१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पदभार ग्रहणदेखि नै ‘फजुल’ खर्च

सर्लाही र रौतहट — विकास र सुशासनका आश्वासन दिएर स्थानीय तहमा निर्वाचित भएका अधिकांश जनप्रतिनिधि शपथग्रहणअघिबाटै फजुल र अनावश्यक क्षेत्रमा बजेट खर्चन थालेका छन् । नगर र गाउँपालिकाका अधिकांश प्रमुख/उपप्रमुखले पदभार ग्रहणअघि नै आफ्नो कार्यकक्षका सजावट फेर्न लगाएका छन् । वास्तु नमिलेको, पुराना जनप्रतिनिधिसँगको रिस र कर्मचारीमा देखिएको ‘चाकडी’ प्रवृत्तिले नयाँ जनप्रतिनिधिको पहिलो दिनमै आर्थिक भार बढेको छ ।

पदभार ग्रहणदेखि नै ‘फजुल’ खर्च

फर्निचर खरिदलगायत कार्यकक्ष सजावटका लागि एउटा पालिकामा १० देखि १५ लाखसम्म खर्च गरेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिकाले भर्खरै निर्वाचित भएका प्रमुखका लागि नयाँ टेबल–कुर्सी खरिद गरेर कार्यकक्ष चिटिक्क बनाएको छ । मेयर मनोज आचार्यले शपथ लिएपछि नयाँ टेबल–कुर्सीमै बसेर कार्यभार सम्हाले । कार्यकक्षमा रहेका पुराना टेबल–कुर्सी भने अन्यत्र सारिएको छ । प्रयोगमै रहेका टेबल–कुर्सी किन फेरियो त ? भन्ने प्रश्नमा त्यहाँका कर्मचारी बोल्न चाहेनन् । सर्लाहीकै चन्द्रनगर गाउँपालिकामा पनि नयाँ प्रमुखको सम्मानमा कर्मचारीले नयाँ टेबल–कुर्सी राखेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले तिनै नयाँ टेबलबाट कार्य आरम्भ गरे । हरिपुर नगरपालिकामा पनि प्रमुख बस्ने कोठामा कर्मचारीले टायल्स नै लगाइदिएका छन् । मेयर गोपाल पञ्जियारले टायल्स लगाएको कोठामा प्रवेश गर्दै कार्यभार सम्हालिसकेका छन् । कविलासी नगरपालिकामा पनि कर्मचारीले नयाँ जनप्रतिनिधि आउनुअघि कार्यालय रंग्याएका छन् । रङरोगन लगाएर चिटिक्क पारेको भवनमा मेयर ब्रह्मदेव रायले कार्यभार सम्हाले ।

सर्लाहीका धेरैजसो पालिका तथा वडामा जनप्रतिनिधिको सम्मानमा टेबल–कुर्सी फेरिएको छ । कतिपय स्थानमा जनप्रतिनिधिले नै वास्तु नमिलेको भन्दै टेबल–कुर्सी परिवर्तन गर्न लगाएको कर्मचारीहरू बताउँछन् । चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थिङले अध्यक्षको कार्यकक्षमा रहेको टेबल मात्र परिवर्तन गरिएको जानकारी दिए । पालिकामा नयाँ टेबल–कुर्सी आएको बिल पनि पास भइहाल्ने भएकाले कर्मचारीले यस्तो काम गरेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । ‘नयाँ अनुहार आएको पालिकामा कर्मचारीले चाकडी बजाउनका लागि टेबल–कुर्सी फेर्ने गरेका छन्,’ उनले भने, ‘बिल पास हुन कुनै समस्या नहुने भएपछि यो प्रवृत्ति देखिएको हो । यसमा जनप्रतिनिधिले चासो लिनुपर्नेमा उनीहरू पनि नयाँ टेबल–कुर्सी पाएपछि दंग छन् ।’

रौतहटको बृन्दावन नगरप्रमुख विनोप्रसाद कुर्मीले आफ्नो कार्यकक्ष र सबै वडामा नयाँ फर्निचर लगाउन निर्देशन नै दिए । अहिले नगरप्रमुखको कार्यकक्ष र ९ वटै वडामा नयाँ कुर्सी–टेबल र सोफा हालिएको छ । पुराना फर्निचर अन्यत्र प्रयोगमा लगाइएको नगरपालिकाले जनायो । निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नगरप्रमुख बस्ने कार्यकक्ष र वाडमा नयाँ फर्निचर लगाइएको बताए । ‘फर्निचर खरिद गर्न कति पैसा लाग्यो भन्ने यकिन छैन,’ उनले भने, ‘पहिलेका फर्निचर पुराना भए, त्यसैले नगर प्रमुखको आदेशमा नयाँ लगाएका हौं ।’

बृन्दावन नगरपालिकामा २०७४ को निर्वाचनमा कांग्रेसका रामस्नेही राय यादवले जितेका थिए । त्यसबेला कुर्मी पराजित भएका थिए । यसपटकको चुनावमा कुर्मीले जिते र यादव पराजित भए । यादव बस्ने कुर्सीमा नबस्ने भन्दै उनले नयाँ खरिद गर्न लगाएका हुन् । रौतहटका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पनि पुराना जनप्रतिनिधिले प्रयोग गरेका फर्निचर हटाउन लगाएका छन् । राजपुर नगरपालिकाले प्रमुखलगायत वडामा नयाँ फर्निचर खरिद गर्न लगाएको छ । त्यसका लागि झन्डै १५ लाख रकम लाग्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । ‘मेयरसाबले पुराना टेबल–कुर्सी हटाइदिनुस् भन्नुभयो,’ उनले भने, ‘त्यही भएर नयाँ खरिद गरेका हौं ।’

नयाँ प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षको फर्निचरलगायतका समान नयाँ राख्न निर्देशन दिने गरेका छन् । गरुडा नगरप्रमुख कन्तमुनि जैसवालले पदभार ग्रहण गर्न नपाउँदै कार्यालयको पुराना टेबल–कुर्सी र सोफा हटाई नयाँ लगाउन लगाएका थिए । चन्द्रपुर नगरप्रमुख सञ्जय काफ्लेले पनि कार्यकक्षमा नयाँ टेबल–कुर्सी हालिसकेका छन् । दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले निवर्तमान अध्यक्ष अरुण साह बसेको पुराना कुर्सी, फर्निचर सबै हटाएका छन् ।

१८ स्थानीय तह रहेको रौतहटमा मौलापुर, गुजरा, फुतुवाविजयपुर र परोहामा पुरानै नगरप्रमुख विजयी भएका छन् । यी नगरपालिकाबाहेक अधिकांशले प्रमुख, उपप्रमुख र वडा कार्यालयका फर्निचर नयाँ खरिद गरेका छन् । दुर्गाभगवतीका अध्यक्ष सिंहले टेबल–कुर्सी पुराना भएकाले नयाँ लगाएको बताए । ‘नयाँ खरिद गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘पुरानो सबै दागधब्बा लागेर कामै नलाग्ने भएकाले नयाँ फेरेको मात्र हो ।’

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?