कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चिम्पु र चम्पाले पाए अभिभावक

काठमाडौँ — प्रभु शमशेर तथा राजी राणा ट्रस्टले सदर चिडियाखानाका चिम्पु र चम्पा नाम गरेका दुईवटा चिपान्जीको अभिभावकत्व लिएको छ । ट्रस्टले यी चिपान्जीको हेरचाह र स्यारसुसारमा लाग्‍ने खर्च बेहोर्ने भएको हो ।

चिम्पु र चम्पाले पाए अभिभावक

वन्यजन्तुको अभिभावकत्व कार्यक्रमअन्तर्गत राजी राणाले ट्रास्टमार्फत चिम्पु र चम्पाका लागि वार्षिक १० लाख रुपैयाँ उपलब्ध गराएकी हुन् । उनले हरेक वर्ष चिम्पु र चम्पाको खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेको सदर चिडियाखानाले जनाएको छ ।

सदर चिडियाखानाले चिम्पु र चम्पालाई ८० लाख रुपैयाँ खर्चेर निर्माण गरेको खोरमा राखेको छ । उनीहरूका लागि एक जना हेरालु राखिएको छ । नाइजेरियाको जंगलबाट तस्करी गरेर नेपाल हुँदै भारत लैजाने क्रममा प्रहरीले यी दुई चिपान्जीलाई काठमाडौंबाट उद्धार गरेर २०७४ साल असोज ३१ गते सदर चिडियाखानालाई बुझाएको थियो । त्यसबेला चम्पाको अन्दाजी उमेर करिब ९ महिना र चिम्पुको उमेर ४/५ महिनाको थियो ।

चिम्पु र चम्पालाई अहिले दैनिक रुपमा ५/६ पटक खानेकुरा दिने गरिएको छ । बिहान साढे ९ बजे उनीहरूलाई एक/एकवटा स्याउ र केरा दिइन्छ । १० बजे ल्याक्टोजिन र सेरलेस दिइन्छ । ११ बजे फलफूल, १ बजे दूध, सेरलेस र फलफूल दिइन्छ, ३ बजे ब्रेड/बिस्कुट र स्याउ तथा ५ बजे तरकारी र ब्रोकाउलीको ‘मेनु’रहेको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाकी प्रमुख रचना शाहका अनुसार हालसम्म वन्यजन्तुको अभिभावकत्व कार्यक्रमअन्तर्गत १ सय २७ वटा वन्यजन्तुले अभिभावक पाएका छन् । व्यक्ति तथा संघसंस्थाहरूले एक वर्षका लागि मात्रै वन्यजन्तुको अभिभावकत्व लिए पनि चिम्पु र चम्पाका लागि भने ट्रस्टले पछिसम्म पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको शाहले जानकारी दिइन् ।

कोभिड-१९ को विश्वव्यापी महामारीले सदर चिडियाखानामा पर्न गएको आर्थिक संकटलाई मध्यनजर गर्दै सदर चिडियाखानाले 'एडप्ट एन एनिमल' नाम दिएर वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको थियो । अभियानअन्तर्गत अब चिडियाखानाका वन्यजन्तुलाई आवश्यक आहारा, उपचार खर्चलगायत सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्नेछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा यो कार्यक्रम सुरु गरिएको थियो । वन्यजन्तुको अभिभावकत्वका लागि हालसम्म सदर चिडियाखानालाई व्यक्ति र संस्थाहरूबाट ५३ लाख ६० हजार ८ सय रुपैयाँ प्राप्त भएको शाहले जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्-

प्रकाशित : जेष्ठ १५, २०७९ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?