदेखि 

कान्तिपुर संवाददाता

काठमाडौँ — कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । 

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो । महामारी हटेको र लकडाउनको अवस्था पनि नरहेकाले बोर्डले तोकेको निश्चित केन्द्रमा मात्रै परीक्षा लिइने अर्यालले बताए । त्यसका लागि बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ ।

कोभिड महामारीका बेला होम सेन्टरमा नै परीक्षा सञ्चालन हुँदा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको थियो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षाकै दिन केन्द्रहरूमा प्रश्नपत्र पठाइने छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यसअघि बोर्डले वैशाख ९ देखि २० सम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । एसईईको उत्तरपुस्तिका परीक्षणलगायत नतिजा प्रकाशनको तयारीको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साउन पहिलो साताबाट कक्षा ११–१२ को नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने गरी एसईई, कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशन तथा कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट अवैध काठ तस्करी बढ्यो

प्रहरी चुनावमा खटिएपछि भारतबाट ठूलो परिमाणको अवैध काठ भित्रिएको आशंका 
कमल पन्थी

बर्दिया — प्रहरीले धर्म र गंगा बस्ती इलाकामा बेबारिसे अवस्थामा रहेका सालका गोलिया काठ शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरी बलले मधुवन नगरपालिका–९ धर्म र गंगा बस्ती इलाकाबाट झन्डै १ सय ५० क्युफिट काठ बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक टीकाराम मैनालीका अनुसार लुकाई राखेको अवस्थामा फेला परेको काठ भारतबाट भित्रिएको आशंका छ । गुलरिया–१० मा भारतबाट ल्याई लुकाएको आशंकामा प्रहरीले शुक्रबार पनि सागुन जातका २५ क्युफिट काठ बरामद गरेको थियो । ती काठ स्थानीय सःमिलमा लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।

सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी चुनावमा खटिएपछि भारतबाट ठूलो परिमाणको अवैध काठ भित्रिएको आशंका वनका कर्मचारीको छ । ती काठलाई वैधता दिन तस्कर लागिपरेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले अवैध काठलाई वैधता दिन नमिल्ने बताए । उनले फेला परेको काठ जफत गरेर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।

काठ तस्करी बढेपछि प्रहरीले नियमित गस्ती गर्न थालेको छ । सीमा क्षेत्रमा रहेका सःमिल र काठ तस्करले रातको मौका छोपेर काठ भित्र्याउने गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सःमिल सञ्चालकका अनुसार भारतीय वनका कर्मचारीसँग मिलेर काठ भित्र्याउने गरिन्छ । भारत बहराइच जिल्लाअन्तर्गत कतरनिया वन्यजन्तु आरक्षणसँग नेपाली सीमा जोडिएको छ । वन रक्षाका लागि खटिएका मुन्सीबाटै रूख काट्न लगाउने र त्यसबापत उनले मोटो रकम लिने गरेको स्रोतको भनाइ छ । ‘रूख राति काटिन्छ । सीमामा तैनाथ एसएसबीको राति वनगस्ती नगरेको मौका छोपी मुन्सीले सहयोग गर्छन्,’ एक सःमिल सञ्चालकले भने, ‘उनीहरूकै सहयोगमा नेपाल भित्रिन्छ ।’ रूख काटेपछि जरासमेत उखेलेर माटोले पुर्ने गरेको समेत उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×