कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संकट समाधान गर्ने नीति तथा कार्यक्रम आएको छैन : विष्ट

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका सांसद गोकर्ण विष्टले सरकारले मुलुकका वर्तमान समस्या समाधान गर्ने नीति र कार्यक्रम नल्याएको बताएका छन् । उनले सरकार मुलुकमा देखिएका वर्तमान समस्याप्रति गम्भीर नभएको नीति तथा कार्यक्रममा देखिएको बताएका छन् । 

संकट समाधान गर्ने नीति तथा कार्यक्रम आएको छैन : विष्ट

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै विष्टले जनतामा आशा जगाउने नीति तथा कार्यक्रम नभएको बताएका हुन् । 'नीति तथा कार्यक्रमले गरिबी, अभाव, बेरोजगारीमा बाँचिरहेका जनताहरूलाई आशा जगाउने, अग्रगामी परिवर्तनलाई बाटो देखाउने, समृद्ध नेपाल निर्माण गर्ने सन्दर्भमा दिशाबोध गर्नुपर्दथ्यो । तर यो नीति तथा कार्यक्रम चौबाटोमा उभिएको दिशाहीन बटुवा र कुहिरोको काग साबित भएको छ,' उनले भने, 'यसले जनतामा कुनै उत्साह र आत्मविश्वास पैदा गर्न सकिरहेको छैन । आजका संकट समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको छैन । देशको आवश्यकता सम्बोधन गर्ने हिसाबले नीति कार्यक्रम आएको छैन ।'

मुलुकले सामना गरिरहेका संकटको समाधान गर्ने नीति तथा कार्यक्रम ल्याउन असफल भएको विष्टको आरोप थियो । सरकारले बजार नियमन गर्न नसकेको पनि उनको भनाइ थियो । त्यसले समाजमा असमानता उत्पन्न भएको पनि उनले बताए । खाद्य र ऊर्जामा प्राथमिकता दिनुपर्नेमा सरकारले कुनै स्पष्ट नीति ल्याउन नसकेको उनको भनाइ थियो ।

त्यस्तै, स्थानीय तह निर्वाचनमा सरकारले राज्यसंयन्त्र र स्रोतको दुरुपयोग गरिएको र त्यसले लोकतन्त्रलाई क्षति हुने विष्टको भनाइ थियो । उनले स्थानीय तह निर्वाचनमा देखिएका घटनाले समाजमा विद्रोहको स्थिति पैदा हुने र त्यसबाट सत्तापक्ष गम्भीर हुनुपर्ने उनको सुझाव थियो ।

स्थानीय तह निर्वाचनमा वडामा नै उम्मेदवारले लाखौं रकम खर्च गर्नुपर्ने अवस्था पैदा गरेर माफियाको हातमा स्थानीय तह सुम्पिन लागिएको हो कि भन्ने आशंका उत्पन्न भएको विष्टले बताए । उनले निर्वाचन प्रणालीमा पुनरावलोकन गर्ने त होइन भन्ने प्रश्न उठेको बताए । उनले पूर्णतः समानुपातिक प्रणालीमा जाने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने हो कि भन्ने संकेत आइरहेका उनले धारणा राखे ।

वैदेशिक सहायता स्वीकार गर्ने क्रममा राष्ट्रिय स्वाधिनतालाई बेवास्ता गर्न नहुने विष्टको भनाइ थियो । उनले पराधीन हुने गरी वैदेशिक सहायता स्वीकार भइरहेकोमा आपत्ति जनाए । प्रविधि र ज्ञानतर्फ मात्रै केन्द्रित भएर वैदेशिक सहायता स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १४, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?